यी हुन् आज दिनभरका समाचार

सुनसरीको चतरामा पूर्ण महाकुम्भ मेला सुरु, राष्ट्रपतिले गरे उद्घाटन

सुनसरीको चतरामा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ । पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । 

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन बिस्तारमा समेत टेवा पुग्ने बताए । उनले मेलाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए । मेलाले धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यमा योगदान पुग्ने उनले बताए । 

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार : कांग्रेस 



प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।

मंगलवार संसद भवनमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो । बैठकका बारेमा जानकारी दिँदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले रकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखापरेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए । 



काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उनले बताए । संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको पनि उनको भनाइ छ । 

तत्काल नेपाली काँग्रेसको मागबमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत बैठकले गरेको छ । काँग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने उनले बताए । 

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । 

मंगलबार काठमाडौंका विभिन्न ठाउँमा व्यवस्था फेर्न दबाबसहितको जनप्रदर्शन गरेको राप्रपाले प्रदर्शनका क्रममा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा आफ्ना मागहरुमा थपिएको बताए । गृहमन्त्रीले राप्रपाका कार्यकर्तालाई छानीछानी आक्रमण गर्न लगाएको उनले आरोप लगाए । 

निषेधित क्षेत्र भन्दा बाहिर प्रदर्शन गर्दा पनि पार्टीका नेता बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको उनको आरोप छ । आफूहरुले अब सरकार र गृहमन्त्रीको राजीनामालाई पनि आफ्नो मागहरुमा समावेश गरेको बताए । 

राप्रपाले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र संविधान विपरित रहेको भन्दै तोड्ने योजना बनाइ प्रदर्शन गर्दा प्रहरीले दमन गरेको उनले बताए । 

राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ता

राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । मंगलबार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी छन् । 

चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा

चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनमार्पmत आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले एकदिने प्रतियोगिताबारे जानकारी दिइएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । यद्यपि उक्त प्रतियोगिता खेले खेलाडीमाथि कारबाही हुने नेपाल तेक्वान्दो संघले विभागीय टोली र जिल्ला संघमार्पmत पत्रकार गरेको छ ।
 
प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको प्रतियोगितामा खेलाडीलाई वन्चि गर्नु निरकुंशताको पराकाष्ठ रहेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले आरोप लगाए । 

सरकारले नै आफूलाई तेक्वान्दो खेल विकासका लागि जागिर दिएको उल्लेख गर्दै प्रमुख प्रशिक्षक श्रेष्ठले व्यक्तिगत स्वार्थमा रहेर खेलाडीमाथि राजनीति गर्नु खेल विकासलाई अवरोध पुर्याउनु रहेको उल्लेख गरे । 

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दूतावासको शुभारम्भ 

गत हप्ता इजरायली हमलाले अघिल्लो वाणिज्य दूतावासलाई ध्वस्त पारेपछि इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले सोमबार सिरियाको राजधानी दमास्कसमा नयाँ वाणिज्य दूतावासको भवन उद्घाटन गरेका छन् । 

अमिर–अब्दुल्लाहियान, सिरियाली विदेशमन्त्री फैसल मेकदादसँगै अघिल्लो भवनको छेउमा रहेको नयाँ वाणिज्य दूतावासको उद्घाटन समारोहमा उपस्थित थिए । जुन केही दिन अघि इजरायली मिसाइल आक्रमणले ध्वस्त पारेको थियो । 

अप्रिल १ मा इरानी वाणिज्य दुतावासमा इजरायली हमलापछिको पहिलो भ्रमणका लागि अमिर–अब्दुल्लाहियान सोमवार दिउँसो दमास्कस आइपुगेका थिए । दमास्कस भ्रमणका क्रममा अमिर अब्दुल्लाहियानले सिरियाली राष्ट्रपति बसर अल–असद, विदेशमन्त्री फैसल मेकदाद र सिरियाली राष्ट्रिय सुरक्षाका अधिकारीहरूसँग भेटघाट गरेका थिए । 

मन्त्रीले इजरायली आक्रमण अनुत्तरित नहुने बताए । आफ्नो पक्षको लागि, मेकदादले इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र मानवताका सबै मूल्यहरूको उल्लंघनको रूपमा आलोचना गरे । 

काँग्रेस नेता कोइरालाले मागे गृहमन्त्री लामिछानेको राजीनामा 

प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शशांक कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा उनले सहकारीको ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री लामिछानेले नैतिकताको आधारमा पनि सो पदमा बस्ने नमिल्ने टिप्पणी गरे । 

आफूमाथि लागेको आरोपको छानबिनबाट स्पष्टीकरण पाए उहाँ फेरि मन्त्री बन्नसक्ने नेता कोइरालाको भनाइ थियो । उनले ०४६ सालपछिको सबै घोटाला काण्डको छानबिन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागप्रति पनि आफूहरुको कुनै आपत्ति नरहेको बताए । 

काँग्रेसलाई गृहमन्त्रीको प्रस्तावः भ्रष्टाचार आरोप लाग्नेबित्तिकै राजीनामा दिने सहमति गरौं

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमति गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने सर्तसमेत राखे । 

नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिरसमेत गरे । 

उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानबिन समिति बनाएर ०४७ सालयताका सबै भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न तयार हुन पनि काँग्रेससँग प्रस्ताव गरे । 

गृहमन्त्रीमाथि लागेका आरोपको स्पष्टीकरण दिने कुरामा काँग्रेसले रोक्न मिल्दैनः एमाले

सत्तारुढ नेकपा (एमाले)ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने कुरामा काँग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ ।

एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टिकरण संसदबाट दिनका लागि काँग्रेस सहमत हुनुपर्ने बताएका हुन् । 

काँग्रेसले मंगलबार रविमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो । 

एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसदबाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि काँग्रेस तयार हुनुपर्ने बताए । अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको काँग्रेसलाई नसुहाउने जिकिर पनि उनले गरे । 

गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासीको शंका गर्ने ठाउँ छः सांसद पाण्डे

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत गरे । 

संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताउँदै उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए । जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए । 

सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि सांसद पाण्डेले बताए । 

चार्जिङ स्टेसनमा दैनिक १ लाख युनिट विद्युत खपत, भविष्यमा ५ खर्बको आयात प्रतिस्थापन गर्छः निर्देशक घिसिङ 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपत भइरहेको बताएका छन् । 

मंगलवार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताए । चार्जिङ स्टेसनमा मात्रै दैनिक १ लाख युनिट विद्युत खपतबाट करिव दुई करोडको डिजेल र पेट्रोल प्रतिस्थापन गर्ने गरेको उनको दाबी छ । 

यही ट्रेन्डमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिष्थापन गर्नसक्ने उनले दाबी गरे । चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको उनले बताए । उनले विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको बताए । 

भक्तपुरको बिष्का जात्रा सुरु

आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा आज शुरु भएको छ । 

मंगलवारबाट भक्तपुरमा जात्रा शुरु भएको हो । आज बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको थियो । आज पूजा गरिएपछि रथ तानिएको थियो । 

आज रथ तानेर गहिटी लगिएको छ । पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । 

  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार २३:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया