logo-img

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस र एमालेबाट उम्मेदवारी : सभाको गरिमा बढाउने प्रतिबद्धता

राष्ट्रियसभा उपाध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलबार संसद् भवनमा कांग्रेसबाट राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट तथा घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, समर्थकमा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उम्मेदवार पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् ।

उनले राष्ट्रिय सभामा भाषणभन्दा बढी काम गर्नुपर्ने बताइन् । पुडासैनीले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

यस्तै, उपाध्यक्षकी अर्की उम्मेदवार घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन् । उनले राष्ट्रियसभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताइन् ।



घिमिरेले सभाबाट विधेयक छिटो पास गर्न र सहज बनाउन आफूले सहयोगी भूमिका खेल्ने प्रतिबद्धता पनि जनाइन् ।



‘राष्ट्रिय सभामा अध्यक्ष, उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछौँ । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहयोग हुनेछ,’ घिमिरेले भनिन् । 

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १३:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया