लेखनाथ हाफ म्याराथन : सेनाका सञ्जयलाई उपाधि

नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । 

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जिते । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो भए । उनले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा  दौड पूरा गरे । उपविजेता बोगटीले नगद ३० हजारसहित  मेडल र प्रमाणपत्र पुरस्कार पाए । 

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो भए । उनले २० हजार पुरस्कार पाए । 

सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ भए । उनीहरूले क्रमशः १० हजार र पाँच हजार पुरस्कार पाएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिए । 

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गर्नुभएका चेतनाथ चालिसे पोखरा च्याम्पियन बने । पोखरा–१७ बिरौटा निवासी चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरे । उनले उपाधिसहित १० हजार पुरस्कार पाए । 



यस्तै, १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बने । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ भए । 

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सिर्जना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ भए । 



महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार पाए । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । 

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौंका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः १० हजार,  सात र  पाँच हजार पुरस्कार पाए । 

विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गंगा गुरुङ तेस्रो भए । 

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो हुनुभएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार, उपविजेताले १० हजार, र तृतीयले पाँच हजार पुरस्कार पाए । 

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा छ विधामा गरेर चार सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिए । 

  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार २२:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया