बढ्दो व्यापारसँगै थपिँदै हेलिकोप्टर, १२ कम्पनीका ३६ वटा हेलिकोप्टर सञ्चालनमा

पर्यटकीय याम सुरु भएसँगै हेलिकोप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकोप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकोप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् । 

‘वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ’, उनले भने, ‘अहिले दैनिक पाँचदेखि छघण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।’ बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकोप्टरको सङ्ख्या बढाएको छ ।

‘सिजनमा हेलिकप्टरको माग उत्साहबर्द्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्’, उनले भने, ‘हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।’

कम्पनीले एयरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो । यससँगै हेलि एभरेष्टका हेलिकोप्टरको सङ्ख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो । 

यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ (बीथ्रीई) हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकोप्टर थप्ने योजना बनाएको छ ।

हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताए । ‘अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्याउने योजना छ’, उनले भने, ‘नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्‍याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।’



नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

 क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिने चरणमा छन् ।’



भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महङ्गो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकोप्टरको प्रयोग गरिँदै आएको छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले अहिले हेलिकोप्टरलाई भ्याइनभ्याइ रहेको र यो चाप अझै बढ्ने बताए । उनले हेलिकोप्टरको सङ्ख्या बढे पनि पाइलटको अभाव र मौसमका कारणले हेलिकप्टर उडानमा समस्या भइरहेको उल्लेख गरे । 

श्री एयरलाइन्ससँग सर्वाधिक आठ हेलिकप्टर छन् । कम्पनीसँग एमआई १७ हेलिकप्टर छ र बिआडी दुई छन् । एयर डाइनेस्टी र प्रभु हेलिकप्टरसँग चार, माउन्टेन एयर, हेली एभरेष्ट, अल्टिच्युड एयर र फिस्टेल एयरका समान दुई हेलिकप्टर छन् ।

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीका अनुसार कम्पनीले १० वटा हेलिकोप्टर थप्ने दीर्घकालीन योजना छ । चालू आर्थिक वर्षमा एक र अर्को वर्ष थप एक हेलिकप्टर ल्याउने कम्पनीले जनाएको छ । यो कम्पनीसँग एयरबस (बीथ्रीई) हेलिकप्टर दुई र बेल ५०५ हेलिकप्टर दुई गरी कूल चार हेलिकप्टर सञ्चालनमा छन् ।

नेपालमा अहिले श्री एयरलाइन्स, सिम्रिक एयर, फिस्टेल एयर, अल्टिच्युड एयर, मनाङ एयर, मुस्ताङ हेलिकप्टर, एयर डाइनेस्टि, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, अन्नपूर्ण हेलिकप्टर, एली एभरेष्ट र कैलाश हेलिकप्टरले सेवा दिइरहेका छन् ।

वसन्त ऋतु हेलिकप्टरको मुख्य सिजन पनि हो । वसन्त ऋतुको यो याममा पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउछन् । उनीहरू सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण, चर्चित, अन्नपूर्ण, लाङ्टाङलगायत गन्तव्यमा ठूलो सङ्ख्यामा पदयात्री पुग्छन् । ‘अहिले हेलिकोप्टरको बिजनेस राम्रै छ । सिजन पनि चलिरहेकाले अर्को महिनासम्म अकुपेन्सी बढ्ने देखिन्छ’, सिम्रिक एयरका महाप्रबन्धक जोशीले भने । 

 कैलाश हेलिकोप्टरका प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डेले भने सिजनमै हेलिकोप्टरको व्यापार सुस्त रहेको बताए । ‘अघिल्लो वर्षभन्दा यो वर्ष विजनेश सुस्त छ’, उनले भने, ‘विदेशी पर्यटकको सङ्ख्या बढेपनि खर्चालु पर्यटक नहुँदा व्यापार आशातित रूपमा बढेको छैन ।’ 

  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १२:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया