यो सरकार ढाल्न इशारा काफी छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा कांग्रेससँगकाे सहकार्यबारे मुख खाेलेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति पालना नगर्दाको परिणाम भएको ब्रिफिङ गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने, तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाए । 

प्रधानमन्त्री र एमाले अध्यक्ष ओली केन्द्र र प्रदेश सरकार सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको अध्यक्ष नेपालको भनाइ थियाे । बैठकमा अध्यक्ष नेपालले यो सरकार ढाल्न इशारा नै काफी रहेकाे, तर अहिले नै त्यसतर्फ नलाग्ने बताएका थिए । 

यसअघि ओली र प्रचण्ड दुवैको आग्रहअनुसार आफूहरू सत्ता समीकरणमा जोडिएको, तर सहमति कार्यान्वयन गर्ने र पालना गर्ने कुरामा उनीहरू एकपछि अर्को गर्दै पन्छिएकाे नेपालकाे आराेप छ । जसकाे परिणाम सुदूरपश्चिममा प्रकट भएकाे उनले बताएका थिए । 

सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष नेपालले भने, ‘सुदूरपश्चिममा जे देखियो, त्यो हाम्रो नीति भन्दा पनि त्यहाँका साथीहरूमा देखिएको असन्तुष्टि हो ।’

अध्यक्ष नेपालले राष्ट्रिय सभा उपाध्यक्ष, उपचुनाव, राष्ट्रिय सभा सदस्यमा मनोनीतका साथै मुख्यमन्त्रीका सवालमा समेत काेर्स करेक्सनतर्फ दुई नेता नलागेको बताए । यद्यपि, अध्यक्ष नेपालले गठबन्धन टिकाउनुपर्ने र बिग्रेको कोर्स करेक्सनतर्फ नै लाग्नुपर्नेमा जोड दिएका थिए । 



एमाले अध्यक्ष ओलीले अहिले आफूहरूलाई भड्काउने र उत्तेजित गरेर फेरि अर्को समीकरण बनाएर फाइदा उठाउन सक्ने भन्दै नेपालले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

ओलीकाे आइतबारकाे एकीकृत समाजवादी लक्षित टिप्पणी त्यसैकाे परिणाम भएकाे नेपालकाे भनाइ छ । आइतबार पार्टी कार्यालय च्यासलमा ओलीले कांग्रेसलाइ भाेट हालेकाहरूसँग पार्टी एकता नहुने बताएका थिए । 



  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १८:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया