एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

नेपालले ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । 

मलेसियाले दिएको १४४ रनको लक्ष्य पूरा गर्न नेपाललाई ओमानको पिचमा हम्मेहम्मे भयो । सो लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

बिहीबार मात्र भारतबाट ओमान पुगेकाले नेपाली ब्याटरलाई पिचसँग घुलमिल हुन केही समय लाग्यो । नेपालको जितमा अलराउन्डरद्वय गुलशनकुमार झा र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेले ।

गुलशनले ७ बलमा २ छक्का र दुई चौकासहित अविजित १९ रन बनाए । यस्तै, दीपेन्द्रले ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । त्यस्तै, आसिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४ र दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । 

मलेसियाका लागि विरनदीप सिंहले तीन, पवनदीप सिंह र मोहम्मद वाफिकले एक/एक विकेट लिए ।त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ४३ रन बनायो । उसका लागि कप्तान विरनदीप सिंहले अर्धशतकीय पारी खेले । 

उनले ५७ बलमा चार छक्का र चार चौकासहित अविजित ७२ रनको पारी खेलेका हुन् । यस्तै शर्विन मुनिन्दीले ४१, मोहम्मद आमिरले १६ तथा सैयद अजिजले ६ रन जोडे ।



नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १४ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा २८ रन दिएर एक विकेट हात पारे । अन्य नेपाली बलरले भने विकेट लिन सकेनन् ।

प्रिमियर कपमा नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारको सामना गर्नेछ । प्रतियोगितामा शुक्रबार नै भएको पहिलो खेलमा ओमानले बहराइनलाई तीन रन तथा दोस्रो खेलमा यूएईले कुवेतलाई सात विकेटले हरायो ।    




  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १९:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया