एक खेलअगावै सेमिफाइनल पुग्ने सोचमा नेपाल, आज हङकङसँग भिड्दै
हेड टु हेडमा नेपाल अगाडि
फाइल तस्बिर

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल सोमबार बिहान ११ः४५ देखि ओमान क्रिकेट एकेडेमीको मैदानमा सुरु हुनेछ । 

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो । नेपाल हङकङविरुद्ध पनि सहज जित निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ । 

हङकङले दुई खेल खेल्दा एकमा जित र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराय बेहोर्यो ।  

हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ । यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ । यसपटक हङकङको टिममा बाबर हयात, निजाकत खान, अंकुशमन रथ, एहसान खानलगायत नाम चलेका खेलाडी छन् । 

यता नेपालको टोलीमा सन्दीप लामिछानेबाहेक गत संस्करणको प्रिमियर कप खेलाडी अधिकांश खेलाडी छन् । गत प्रिमियर कपमा हङकङ समूह चरणबाटै बाहिरिएको थियो । नेपालमा आयोजना भएको सो प्रतियोगितामा हङकङले समूह चरणमा चारमध्ये दुईमा जित र एक खेलमा अंक बाँड्यो । ५ अंक जोडेको ऊ समूह ‘बी’ मा तेस्रो भयो । 

नेपाल भने गत संस्करणको विजेता टिम हो । नेपालले फाइनलमा यूएईलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल यसपटक पनि उपाधि जितेर एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ । 



हङकङविरुद्धको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले सोमबार विवेकुमार यादवको स्थानमा करण केसीले मौका पाउने सम्भावना रहेको हो । विवेकले कतारविरुद्ध ४ बलमा ५ रन मात्र बनाएका थिए । 

अनिलकुमार साह र प्रतिश जिसीले भने तेस्रो खेलमा पनि प्लेइङ–११ मा मौका पाउने सम्भावना कम छ ।  



  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार ६:४८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया