यी हुन् नयाँ वर्षको पहिलो दिनका समाचार

नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन, नेताको चाकडी गर्नुपर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् । उनले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता जनाए ।

उनले कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए । उनले काठमाडौं शहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । उनले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे । 

उनले भने, ‘सबै गुनासाहरु यथोचित ढंगले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवाअवधि लगायत सबै विषयहरु एकमुष्ट रुपमा सम्बोधन हुन्छ । राष्ट्रसेवकहरुलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभइ जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ ।’ 

गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।  



विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ?



विश्वका विभिन्न देशमा नयाँवर्ष मनाउने आ–आफ्नै चलन छ । वर्षभरिका बार, दिन र समय उस्तै भए पनि नयाँवर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ । पहिलो दिनलाई उत्सवमा रूपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ । 

नेपालमा अंग्रेजी, नेपाल संवत् र वैशाख १ गतेलाई विक्रम संवत्का रूपमा नयाँ वर्ष मानेर मनाइँदै आएको छ । त्यसबाहेक विभिन्न जातजातिहरूले आफ्नो पर्वलाई नयाँ वर्षका रूपमा मानेर उत्सव गर्ने प्रचलन छ । आफ्नो भाषा, संस्कृति, धर्मका आधारमा नयाँ वर्ष मनाउने चलन रहँदै आएको छ । 

प्राचिनकालमा नेपालमा नयाँ वर्षमा मठमन्दिरमा गएर पूजाआजा गरेर मनाउने चलन थियो । अहिले शुभकामना आदानप्रदान र रमाइला कार्यक्रम गर्ने, रमणीय ठाउँहरू घुम्न जाने र मिठो मसिनो खाएर नयाँवर्षलाई उत्सवका रूपमा मनाइँदै आएको छ ।

नयाँवर्ष मनाउने चलनको सुरुवात पात्रोको उत्पत्तिसँग जोडिएकोछ तर ठ्याक्कै कहिलेबाट मनाउन थालियो भन्ने प्रस्ट छैन । तर ईसा पूर्व सात सयमा रोमका पहिलो राजा रोमुलसले १० महिनाको एक वर्ष मानेर पात्रो ल्याएको पाइन्छ । चन्द्रमाको मासिक चक्रका आधारमा तयार हुने पात्रोमा ३ सय ४ दिनलाई एकबर्ष मानिथ्यो । उक्त पात्रोमा वर्ष मार्चमा सुरु भएर डिसेम्बरमा सकिन्थ्यो ।

पछि रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेब्रुअरी थपेर तीन सय ६५ दिनको बनाएको इतिहास पढ्न पाइन्छ । तर ईसा पूर्व ४५ मा रोमन राजा जुलियस सिजरले पनि पात्रो ल्याएको पाइन्छ । सोही पात्रोमा जनवरी १ लाई नयाँवर्ष मानिएको थियो । तर त्यसबेला अप्रिल १ लाई पनि नयाँ वर्ष मानिएको भनिए पनि सन् १५८२ मा भेनिसका पोप ग्रेगोरी १३ औँ ले नयाँ पात्रो ल्याएर जनवरी १ लाई नयाँवर्ष मानेको इतिहास पनि भेटाइन्छ ।

नेपालमा विक्रम संवत् अनुसार नयाँ वर्ष मनाइन्छ तर म्ह पूजाको दिन नेपाल संवत्का रूपमा पनि नयाँ वर्ष मनाउने चलन छ । नेपालमा नयाँ वर्ष मनाउने आ–आफ्नै विशेषता भए पनि विश्वमा भने विविधता पाइन्छ । देश अनुसार फरक र रोचक तवरले नयाँ वर्ष मनाएको पाउन सकिन्छ । 

भारतः भारतमा नयाँ वर्ष मनाउने अनेक तरिका छन् । राज्य र भूगोल अनुसार फरक फरक शैलीले नयाँ वर्ष मनाइँदै आएको पाउन सकिन्छ । नयाँवर्षमा भारतभर शुभ चलन हेर्ने चलन छ । कतिपय स्थानमा ब्रिटिसको प्रभावले नयाँ वर्ष मनाउने चलनमा धेरै फरक आएको पाइँदैन ।

आसाममा पशुको पूजा गर्ने चलन छ भने पश्चिम बंगालमा देवीदेवताको पूजा गर्ने र नाचगान गर्ने चलन छ । पन्जाबमा झाँगड नृत्य, भगवानको पूजा र नाचगान गरिन्छ भने राजस्थानमा मिठा मिठा परिकार खाने साथै मन नपरेको जीवनसाथीसँग डिभोर्स गर्ने र नयाँ जीवनसाथी रोज्ने चलन पनि छ । 

चीनः चीनमा नयाँवर्ष मनाउँदा आतेजबाजी गर्ने साथै भूइँचम्पा उडाएर मनाउने चलन छ । नयाँ वर्षका अवसरमा चीनमा भान्साको देवतालाई स्वागत समेत गरिन्छ । स्वादिष्ट परिकार खाने, बाबुआमा तथा मान्यजनबाट आर्सीवाद लिने चलन पनि छ । बर्मामा पनि नयाँवर्ष मनाउने चलन चीनसँग मिल्दोजुल्दो छ ।  

थाइल्याण्डः यहाँ चीनसँग कतिपय सन्दर्भहरू मिल्ने गर्छ । किनकि प्रत्येक घरमा दियो बालेर दीपावली गर्ने रंगीचगी बनाएर घर सजाउने चलन चीनसँग मेल खान्छ । यहाँ नयाँ वर्षको आगमनलाई ‘नौरोज’ भन्ने गरिन्छ । विशेषतः गुम्बामा गएर प्रार्थना गर्ने र शान्तिको कामना गर्ने चलन छ । 

कोरिया: कोरियामा नयाँ वर्ष मनाउने नौलो तरिका छ । यहाँ तीन दिनसम्म सरकारी बिदा दिने गरिन्छ । कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोरहरू बन्द गरिन्छ । चामलको रोटी, रक्सी खाएर नयाँवर्ष मनाउने चलन छ । यस दिन उमेर पुगेका युवायुवतीहरू बिहे पनि गर्ने गर्छन् ।  

बेलायतः नयाँवर्षको रौनक बेलायतमा अझ बढी देख्न पाइन्छ । डिसेम्बरको मसान्तदेखि नै यहाँका घरहरू रंगीचंगी पार्ने, सजिसजाउ गर्ने र बत्ती बालेर झिलिमिली पार्ने गरिन्छ । युवायुवतीहरू नयाँ नयाँ लुगा लगाएर नाचगान गर्ने र इभका दिन हर्षबढाइँ गर्ने गर्छन् ।
 
जापानः जापानमा नयाँवर्ष ‘यावुरी’ मनाउने भिन्न शैली छ । यहाँ नवजात जलका रूपमा शुद्ध पानी पिउने, घरलाई हरिया बिरुवाहरूले सजाउने चलन छ । नवजात जल पिउँदा आयु वृद्धि हुने र मृत्युपश्चात् पुन्य प्राप्त गरिने विश्वास लिइन्छ । यसदिन चंगा उडाउने र साना बालबालिकालाई अक्षारम्भ गराउने गरिन्छ । त्यसबाहेक मान्यजनहरुबाट आर्सीवाद लिने र पुरानो सबै ऋण तिर्ने चलन छ । 

पोर्चुगलः यहाँ नयाँ वर्षको दिन पटाका पड्काउने, नाचगान गर्ने र शहरभरी धुनी जगाएर जाग्राम बस्ने चलन छ । यसका अलावा पोर्चुगलमा साँढे जुधाएर गरिने रमाइलो गर्ने चलन बेग्लै छ । साँढे जुधाउने खेल हेर्न टाढा टाढाबाट मानिसहरू आउने गर्छन् साथै खेल हेर्न पर्यटकहरू खुबै झुम्मिने गर्छन् । 

मेक्सिकोः नयाँवर्षको दिन मेक्सिकोमा नाचगान, घुमघाम गर्ने चलन छ । त्यसबाहेक यहाँका चर्चमा गएर सामूहिक विवाह गरी नयाँवर्षलाई भब्य बनाउने गरिन्छ । सामूहिक विवाह गर्ने प्रचलन अफ्रिकामा पनि पाइन्छ ।

जर्मनी र भ्याटिकन सिटीः जर्मनीमा नयाँवर्ष मनाउने अनौठो शैली छ । यस दिन भविष्यबाणी गर्ने, नाचगान गर्ने चलन छ । जर्मनीमा पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ । त्यस्तै भ्याटिकन सिटीमा नयाँ वर्षको पहिलो दिन बिहानै सेता परेवाहरू उडाउने चलन छ । सोही दिन भ्याटिकन सिटीमा रहेको चर्चमा ठूलो केक काटेर बाँड्ने गरिन्छ ।

वर्ष २०८० मा खेलकुद : एरिका गुरुङको ऐतिहासिक पदकदेखि क्रिकेटको लोभ्याउने प्रगतिसम्म

नेपाली खेलकुदका हिसावले वर्ष २०८० चर्चामै रह्यो । वर्षको सुरुआत हुँदा युवा तथा खेलकुद मन्त्रालय नै नेतृत्वविहीन अवस्थामा रहेको थियो । २०७९ को आम निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठबन्धनका कारण फेरबदल हुँदा लामोसमय नेतृत्वविहीन भएको युवा तथा खेलकुदमन्त्रीको रुपमा डिगबहादुर लिम्बू वैशाख २० गते नियुक्त भएका थिए ।

मन्त्रीमा नियुक्त भएपछि लिम्बुले दैनिक १८ घण्टा खटेर काम गर्ने बताए पनि उनी त्यसमा सफल भएनन् । लामोसमयदेखि राष्ट्रिय खेलकुद परिषद् राखेपका कर्मचारीको बढुवा लगायतका कुराहरुमा सफलता हात पारे पनि उनी खेलकुदका भन्दा पनि नेपाली कांग्रेस पार्टीकै र घरायसी काममा केन्द्रीत भएर विदा भए । उनी अहिलेको नयाँ सत्ता समिकरण भएसँगै विदा भए ।

क्रिकेट 

पछिल्लो समय नेपालमा क्रिकेटको चर्चा अत्याधिक छ । अझ बर्ष २०८० क्रिकेट खेलका लागि खास रहन पुग्यो । यो बर्ष क्रिकेटले एसीसी प्रिमियर कप काठमाडौंमा खेल्दै उपाधि जित्यो भने एसिया कपमा छनोट भएर भारत र पाकिस्तानसँग खेल्ने ऐतिहासिक मौका हासिल गर्यो । नतिजाका आधारमा एसियाकपमा नेपालको पक्षमा नभए पनि विश्वस्तरमा नेपालको क्रिकेटलाई फैलाउन सफल भएको छ । भारत र पाकिस्तानका खेलाडीकाविरुद्ध नेपाली खेलाडीहरुले साहासिक प्रदर्शन गरेर सबैको मन जितेका छन् ।  

यसैगरी २०८० मै नेपालले जिम्बाबेमा एक दिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पनि पायो । छनोट चरण पार नगरे पनि त्यहाँ नेपालको प्रदर्शन सम्झन लायक रह्यो । महिला क्रिकेट टोलीले टी २० एसिया कपमा स्थान पनि यसै बर्ष बनाउन सफल भयो ।  

पुरुष क्रिकेट टिमले टी २० विश्वकपको एसियाली रिजनको अन्तिम चरणको छनोट प्रतियोगिता काठमाडौंमा आयोजना गरेको थियो र उक्त प्रतियोगितामा समूह चरणमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो भने सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई पराजित गर्दै फाइनलमा स्थान बनाएसँग टी २० विश्वकपमा स्थान बनाउन सफल भयो । फाइनलमा भने नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो ।  यो पराजयले नेपाली क्रिकेटको भविष्यलाई भने फरक पारेन । नेपाल अब २०८१ मा सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आइसीसी टी २० विश्वकप क्रिकेट खेल्दै छ । उक्त प्रतियोगिता वेस्टइन्डिज र अमेरिकाले आयोजना गर्दै छन् । 

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करण नेपालले आयोजना गरेको थियो । नेपालले युएईलाई फाइनलमा हराउँदै एसियाकपमा छनोट भएको थियो । जुन छनोट प्रतियोगिता अहिले ओमानमा जारी छ । ओमानमा जारी प्रतियोगितामा नेपालले मलेसियालाई पराजित गर्दै विजयी सुरआत गरेको छ । 

यसैगरी नेपालका लागि अर्को ठूलो प्रतियोगिता भनेको एसियाली खेलकुद हो । साग त आयोजना हुनै छाडिसकेको जस्तो अवस्थामा चीनमा आयोजना भएको १९ औं एसियाली खेलकुदमा नेपालका खेलाडीहरुले विश्व कीर्तिमान नै बनाए । 

नेपालले मंगोलियालाई २७३ रनको विशाल अन्तरले हराउँदै बनाएको कीर्तिमान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित थियो  । नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो । त्यो पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तमान थियो ।  

मंगोलियाले १३.१ ओभरमा अलआउट हुनुअघि ४१ रनमात्र बनाउन सकेको थियो । मंगोलियाविरुद्ध नेपाली ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए । उनले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका हिर्काएका थिए । यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो शतक पूरा गर्ने कीर्तिमान बनाएका थिए । उनले केवल ३४ बलमा शतक पूरा गरेका थिए ।

उनले भारतका कप्तान रोहित शर्माको ३५ बलको कीर्तिमान तोडेका थिए । मंगोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका थिए । ऐरीले केवल नौ बलमा अर्धशतक बनाएका थिए । उनले अविजित ५२ रन बनाएका थिए । उनले भारतका पूर्व क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका थिए । युवराज सिंहले सन् २००७ मा इङ्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।  

नेपाल क्रिकेट संघको चुनावी साधारणसभा असोज ६ गते काठमाडौंमा भयो । क्रिकेटसंघको नेतृत्वमा चतुरबहादुर चन्द निर्वाचित भए पनि चर्चाको केन्द्रमा निर्वाचित पारस खड्का रहे । उनी नेपालका सफल कप्तानको रुपमा आफूलाई स्थापित गरेका व्यक्ति हुन् । नेपाली क्रिकेटको विकासका लागि उनी व्यवस्थापनमा आउन चाहनुलाई धेरैले सह्राना गरेका छन् । उनी निर्वाचित भएसँगै नेपाली क्रिकेटमा सकारात्मक सञ्चार भएको रुपमा आम क्रिकेट समर्थकले बताउने गरेका छन् । 

पछिल्लो समय नेपाल क्रिकेट संघको कार्यालय व्यवस्थापनदेखि हरेक कुरामा सक्रिय रहेका पारसबाट नेपाली क्रिकेटले आगामी दिनमा धेरै अपेक्षा पनि राखेको छ । चतुरबहादुर चन्दको वर्तमान कार्यसमितिले अहिले नेपाली क्रिकेटललाई अझ बढी अन्तर्राष्ट्रियकरण गर्ने अभियान नै छेडेको छ । यसबीचमा आइसीसीका अध्यक्षको नेपाल भ्रमण पनि सम्पन्न भयो । 

आइसीसी अध्यक्ष ग्रेग बार्कले चार दिने भ्रमणमा आएर राजनीतिक भेटवार्ता गरेका छन् । नेपालको क्रिकेटमा सघाउने वाचा गरेर गएका उनी यसबाट सकारात्मक नजिता निस्कने अपेक्षा गरिएको छ ।  नेपालमा टेस्ट नेशन्स आयरल्याण्डको टोली आएर प्रतियोगिता खेल्यो भने विश्वकप अगाडि २०८१ मा वेस्टइन्डिजको ए टिम नेपाल आउने पक्का भइसकेको छ । यसलाई नेपाली क्रिकेट टोलीको विश्वकप अभ्यासका रुपमा हेरिएको छ ।

युवा खेलाडीले यू १९ विश्वकप क्रिकेट खेले भने एसीसी महिला प्रिमियर कपमा नेपाल फाइनलसम्म पुग्न सफल भयो । फाइनलमा पराजित भएको नेपाल अहिले एसिया कपमा छनोट भएको छ ।  नेपालकी रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनिन् ।  

फुटबल

नेपाली फुटबलका हिसाबले २०८० साल उत्साहजनक भएन । एन्फाभित्रको राजनीतिक खिचातानीका कारण हरेक दुई– दुई महिनामा साधारणसभाका नाउँमा समय बेतित गरे भने यसै वर्ष एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएर मतदानमार्फत छिनोफानो हुँदा केही पदमा लेनदेन गरेर आफूलाई सहज अवतरण गराए पनि नेपाली फुटबलले भने पराजय नै भोगेको छ । 

नेपालमै आयोजना हुनुपर्ने फिफा विश्वकप छनोटको दोस्रो चरणको बहराइनविरुद्धको खेल एन्फा र राखेपको लापरबाहीका कारण एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा खेल हुन नसक्दा नेपाली फुटबल दर्शकमाथि गम्भीर अपराध भएको छ । पुरुष फुटबलको तुलनामा महिला खेलाडीले केही उत्साह ल्याएको थियो । पुरुष खेलाडीहरुको विदेश पलायन बर्षभरी नै जारी रहँदा नेपाली राष्ट्रिय टोलीमा उत्कृष्ट ११ खेलाडीको सूची निकाल्न पनि धौ धौ पर्ने अवस्था देखिएको छ ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारा ओलम्पिकका लागि छनोट हुन सफल भइन् । चीनमा भएको पारा ओलम्पिकको एसियाली छनोटमा पलेशाले के ४४ को महिलातर्फ ५७ केजीमुनी तौल समूहमा स्वर्ण पदक जित्दै फ्रान्समा हुने ओलम्पिकमा छनोट भइन् । उनी छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली पारा खेलाडी बन्न पनि वर्ष २०८० मा सफल भइन् ।

एरिकाको ऐतिहासिक पदक

वर्ष २०८० मा चीनमा भएको १९ औं एसियाली खेलकुदमा नेपालका लागि एरिका गुरुङले रजत पदक दिलाइन् । चीनको हान्जाउमा भएको प्रतियोगिताको फाइनलमा उनी कजाकस्तानकी वेरुल्त्सेवा सोफियासँग हारेपछि स्वर्ण पदक जित्नबाट चुकिन् । एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने नेपालको दोस्रो खेलाडी भएकी छन् । उनै एरिकाले बर्षको अन्त्यतिर अमेरिकामा भएको युएसए ओपन च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।   

कबड्डी

१९ औं एसियाली खेलकुदमा नेपालबाट कबड्डीमा डेब्यू गरेको महिला टोलीले कांस्य पदक जित्न सफल भएको वर्षको रुपमा २०८० लाई लिनुपर्छ । एसियाली खेलकुदमा नेपालले पदकको खाता नखोल्ने चिन्ता बढेका बेला कबड्डीले कास्य पदक जित्दै नेपालको इज्जत जोगाएको थियो । अन्तिम दिन भने एरिकाले रजत पदक जित्न सफल भएकी थिइन् ।

नयाँ वर्ष सुरुआत हुनै लाग्दा नेपाली खेलकुदमन्त्रीको रुपमा विराज भक्त श्रेष्ठ आएका छन् । सुरु सुरुमा केही काम गरेको जस्तो देखिए पनि पछिल्लो दिनमा उनको उपस्थिति पनि विगतका मन्त्रीहरुको जस्तै हुने त होइन भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ । वर्ष २०८१ नेपाली सम्पूर्ण खेलकुदका लागि अझ बढी उपलब्धि मूलक बनोस हाम्रो शुभकामना । 

बाँकेका १६ सीमा स्तम्भ हराए, छैन पुनर्निर्माण ​र संरक्षण

बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए । 

‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्’, सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनर्निर्माण हुन नसकेको हो ।’

नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । 

सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।  

दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भकोे मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् । 

बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । पैसठ्ठी किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट (बिओेपी) राखेर सुरक्षा दिइरहेको छ । 

भारततर्फ भने २३ बिओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

वर्ष २०८० : सडकबाटै अधिकारको खोजी, छताछुल्ल पीडा

मधु शाही

अधिकार र न्याय खोज्दै सडकमा आउनु नौलो होइन । जनताका असन्तुष्टिका आवाजहरू इतिहासका विभिन्न कालखण्डमा सडकबाटै पोखिएका छन् । विसं २०४६ सालपछि बहुदलीय व्यवस्था ल्याउन र २०६२/६३ को जनआन्दोलनले गणतन्त्र ल्याउन पनि सडक नै माध्यम बन्यो । त्यसैले त अहिले पनि समय–समयमा न्याय र अधिकार खोज्नेहरू सडकमै भेटिन्छन् । असन्तुष्टिका आवाज बुलन्द पार्नेहरू पनि सडकमै सुनिन्छन् । 

असन्तुष्टि व्यक्त गर्ने र न्यायको खोजीमा सडक भर्नेहरू वर्ष २०८० मा पनि भेटिए । केहीले न्याय खोज्दै सडक तताए भने केहीले आफ्ना आवाज सुनाउन सडकलाई माध्यम बनाए । केहीले न्याय पाए भने केही आशा लिएर घर फर्किए । केहीलाई सरकारले न्याय दिने आश्वासन दिएको छ भने केहीलाई केहीका माग सम्बोधन गने प्रतिबद्धता पनि जनाएको छ ।

यस वर्ष सडकमा लामो सङ्घर्ष गर्नेमा धनुषाकी निर्मला देवी साहको परिवार सबैभन्दा अगाडि छ । उनले छोरी आरती साहको न्यायका लागि दस महिना सडकमा विताइन् । छोरी आरतीको हत्या भएको दाबी गर्दै निर्मला मात्रै होइन सपरिवार नै सडकमा ओर्लियो । एउटा म्याट र टेन्टका भरमा न्यायको लडाइमा साह र उनको परिवारले सडकमा बर्खा बेहोर्यो । सडकमै पुस माघको चिसो सह्यो । त्यति मात्रै होइन, दसैँ र तिहार जस्ता पर्वमा पनि उनीहरूले सडक छाडेनन् ।

सरकारलाई आफ्नो आवाज सुनाउन करिब १० महिना सडकमा बिताएको साहको परिवारले सरकारसँग पाँच बुँदे सहमति गर्‍यो । न्याय दिलाउने सरकारको प्रतिबद्धतासहितको सहमति पत्र बोकेर घर फर्कँदा घर उजाडिएको थियो । न्याय माग्दै सडकमा लामो समय बताउँदा घरका झ्याल र ढोका माकुराका जालोले घेरिएको थियो ।

न्याय खोज्दै लामो समय सडकमा बिताएको साहको परिवार अहिले सामान्य अवस्थामा फर्कन खोज्दैछ । ‘घर लिपपोत गरेर चिटिक्क पारेकी छु, वस्तुभाउको हेरचाह सुरु गरेकी छु’ धनुषाको नगराइन नगरपालिका–८ की निर्मलाले भनिन्, ‘लामो लडाइपछि घर फर्कन पाउँदा खुसी लागेको छ ।’ दस महिनामा न्यायको लडाइमा एक प्रकारको जित भए पनि जीवन भने फेरिएको छ ।

घर अलपत्र छोडेर काठमाडौं आउनु उनको बाध्यता थियो । ‘काठमाडौं नआइ हाम्रो आवाज सुनिएन, त्यो हाम्रो बाध्यता थियो’, उनले भनिन्, ‘न्यायका लागि लड्दै गर्दा कुन बेला हाम्रो प्राथमिकता फेरियो पत्तै भएन । सरकारसँगको सहमतिपछि न्याय पाउन आशा फेरि पलाएको छ ।’

उनको परिवारले गत असार १ गतेदेखि माइतिघर मण्डलामा धर्ना सुरु गरेको थियो । कहिले माइतिघर त कहिले शान्तिबाटिका हुँदै उनको लडाइ चैतको दोस्रो सातासम्म चल्यो ।

जिल्ला प्रशासन कार्यालय, धनुषाले न्याय नदिएको गुनासो बोकेर निर्मला श्रीमान विनोद, कान्छि छोरी मनिषा र छोरा प्रेमसहित माइतीघर मण्डलामा धर्ना बस्न आएकी थिइन् । जनकपुर बिहे गरेकी छोरी आरती साहको दाइजो नदिएका कारण उनका श्रीमान्लगायत परिवारका सदस्य मिलेर हत्या गरेको निर्मलाको आरोप छ । जिल्ला प्रशासनले तत्कालै न्याय दिन ढिलाइ गरेको भन्दै उनीहरु २०८० असार १ गते सडकमा आएकी थिइन् । 

सडक सङ्घर्षकै कारण आरती साहका श्रीमान् मोतीबाबु साह यतिबेला प्रहरीको हिरासतमा छन् भने अरु आरोपितहरु धरौटीमा छुटेका छन् । अदालतको अनुसन्धान र सोधपुछ प्रक्रिया निरन्तर जारी छ । हरेक साता बयान दिन आरतीका परिवार धुनषा अदालत धाउँछिन् । 

गत जेठ ८ गते अपह्रान १ बजे आरतीको शवको पोष्टमार्टम भएको थियो । आरतीका श्रीमान पक्षले झुन्डिएर आत्महत्या भएको दाबी गर्दै आएपनि माइतिपक्षले भने हत्या भएको दाबी गर्दै आएको छ । 

‘सडकबाट लामो लडाइ लड्यौँ । न्याय पाउने आशा फेरि पलाएको छ । नयाँ वर्षमा न्याय खोज्दै घर छोड्न बाध्य हुन नपरोस भन्ने कामना छ’, निर्मलाले भनिन् । निर्मला जस्तै न्याय खोज्न यस वर्ष नेपालगञ्जकी भारती मानन्धर पनि सडकै आउनु पर्यो । माइतिघर मण्डलामा महिनौसम्मको लडाइपछि उनले न्याय पाइन् । 

गत असोज ३ गते संविधान दिवसका अवसरमा ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहविरुद्धको एक महिनाभन्दा लामो लडाइको नतिजा अन्ततः उहाँकै पक्षमा रह्यो । गत कात्तिक १६ गते सर्वोच्च अदालतले रिगलको कैद मिनाहा गरिदिने सरकारको निर्णय गलत ठहर गर्यो । फलस्वरुप रिगल पुनः जेल चलान भए । भारतीकै कठोर सडक सङ्घर्षकै कारण सर्वोच्च अदालतले पीडितको संवैधानिक हक ख्याल गर्न सरकारलाई निर्देशन समेत दियो । 

संविधानको धारा २१ मा रहेको अपराधपीडितको हकलाई अन्देखा गर्न वा कम महत्वको ठान्न मिल्दैन भन्दै सर्वोच्चले एक नजिर नै स्थापित गर्‍यो । सर्वोच्च अदालतको यो आदेशले न्यायलयप्रतिको विश्वास थप प्रगाढ बनेको सर्वसाधाणको मनोभाव देखिन्छ ।

अधिकार खोज्दै सडकमा उत्रिनेमा शिक्षक पनि देखिए । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विद्यालय नै बन्द गरी उनीहरु काठमाडौं केन्द्रित आन्दोलनमा होमिए र सरकारलाई आफ्ना माग राखे ।  

देशभरका सार्वजिनक विद्यालयका शिक्षकहरुले शिक्षण संस्थान नै बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । हप्तौँ चर्किएको शिक्षक आन्दोलन सरकार र शिक्षकबीच ७ बुँदे सहमति भएपछि मत्थर भयो ।

यस वर्ष माइतिघर मण्डलामार्फत पीडा सुनाउनेमा सहकारीपीडित पनि देखिए । उनीहरु सरकारसँग न्याय माग्दै दुई महिनादेखि निरन्तर माइतिघर मण्डलामा धर्ना बसे । परिणाम, तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा गत साउन १८ गते सरकारसँग ७ बुँदे सहमति भयो । 

सरकारीपीडित र सरकारबीच सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न, तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने, सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रिया दु्रत गतिमा प्रक्रिया अघि बढाउने लगायतका विषयमा सहमति भएको थियो ।

सडकमै धर्ना बस्न आउनेको सङ्ख्या विगतमा भन्दा अधिक रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । आरती साह जस्ता सर्वसाधारणदेखि दुर्गा प्रसाई जस्ता व्यवसायीका मुद्धा सडकबाटै पोखिए ।

वर्षको सुरुवातमै सरकारले नागरिकता विधेयक पास गर्यो । जसले माइतिघर मण्डलामा धर्ना बसेका नागरिकताबिहीनको मुहारमा खुसी ल्यायो । उनीहरु त्यही खुसी लिएर सडकबाटै घर फर्किन पाएका थिए ।

वैवाहिक बलात्कारको पीडा खेपेकी नेपालगञ्जकी आरती रावल गिरी पनि सडकबाटै न्याय खोजीरहेकी छन् । महिनौसम्मको सडक अनशनकै कारण सो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्च अदालतले चैत २१ गते बैवाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश गर्यो । 

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले निलम्बित न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेर गिरीलाई थुना गर्ने आदेश पनि सडक सङ्घर्षकै उपलब्धि थियो । अदालतको आदेशप्रति आरती खुसी छन् । ‘लामो सडक सङ्घर्षपछि यतिबेला न्याय पाउने आशा पलाएकोछ’, उनले भनिन् ।

यसै वर्ष सडक तताउनेमा लघुवित्त पीडित पनि थपिए । लघुवित्तको ऋण तिर्न नसकेर छटपटिएकाहरु सहारा खोज्दै काठमाडौं आए । सडकमा दुधे बालक काखी च्यापेका आमाहरू, लट्ठी टेकेर न्याय माग्न आएका बृद्धबृद्धाहरु पनि देखिए । सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आवाज उठाउँदै देशभरका झन्डै साढे तीन हजार पीडित काठमाडौंमा उत्रिएका थिए । 
 
त्यस्तै, आर्थिक मारकै पीडा बोकेर मिटरब्याजपीडित पनि न्याय खोज्दै काठमाडौंको सडकमा जम्मा भए । महिनौँसम्म सडकमा बसेर सरकारसँग न्याय मागिरहेका उनीहरु गत फागुनमा सरकारसँग सहमति गरी आन्दोलन स्थगित गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सञ्जीव उप्रेती न्याय र अधिकार खोज्दै जनताहरु सडकमा धाइरहनुपर्ने अवस्था राम्रो नभएको बताइन् । उनी सडकमा उत्रिएर हक र अधिकार खोज्नु जनताको अधिकार भए पनि सडकमा उत्रनुपर्ने बाध्यात्मक अवस्थाले सरकारप्रतिको जनताको विश्वास कम हुनुको सङ्केत भएको बताइन् । 

सरकारले स्थानीय स्तरमै न्याय उपलब्ध गराउने र त्यसप्रति आम जनतामा विश्वास दिलाउन सक्ने हो भने सडकमा उत्रनुपर्ने बाध्यात्मक अवस्था सृजना नहुने उनको बुझाइ छ । उनी जनताका हक, अधिकार, न्यायलगायतका मुद्दा सम्भव भएसम्म स्थानीय तहबाटै पूरा गर्नुपर्ने धारणा राख्छन् ।

सुन्तला राष्ट्रिय फल घोषणा हुनुपर्ने के हुन् आधारहरू ?

सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रूपमा सुन्तलालाई मान्यता दिएको हो ।

कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन मन्त्रालयमा प्रस्ताव गरेको थियो । नेपालमा फलफूलमा सबभन्दा बढी उत्पादन हुने र  नेपालको रैथाने फल भएका कारण सुन्तला राष्ट्रिय फल बनेको मन्त्री शाहले जानकारी दिइन ।

देशभर २९ हजार हेक्टरमा लगाइएको खेतीबाट वार्षिक करिब दुई लाख मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।  ६६ जिल्लामध्ये ५८ जिल्लामा सबभन्दा बढी सुन्तला उत्पादन हुन्छ । ४८ जिल्लामा एक सयभन्दा बढी हेक्टरको बगैँचामा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वास्तवमा सुन्तलाले राष्ट्रिय फलका रूपमा मान्यता पाउनुको पछाडि थुप्रै कारणहरू औँल्याउने गरिन्छ । अंग्रेजीमा भाषामा मेन्डारिन ओरेन्ज भनिने सुन्तला चलनचल्तीको भाषामा ओरेन्ज भन्ने चलन छ । नेपालमा परापूर्व कालदेखि नै सुन्तलाको खेती गरिएको र उपभोगमा ल्याइएको पाइन्छ । 

सुन्तला नेपालको रैथाने फल हो र यो एउटा शुद्ध प्रजाति हो । यस फलको नाम सुन्तला रहन गएको सम्बन्धमा नेपालको पूर्वी खोटाङ, धनकुटा तथा सङ्खुवासभामा एक रोचक कथन पाइन्छ ।

जहाँ सुन्तलाका बोटहरू जङ्गली रूपमा नै पाईन्छन । कथन अनुसार ती जिल्लाहरूको भिरालो तथा स–साना गह्रा–गह्रा भएका पहाडी क्षेत्रहरूमा सुन्तला फल पाकेको सिजनमा टाढाबाट हेर्दा पहेँलो सुन जस्तै तह–तह (तला–तला) देखिने भएकोले यस फलको नाम सुनको तला अर्थात् सुन्तला रहन गएको र फल मिठो भएकोले मानिसहरूले खेती गर्नका लागि आ–आफ्ना जग्गाहरूमा भित्र्याइएको पाइन्छ ।

यस अर्थमा सुन्तला बाली नेपालमा सदियौँदेखि जंगली रूपमै रहेको र मानिसले पछि मात्र आएर यसको खेती गर्न सुरु गरेको पाइन्छ । नेपालमा पाइने सुन्तलाको स्वाद तथा बास्ना अन्य देशहरूमा पाइने सुन्तलाको भन्दा विशिष्ट किसिमको रहेकोले यसको उत्पत्ति नेपालमा भएको मान्न सकिने आधार देखिन्छ ।

सुन्तलाका बारेमा अध्ययन गरिरहेका पत्रकार राजन काफ्लेले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा पश्चात् अन्तर्राष्ट्रियस्तरमा सुन्तला नेपालको आनुवांशिक स्रोत हो भन्ने आधिकारिक प्रमाण हुनेछ । राष्ट्रिय फल भएपछि सुन्तलालाई थप सम्मान दिइने र जसले गर्दा सुन्तलाको प्रबर्द्धनमा सहयोग पुग्ने बताएका छन् । 

राष्ट्रिय फलको मान्यता पाएपछि सुन्तलाको अझ बढी अध्ययन, अनुसन्धान, संरक्षण र विकासका कार्यहरू कार्यान्वयन हुने, अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय फल बनाएपछि देश तथा फल दुवैको महत्त्व बढ्ने एवम् विश्वव्यापी पहिचान हुने काफ्लेको विश्वास छ । 

राष्ट्रिय फलको मान्यता पाएपछि सुन्तलाको देशव्यापी महत्त्व बढ्न गई यसको खेती पनि बढ्नेछ जसले गर्दा उत्पादन पनि बढ्ने अध्ययनकर्ताहरू बताउने गर्छन् । त्यसबाट देशको आर्थिक उन्नतिमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।

नेपालमा कुनै पनि उत्पादनलाई जिआइमा दर्ता नभएको खण्डमा अब सुन्तला जिआइमा दर्ता हुने विश्वास लिइएको छ । नेपालको अधिकांश मध्यपहाडी भेगमा मुख्य आयआर्जनको स्रोत नै सुन्तला भएकोले यस फलले राष्ट्रिय खाद्य तथा पोषण सुरक्षामा पनि महत्त्वपूर्ण योगदान समेत पुर्‍याएको छ । 

नेपाल सुन्तलामा आत्मनिर्भर भए पनि त्यसको राम्रोसँग व्यवस्थापन नहुँदा आयात गर्नुपरेको बताइन्छ । सुन्तला नेपालमा तिब्बत, बङ्गलादेशलगायत देशमा निर्यात हुने गरेको छ, चीनले पनि सुन्तला आयात गर्ने भनी सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन्तला मन पराएको छ तर नेपालबाट व्यवस्थित तरिकाले पठाउन नसकिएका कारण पर्याप्त मात्रामा निर्यात नभएको पाइन्छ ।

मौलिकता, सबैभन्दा बढी जिल्लामा उत्पादन, सबभन्दा पुरानो फल, पौष्टिक गुणलगायतका कारणले सुन्तलालाई राष्ट्रिय फलका लागि प्रस्ताव गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । 

वर्ष २०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

बुनु थारु
 
२०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी हुन् । चिकित्सा शिक्षाअन्तर्गत भर्ना, सम्बन्धन, शुल्क र गुणस्तरका विषयमा अनियमितता छानबिन गर्न सरकारले २०७४ वैशाख ४ मा आयोग गठन गरेको थियो । आयोगले ४२ जनालाई कारबाही सिफारिस गरेको छ । 

योसहित २०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएका छन्, यद्यपि सुधार गनुपर्ने उत्तिकै छन् ।  स्वास्थ्य क्षेत्रको अर्को उपलब्धि भनेको क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधिबारे सहमति हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सरको औषधि उपलब्ध गराउने सहमति भएको छ । सहमतिअनुसार आगामी चार वर्षसम्म ३५ प्रकारका औषधि निःशुल्क दिइने भएको छ । नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गर्छ, जसमा सीमितले मात्र उपचार पाउने गरेका छन् । चिकित्सकका अनुसार नेपालमा बालबालिकालाई रगत, आँखा, कलेजो, हड्डी र मांसपेशीको क्यान्सर बढी हुने गरेको छ । 

सरकारले पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’को दायरा बढाउन नसके पनि यो वर्ष नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सर पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा ‘स्क्रिनिङ’ गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा छ । ढिलै भए पनि पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई घटाउन एचपिभी खोप सरकारले यो वर्षदेखि लगाउन थालेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट सुरु भयो । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गरी खोप दिने योजना ल्याएको थियो । खोप थोरै भएकाले यो वर्ष सात जिल्लामा मात्र दिइएको छ । आगामी वर्ष देशैभरिका किशोरीलाई खोप दिइने सरकारको योजना छ ।
    
जटिल मानिने शल्यक्रियाको रुपमा कलेजो प्रत्यारोपण पनि पर्दछ । नेपालमा विसं २०७३ यता नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि विदेशी विज्ञहरुकै भरमा शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । अब त्यो अवस्था रहेन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाइमा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको हो । 
    
वयस्कमा मात्र होइन मानसिक समस्याको भुक्तभोगी किशोरकिशोरी भइरहेका छन् । नेपालमा हेर्ने हो भने मानसिक स्वास्थ्यको उपचारका लागि सरकारीस्तरमा धेरै सेवा उपलब्ध छैनन् । त्यसमाथि किशोरकिशोरी लक्षित उपचार सेवा एकदम कम छन् । कान्तिबाल अस्पतालबाहेक सरकारी तहमा त्यो सुविधा नभएकाले यही वर्षदेखि मानसिक अस्पताल लगनखेलमा ‘किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ’ सुरु भएको छ । बढ्दो मानसिक समस्यालाई हल गर्न पक्कै यो प्रयास सार्थक हुनेछ । 

देशकै एक मात्र प्रसूति सेवासम्बन्धी रिफरल अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल कुपण्डोलस्थित नयाँ भवन यो वर्षदेखि सञ्चालनमा आएको छ । बिरामीको बढ्दो चापले सेवा दिन कठिनाइ भएका बेला भवन विस्तारले सहजता पाउने देखिन्छ । पाँच तले भवनमा आइभिएफ सेवा, सुरक्षित गर्भपतन सेवा, पाठेघरको क्यान्सरको जाँचलगायतका सुविधा प्रदान गरिने भएको छ ।
    
स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार पछिल्लो वर्ष देशभर ७६ हजारभन्दा बढी मानिस जलनबाट प्रभावित भएका छन् । संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलनको उपचारका लागि वीरअस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्ने बताएका छन् । उपचार एकदम खर्चिलो र सबै ठाउँमा उपचार सुविधा नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

सुधार गर्नुपर्ने पाटो 

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार कूल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि बजेट छुट्याउनुपर्छ तर हाल बजेटको आकार हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई यो वर्ष ४ दशमलव ८ प्रतिशत मात्र विनियोजन गरिएको छ । स्वास्थ्यका सूचकलाई सुधार गर्ने हो भने बजेटको आकार बढाउनैपर्छ ।

आधारभूत अस्पताल निर्माणमा ढिलाई

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ मा तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्नुभएको थियो । पहिलो चरणको अस्पताल निर्माण भइसकेका थिएनन् । त्यति नै बेला सरकारले थप दुई सय ५९ तहमा अस्पताल निर्माणको निर्णय लियो । दुई वर्षभित्र निर्माण कार्य सक्ने सरकारको लक्ष्य भए पनि शिलान्यास गरिएका अधिकांशको काम पूरा भएका छैनन् । 

सुधारोन्मुख स्वास्थ्य बीमा     
    
२०७८ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौं उपत्यकाको एउटा स्थानीय तह (बूढानीलकण्ठ नगरपालिका) मा छिट्टै लागू गरिने बीमा बोर्डको योजना छ ।
    
स्तरीय स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पु-याउन सुरु गरिएको बीमा कार्यक्रम सुधारोन्मुख छ । यो वर्ष केही नियम परिमार्जन भएका छन् । स्वास्थ्य बीमामा आबद्ध भइ वर्षभरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बीमितले अर्को वर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने नियम छ । नियमावली भए पनि यसको कार्यान्वयन हुन सकेको छैन । 

त्यसैगरी बीमित सदस्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएका निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्न जाँदा २० प्रतिशत सहभुक्तानी (को पेमेन्ट) तिर्नुपर्ने भएको छ । बीमा बोर्डले सरकारीमा १० प्रतिशत र निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउनेले २० प्रतिशत सहभुक्तानी गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बीमा बोर्डले बीमाअन्तर्गत रहेको ओपिडी र आकस्मिक शुल्क परिमार्जन गरेको छ । बीमितले ओपिडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ओपिडीमा दुई सय र आकस्मिक सेवामा चार सय शुल्क तोकिएको थियो । 

बोर्डको तथ्याङ्कअनुसार कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ अर्थात् ३५ दशमलव ८८ रहेका छन् । बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना छन् । नवीकरण नगर्ने बीमित सङ्ख्या भने ४८ लाख आठ हजार सात सय ६० जना छन् ।

खोपमा बालबालिकाको पहुँच बढाउँदै लानुपर्ने 
    
नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०२२ का अनुसार १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । चार प्रतिशत बच्चाले शून्य डोज पनि लगाएका छैनन् । सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने नेपाल सरकारको लक्ष्य थियो तर यो वर्ष पनि विभिन्न जिल्लामा दादुराको ‘आउट ब्रेक’ भएको देखिन्छ । 
    
विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरीय स्वास्थ्य सेवा र दिगो सुधारको लागि कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट छट्याउनुपर्ने थियो तर यो वर्ष ४ दशमलव ९२ प्रतिशत छुट्याएको अवस्था छ । स्वास्थ्य सूचकमा उल्लेखनीय प्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ ।
    
विगतको तुलनामा मातृ मृत्युमा सुधार हुँदै गइरहेको छ । राष्ट्रिय जनगणना २०७८ ले नेपालमाप्रगति गर्न राज्यको लगानी बढाउनुपर्ने देखिन्छ । केही सूचकमा सुधार देखिन्छ । विगतको तुलनामा मातृ मृत्युमा सुधार हुँदै गइरहेको छ । 

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सरकारले संसदको चालू अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

‘नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मिति २०८१।१।२ गते बिहान ७ः३० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक सोही दिन बिहान ८ः०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ,’ कांग्रेस संसदीय दलको सचिवालयबाट जारी सूचनामा भनिएको छ  ।

सिड्नीको मलमा चक्कु हानेर पाँचजनाको हत्या

अष्ट्रेलियाको सिड्नीस्थित एक व्यापारिक मलमा पाँचजनाको चक्कु प्रहार गरी हत्या गरिएको छ । 

चक्कु प्रहार गर्ने एक आक्रमणकारीलाई शनिबार सिड्नीको समुन्द्री किनारमा प्रहरीले गोली हानी मारेको प्रहरीले जनाएको छ ।

व्यस्त वेस्टफिल्ड बोन्डी जंक्शन शपिङ सेन्टरमा नौ जनासँग इन्गेजमेन्ट गरेपछि आक्रमणकारीलाई एक प्रहरी अधिकारीले गोली हानेको प्रहरीले जनाएको छ ।

‘त्यहाँ पाँचजना पीडित छन्, जो यस अपराधिक कार्यको परिणामस्वरूप मरेका छन्,’न्यू साउथ वेल्सका प्रहरी सहायक आयुक्त एन्थोनी कुकले पत्रकार सम्मेलनमा भनेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, व्यस्त मलमा किनमेलमा मग्नरहेका मानिसहरुमाथि चक्कु आक्रमण गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट ‘नेचर गाइड’को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका ‘नेचर गाइड’को गैडाको आक्रमणबाट मृत्यु भएको छ । 

आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो । 

गैँडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जंगल वल्र्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए । 

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनीसँगै निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको उनले बताए । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो । 

‘निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ,’ तिवारीले भने, ‘नयाँ वर्षको दिन दुःखद् घटना भयो ।’ 

मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

एसिसी प्रिमियर कप : नेपालले कतारलाई ३२ रनले हरायो

एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो । कतारलाई ३२ रनले हराउँदै नेपालले दोस्रो जित निकाल्न सफल भएको हो ।  

नेपालका लागि ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले सामान दुई विकेट लिए । यस्तै कुशल मल्ल र अविनाश बोहोराले सामान एक विकेट लिए । कतारका लागि महोम्मद तानवीरले ६३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।  

यसअघि दीपेन्द्र सिंह ऐरीको एकै ओभरमा छ छक्काको मद्यतमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई दुर्य सय ११ रनको लक्ष्य दिएको थियो । ओमानको अल अमिरातमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर दुई सय १० रन बनाएको थियो ।

दिपेन्द्रले २० औं ओभरमा छ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।

यो जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधबार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ । लगातार दुई जितसहित यूएई समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

इलाम-२ : उम्मेदवारको आ-आफ्नै दाबी, जनमतमा को कति शक्तिशाली ?

इलाम–२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरुले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । भौगोलिक रुपमा विकट भए पनि उम्मेदवारहरु घरघरमा आइपुगेको देख्दा मतदाताहरु मख्ख छन् । उम्मेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र बाँडिरहेका छन् । 

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

एक मात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाको ध्यान यतिबेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरुको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ । 

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । राम्रो संगठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ । 

उम्मेदवार नेम्वाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेदवार भएकाले विजय निश्चित रहेको दाबी गर्छन् । ‘म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ,’ उनले भने, ‘मेरो बाबु स्वर्गीय सुवासचन्द्र नेम्वाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

उनले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिल समेत गर्दै आएका छन् । 

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएक थिए । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२ र माओवादी केन्द्रले पाँच हजार एक सय ५३ मत प्राप्त गरेका थिए । 

विसं २०७९ को निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का यसपटक जितको खोजीमा छन् । उनी कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा घरदैलोमा व्यस्त छन् । 

‘विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्नुभयो । यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ,’ खड्काले भने, ‘म यहाँको प्रतिनिधि नभए पनि यस क्षेत्रका गरिब, असहाय, वृद्धवृद्धा तथा युवाहरुका लागि थुप्रै राम्रा कामहरु गरेको छु, त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ, यसपटक यहाँका जनताले चुनाव जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु ।’

नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । उनलाई तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साथ थियो । कांग्रेसले त्यतिबेला समानुपातिकमा २२ हजार तीन सय ३३ मत पाएको थियो । 

त्यसैगरी पत्रकारिता छाडेर राजनीतिक दलमा आबद्ध भई निर्वाचनमा होमिएका रास्वपाका उम्मेद्वार लिम्बूले पनि चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । आफूलाई इलामको अर्गानिक उम्मेदवारका रुपमा प्रचारप्रचार गर्दै आएका लिम्बूले यसपटक चामत्कारिक रुपमा मत परिवर्तन गर्ने दाबी गर्छन् ।  

‘अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ,’ उनले भने, ‘यसपटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दै छन्, धेरैलाई विश्वास छैन तर हाम्रो झण्डा फहरिनेछ ।’

रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार तीन सय ८० मत र समानुपातिकमा चार हजार छ सय ८६ मत पाएको थियो । 
    
पहिचानवादी ४१ घटकका उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले समेत आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । थेगिमले संघीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दिगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहेका छन् । ‘पहिचान पक्षधर उम्मेदवार पनि भएकाले यसपटक मतदाताहरु उत्साही भएको पाइएको छ,’ उनले भने, ‘विगतमा पहिचान पक्षधरलाई दलहरुले धोका दिएका छन्, यसपटक आफ्नै उम्मेदावर भएपछि उहाँहरु खुसी हुनुहुन्छ ।’

‘मुढा’ चुनाव चिह्न पाएका उनलाई सत्ता साझेदार दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ । 

बलिया मानिएका यी चारैजना उम्मेदवार एक–अर्कालाई रोकेर आफू प्रतिनिधिसभामा प्रवेश गर्ने रणनीतिमा छन् । यीबाहेक सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मीनबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा लागेका छन् । 

त्यस्तै, स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उनीहरुको टोली अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

निर्वाचन आयोगले उम्मेदवारहरुलाई गत चैत २८ देखि वैशाख १२ गते सम्मका लागि चुनावी प्रचारप्रसारका अवधि तोकिदिएको छ । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता छन् । 

  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार २१:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया