logo-img

सहकारी पीडितको रोदन- ‘सरकार ! कि न्याय देऊ कि मारिदेऊ’

काठमाडौं उपत्यकाका विभिन्न सहकारी पीडितले सरकारसँग पीडितका समस्या सुनिदिएर चाँडो न्याय दिलाउन आग्रह गरेका छन् । 

सन्ध्या बचत तथा ऋण सहकारी, ओरियन्ट फाइनान्स र  गौतमश्री बहुउद्देश्यीय सहकारीका पीडितले आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्ध नगर पुगेर आफूहरूलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

उनीहरूले ठूला सहकारी सञ्चालकले सरकारका प्रतिनिधिको मिलेमतोमा आफूहरूलाई फसाउने गरेको आरोप लगाए । पीडितले सरकार पीडितलाई न्याय दिन आलटाल गरिरहेको र यसअघि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानसँग सरकारले गत चैतमा गरेको सम्झौताको समेत कार्यान्वयन नगरेको भन्दै आक्रोशित बने । 

सन्ध्या सहकारी पीडित कृति बस्नेतले आँखा भरी आशु पार्दै भनिन्, ‘हामीले बचत गरेको पैसा मागेको हौँ । यसमा सरकारले पनि साथ दिएन । लड्दा लड्दा थाकिसक्यौँ । अब सरकार हाम्रो कुरा नसुन्ने नै हो भने बरु मार्दिनु ।’ उनले व्यथा सुनाउँदै थपिन, ‘म ट्युमर पीडित छु, अहिले उपचार गर्ने पैसा समेत छैन । एकदम गाह्रो भएको छ । मैले सहकारीमा ६ लाख रुपैयाँ राखेको थिए । भएको सम्पत्ति नै त्यति हो । कि सरकारले मारि दियोस् कि न्याय दियोस् ।’

सन्ध्या बचत तथा ऋण सहकारीको पेप्सिकोला शाखाका बचतकर्ताको तीन करोड रकम पाएका छैनन् । यस्तै, ओरियन्ट फाइनान्सका पीडित सन्जय कुमार पारिकले बाबुको पेन्सनको नौ लाख रुपैयाँ सहकारीमा फसेको सुनाए । उनले पीडितहरू सबै एक भएर लाग्नुपर्नेमा जोड दिँदै सरकारले न्याय नदिए आफैँ रकम अपचलन गर्नेको घर भत्काउन जाने चेतावनी दिए । 

उनले भने, ‘हामी सधैँ यहाँ धाउने काम मात्रै भइरहेको छ । समस्याको हल भएको छैन । जसरी बालेनले डोजर लिएर अनधिकृत घर भत्काए त्यसै गरी जति सहकारीको पैसा खाएर बसेका छन् तिनीहरूको घर भत्काउन डोजर लिएर जान्छौ र भत्काउन सुरु गर्छौँ ।’ 



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय बुद्ध नगरमा पीडित र पीडक पक्षबीच छलफल गर्न बैठक बोलाइए पनि सहकारी सञ्चालक पक्षका कोही नआएपछि पीडितहरू आक्रोशित बनेका हुन् । 

‘बैठक बोलाएका थिए अहिले कोही छैनन् यहाँ । पैसा नेताको डुबेको हुन्थ्यो भने घाँटी समाएर लिन्थ्यो । हामीसँग कोही छैन कसरी लिने ?,’ उनले थपे, ‘कमसेकम सरकारले एउटा समिति बनाएर हाम्रा समस्या सुनिदिएको भए त हुन्थ्यो । यहाँ सबै वृद्ध वृद्धा मात्रै छौँ । कोही सालीले, कोही जेठानले फसाए । अनि हामी सबै फस्यौँ । सरकारलाई हात जोडेर बिन्ती गर्छौ जसरी भए पनि हाम्रो पैसा दिलाइदिनुस् ।’ 



  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १३:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया