सत्तारुढ सांसद नै भन्छन्– गृहमन्त्रीमाथि बदमासीको शंका गर्ने ठाउँ छ
‘बिचरा सभामुखले संसद चलाउनै जानेनन्’

सहकारी ठगीमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा आवाज उठाइरहेको छ । यसअघि उनको राजीनामा माग गरेको कांग्रेसले पछिल्लो समय उनीमाथि छानबिनका लागि संसदीय समतिको माग गर्दै आएको छ । 

समिति गठन गर्ने विषयमा सरकार पक्ष सहमत नहुँदा संसद बैठक नै प्रभावित बन्दै गएको छ । मंगलबार कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गरेपछि रास्वपाका सांसदहरूले पनि ०४७ सालयताका सबै भ्रष्टाचार छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेको छ । 

रास्वपाले कांग्रेसविरुद्ध काउनटर दिन ०४७ सालयताका सबै भ्रष्टाचार छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरे पनि कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले त्यसमा समर्थन गरेका छन् । रविको मागमा समर्थन गर्दै उनले प्रधानमन्त्रीसँग तत्काल त्यस्तो समिति बनाउन माग गरेका छन् । 

प्रतिपक्षमा रहेको अर्को दल राप्रपाले पनि गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग गरिसकेको छ । मंगलबार आफ्नो पार्टीको आयोजनामा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । यसअघि सरकारलाई ४० बुँदे माग बुझाएको राप्रपाले अबका दिनमा गृहमन्त्री लामिछानेको राजीनामाको मागसमेत थपेर ४१ बुँदे माग पेस गर्ने भएको छ । 

प्रतिपक्षी दलहरूले गृहमन्त्रीमथि आशंका गरेर उनको राजीनामाको माग गर्दै आइरहेका बेला स्वयं सत्तारुढ दलका सांसदले पनि गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा दोषी रहेको आशंका व्यक्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका हुन् । 

कुनै पनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै सांसद पाण्डेले यस सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने संकेत गरेका हुन् । संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताउँदै उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउन नहुने बताए । 



संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने बताउँदै सांसद पाण्डेले गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको जिकिर गरे । ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ,’ उनले भने, ‘सत्तापक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर त्यो काम लाग्दैन ।’

डेढ महिनाअगाडि अर्को समीकरण भएको बेलामा रास्वपाले प्रतिपक्षमा बसेर गरेको व्यवहार स्मरण गराउँदै सांसद पाण्डेले भने, ‘सुन काण्ड छानबिन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन ? त्यसकारणले आफैँले नजिर बसाइसकेको छ । दोस्रो कुरा, आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो ।’ 



तर जबरजस्ती बस्न खोज्नुले त्यहाँ केही बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको उनले बताए । उनले थपे,‘त्यसकारण उसले आफूलाई चोखो ठान्छन् । मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ ।’ 

सोही क्रममा सांसद पाण्डेले सभामुख देवराज घिमिरेले संसद चलाउन नजानेको आशय व्यक्त गरे । प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनैनहुने उल्लेख गर्दै पाण्डेले भने, ‘किनभने त्यो लडाउने उपाय हो । सभामुखले दुईथरीलाई लडाउनुहुँदैन ।’ 

उनले भने, ‘बिचरा जिन्दगीमा पहिलोचोटि प्रतिनिधिसभामा आएका छन् । यत्रोविधि सांसदहरुले, आफूजस्तै हैसियतका मान्छेले डांगडुंग भनेपछि सभामुख सोझो मान्छे, कमलो मन आँट हुँदैन नि !’ त्यो । उहाँको कमजोरी हो । अज्ञानता हो ।’

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताए । 

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार २१:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया