भण्डारीको ‘दम्पती, सन्तति र सम्पत्तिले ल्याएको विपत्ति’को लोकार्पण

देवेन्द्र बहादुर भण्डारीको आत्मकथा ‘दम्पती, सन्तति र सम्पत्तिले ल्याएको विपत्ति’ पुस्तक आज एक समारोहका बीच लोकार्पण गरिएको छ । 

आज काठमाडौंमा भएको उक्त पुस्तकको लोकार्पण कार्यक्रम लेखन कुञ्ज तथा घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । लेखक भण्डारी, अध्यक्ष ढकाल, फरकधार मिडियाका प्रधान सम्पादक सन्तोष आचार्य र बुक डिजाइनर नगेन्द्र लामाले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।

कार्यक्रममा लेखक भण्डारीले पारिवारिक कलह र आफ्नै सन्तानसँग गर्नुपरेको संघर्षबारे छोटो मन्तव्य दिँदै पुस्तक प्रकाशनका बारेमा जानकारी दिएका थिए । यो पुस्तक आफ्नो छ दशक लामो जीवनको यथार्थ भोगाइ रहेको जिकिर लेखक भण्डारीको थियो ।

उक्त पुस्तकको समालोचना गर्ने क्रममा प्रमुख अतिथि ढकालले मान्छेले किताब र किताबले मान्छे बनाउने गरेको बताउँदै दम्पती, सन्तति र सम्पत्तिले मानवीय जीवनमा कसरी विपत्ति ल्याउँछ भन्ने कुरा यो पुस्तकले बताएको उल्लेख गरे । 

जीवनमा विपत्ति आएकोले वैराग्यता आएको र त्यसबाट यो पुस्तकको रुपमा ज्ञान पलाएको ढकालको अभिव्यक्ति थियो । उनले भने,‘यो पुस्तकले जीवन सिकाउँछ र बुद्घ बन्ने मार्गनिर्देशन दिन्छ ।’



कार्यक्रमका अर्का अतिथि आचार्यले लेखकलाई शुभकामना तथा बधाई दिँदै आफ्नो जीवनको कथा पुस्तकको रुपमा सार्वजनिक गर्नसक्नु ठूलो साहसको कुरा भएको बताए । त्यो साहस भण्डारीले आत्मकथा लेखेर गरेको उनले बताएका थिए । 

उक्त पुस्तक हाम्रो घर, परिवार र समाजको ऐनाजस्तो भएको उल्लेख गर्दै आचार्यले पुस्तक लेख्नु भनेको सन्तान जन्माउनुभन्दा पनि महत्वपूर्ण पक्ष भएको बताएका थिए । 



चक्रवर्ती हबी एजुकेसन एकेडेमीले प्रकाशन गरेको २७२ पृष्ठको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ तोकिएको छ ।

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार २०:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया