राप्रपाको प्रदर्शनले काठमाडौं अस्तव्यस्त : ज्ञानेन्द्र शाही पक्राउ, १४ घाइते

४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनका क्रममा झडप भएको साथै प्रहरी लाठीचार्ज र पानीको फोहोरा हानेको छ ।

प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ । घन्टौँ सवारी जाम भएको छ ।  देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् । प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको थियो । 

प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । 



शाहीसँगै अन्य एक प्रदर्शनकारी पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ । १४ जना घाइते भएका छन् । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रहरीले आफ्ना दर्जनौं कार्यकर्ता घाईते भएका छन् ।



राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मुख्य नारा लिएर राप्रपाले प्रदर्शन गरेको हो । 

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १६:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया