त्रिविका पूर्वउपकुलपति खनियाँसहित सात पूर्वपदाधिकारीमाथि कारबाही सिफारिस

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँसहित सात पूर्वपदाधिकारीमाथि कारबाही हुने भएकाे छ । चिकित्सा शिक्षा जाँचबुझ आयोगले  खनियाँसहित सात पूर्वपदाधिकारीमाथि कारबाही सिफारिस गरेको हाे । 

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका तत्कालीन कार्यकारी परिषद्का अध्यक्ष एवं उपकुलपति डा‍. तीर्थराज खनिया रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, परिषद्का सदस्य राजेन्द्र पौडेल र हरि पराजुलीलाई कारबाहीका लागि सिफारिस गरेको हाे ।

यस्तै, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा र कानुन संकायका डिन डा.ताराप्रसाद सापकोटालाई पनि कारबाहीका लागि सिफारिस गरिएकाे छ । 

उनीहरूमाथि विश्वविद्यालय र नेपाल सरकारको बदनाम हुने गरी सम्बन्धन दिएको, यस्तो अवस्थामा विद्यमान ऐन, नियम अन्तर्गतका आफ्नै निकायका निर्णय, अनुरोधसमेतलाई उपेक्षा गरी जानी-जानी पदको दुरुपयोग गरेको तथा पदअनुसारको कर्तव्य पालन नगरी कानुनविपरीत सम्बन्धन दिने निर्णय गरेको 
भन्दै कारबाही सिफारिस गरिएकाे हाे । 

उनीहरूमाथि त्रिवि प्राज्ञिक परिषदले ०६९ असोज ११ गते गरेकाे निर्णय उल्लंघन गरेको, डा. करवीरनाथ योगीसहितको टोलीले दिएको अध्ययन प्रतिवेदन उल्लंघन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो । प्राज्ञिक परिषदले वर्तमान परिस्थितिमा नयाँ कार्यक्रम र थप कलेजलाई सम्बन्धन दिन नसकिने भनी विधिवत् निर्णय गरेकाे थियाे । 

तत्कालीन उपकुलपति, रेक्टर र रजिष्ट्रारमाथि तत्कालीन डिन प्रा.डा. प्रकाश सायमीलाई राजीनामा गर्न बाध्य पारेको अभियाेग पनि छ । पदाधिकारीले पटक–पटक दबाब दिएका कारणले उनले राजीनामा दिएका थिए ।  यस्तै आयोगले उनीहरूमाथि निमित्त डिन प्रा.डा.विमलकुमार सिन्हालाई अनुचित दबाब दिएको, अदालतको आदेश उल्लंघन नगरेको भनी अवहेलना मुद्दा नै २०७३ फागुन १९ गते खारेज गरेको अभियाेग छ ।



तीनैजना पदाधिकारी राजनीतिक भागबण्डामा नियुक्त भएका हुन् । पूर्वउपकुलपति खनियाँ नेपाली कांग्रेसकाे काेटाबाट, पूर्वरेक्टर त्रिपाठी माओवादी र पूर्वरजिष्ट्रार उप्रेती एमालेकाे काेटाबाट नियुक्त भएका हुन् । 

 



  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १७:३४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया