हङकङविरुद्ध नेपालको सानदार जित, एक खेलअगावै पुग्यो सेमिफाइनलमा

नेपाल ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हङकङलाई ८ विकेटले हराउँदै नेपाल एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।  

तेस्रो खेलमा हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले ४० र कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै, अविजित रहेका कप्तान रोहितकुमार पौडेलले २५ र सन्दीप जोराले १९ रनको योगदान दिए । हङकङका लागि एहसान खान र यासिम मुर्तजाले एक/एक विकेट लिए । 

त्यसअघि ओमान क्रिकेट ग्राउन्ड वानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ १८ ओभरमा झारिएको खेलमा १७.५ ओभरमा १ सय १४ रनमा अलआउट भयो । 

उसका लागि अशुंमन रथले २४ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३४ रन बनाए । यस्तै, जीशान अलीले १४, कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन जोडे । 

हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि तीव्र गतिका बलर अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । उनले आज ४ ओभरमा २९ रन दिएर तीन विकेट लिए । अविनाश जारी प्रतियोगितामा लयमा देखिएका छन् । 

उनले मलेसिया र कतारविरुद्ध एकरएक विकेट लिएका थिए । यस्तै, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले दुई/दुई तथा करण केसीले एक विकेट हात पारे । नेपालले दुई विकेट रनआउटको रूपमा प्राप्त गर्‍यो । नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १५:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया