डा.शेखरलाई आशीर्वाद दिँदै किरात धर्मगुरुले भने : गिरिजाप्रसादपछि देशले अभिभावक पाएन

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला किरात धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रममा पुगेका छन् ।

उपनिर्वाचनको प्रचारका लागि केही दिनदेखि इलाम २ मा रहेका डा.कोइरालाले मंगलबार इलाम २ मै रहेको इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन् ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनुपरेको र धर्म संस्कृतिको क्षेत्रमासमेत प्रहार हुन थालेको गुनासो गरे ।

लिङ्देनले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला तीनपटक आफूलाई भेट्न आएको स्मरण गर्दै शेखर कोइरालालाई भने, ‘गिरिजाप्रसादपछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु ।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

यसअघि हिजो कोइरालाले इलाम २ का नेताहरुसँग छलफल गरेका थिए । उनले कांग्रेसी नेताहरुलाई उपनिर्वाचनमा कांग्रेस जसरी पनि विजयी हुनुपर्ने बताएका थिए । उनले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नैपर्ने बताए ।





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १६:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया