दुर्गा प्रसाईंकाे दुर्नियत : एउटा हतियारकाे इजाजत, अर्कै आयात

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा इजाजत जारी भएको हतियारका विषयमा छानबिन गर्न गठित समितिले प्रसाईंले आयात अनुमति दिएको भन्दा फरक हतियार आयात गरेर प्रयाेग गरेकाे निष्कर्ष निकालेको छ । अटोमेटिक हतियार ल्याउनका लागि अनुमति नदिइएको तर प्रसाईंले ल्याएको हतियार अटोमेटिक नै रहेको छानबिन समितिको निष्कर्ष छ ।

गृह मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयबाट चैत १५ गते एक समिति गठन गरेको थियाे । मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित छानबिन समितिमा उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य तथा सदस्यसचिवमा गृहका उपसचिव एकदेव अधिकारी छन् ।

यही ५ चैतमा सर्वोच्च अदालत परिसरमा हतियारसहित उनका दुईजना अंगरक्षक पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र राजकुमार धिमाल रहेका थिए । जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा प्रसाईंको नाममा जारी भएको इजाजतपत्रमा २२ बोर ए ३५४७५२ नम्बरको हतियार बाेक्रन पाउने उल्लेख थियाे । 

उक्त घटनामा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट हतियार कानुनविपरीत इजाजतपत्र जारी भएको देखिन आएकाले सो इजाजतपत्र के–कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानबिन गर्न गृहलाई आदेश दिँदै उनीहरूलाई रिहा गर्न आदेश भएको थियो ।

सर्वोच्चले अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न पनि आदेश भएकाले सोही आदेश कार्यान्वयनका लागि गृहले छानबिन समिति गठन गरेको हो ।

व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा गृह मन्त्रालयले उक्त समिति गठन गरेको र कार्यप्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियाे । 



समितिलाई जिल्ला प्रशासन कार्यालय झापाबाट २१ असार २०७५ मा दुर्गाप्रसाद प्रसाईंको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको थियाे ।   

प्रसाईंले आयात अनुमति दिएको भन्दा फरक हतियार आयात गरेको हुनाले छानबिन समितिले वाणिज्य विभाग र भन्सार विभागलाई पत्र काटेको छ । आयात अनुमति दिइएको स्पेसिफिकेसन बमोजिमको हतियार नभएर फरक प्रकृतिको हतियार कसरी आयात भयो भनी समितिले वाणिज्य विभागलाई पत्र लेखेको छानबिन समितिका सदस्यसचिव एकदेव अधिकारी जानकारी दिए । 



समितिले छानबिन लगभग टुंग्याएकाे छ । इजाजत पाएको हतियारभन्दा फरक हतियार आयात भएको विषयलाई परीक्षण गर्नका लागि प्रहरी ल्याबमा पठाइएको भए पनि त्यसको परीक्षण प्रतिवेदन अझै आइनसकेकाे उनकाे भनाइ छ । 

छानबिन समितिका सदस्य ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई  जिल्ला प्रशासन कार्यालय झापा पुगेर फर्किएका छन् । समय अभाव भएकाले समितिलाई थप १ हप्ताको समय प्रदान गर्न भनिएको छ । 

  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १६:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया