बाबुराम भट्टराई भन्छन्- ‘खुट्टा तान्ने प्रवृत्तिका कारण मुलुक गम्भीर भूराजनीतिक भुमरीमा’
‘भारतसँगको खुला सिमानाले परनिर्भता बढ्यो’

नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराईले नेता र व्यवसायीमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति हाबी हुँदा मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फसेको टिप्पणी गरेका छन् ।  

काठमाडौंमा आइतबार आयोजित ‘नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थ–राजनीतिक सम्बन्धबारे ध्यान नदिँदा नेपालको अर्थतन्त्र परनिर्भर रहेको बताए । 

 ‘यहाँ नेता र व्यवसायीहरू एकअर्काका खुट्टा तान्नमै व्यस्त रहे । जसकारण मुलुक गम्भीर भूराजनीतिक भुमरीमा फस्यो । हामी अर्थ–राजनीतिक सम्बन्धबारे ध्यान दिइरहेका छैनौँ । खालि भौगोलिक, राष्ट्रियता र सीमाका कुरा त हामी गर्छौँ,’ भट्टराईले भने ।

सुगौली सन्धिपछि भारतसँगको खुला सिमानाका कारण नेपालको अर्थतन्त्र परनिर्भर भएको उनको भनाइ छ । ‘सुगौली सन्धिदेखि यता भारतसँगको जुन खुला सिमाना हो, जुन सन्धिका प्रावधानहरू हुन् ती कारणले गर्दा हाम्रो अर्थतन्त्र परनिर्भर छ । हाम्रो बजार त भारतीय बजारको नियन्त्रणमा छ । यो सबै त सुगौली सन्धि यताको घटनाक्रमले नै देखाउँछ नि,’ भट्टराईले भने । 

सुगौली सन्धिपछि नेपालका अधिकांश उद्योगहरू प्रतिस्पर्धा गर्न नसकेर बन्द भएका उल्लेख गर्दै उनले भारतीय बजारले नेपालको अर्थतन्त्र निमोठेको बताए ।



‘सन्धिपछि नै अधिकांश उद्योगधन्दा बन्द भए केही प्रतिस्पर्धा गर्न नसकेर गए । अहिले पनि त्यस्तै छ नि । भारतीय बजारले पटक पटक नेपालको अर्थतन्त्र निमोठेको छ,’ उनले भने ।

नेपालको बजार अझै पनि कृषि क्षेत्रमा नै निर्भर रहेको बताउँदै भट्टराईले कृषिमा वैज्ञानिक क्रान्ति गर्न सकेमात्र अर्थतन्त्र बलियो बन्न सक्ने दाबी गरे ।  



  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १८:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया