न्युजिल्यान्डले कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या कसरी १ मा नै सिमित गरेको छ ?
न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेर्न ।

एजेन्सी– विश्वभर कहर मच्चाइरहेको कोरोनाभाइरसबारे न्युजिल्यान्डको तथ्यांकमा जे देखिएको छ, त्यसबाट अरु देशले सिक्नु पर्ने कुरा पक्कै बुझिन्छ । किनकि त्यहाँ लगातार चार दिन कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको तथ्यांक दिइएको मात्र छैन, अहिलेसम्म कोभिड १९ का कारण एक जनाको मात्र मृत्यु भएको समाचार पनि उल्लेख्य छ । 

बिहिबार न्युजिल्यान्डले २९ वटा नयाँ केसहरु सार्वजनिक गरेको छ । अब न्युजिल्यान्डमा १२३९ जना कोरोनाभाइरस संक्रमित भएका छन् । अनि यीमध्ये जम्मा १४ जना अस्पतालमा छन् । ३१४ जना त ठिक पनि भइसकेको छन् ।

एउटा सानो टापु न्युजिल्यान्डको जनसंख्या पनि ५० लाखभन्दा कम छ । अनि यो देशले एक महिना लामो लकडाउन लगाएको छ । तर, अरु देशभन्दा न्युजिल्यान्डको लकडाउनको उद्देश्य अलिक फरक छ । त्यो हो– भाइरस संक्रमण कम गर्नेमात्र होइन, यसलाई उन्मूलन नै गर्ने !

अनि अहिलेसम्म यसमा न्युजिल्यान्ड सफल पनि देखिएको छ ।

‘हामी एउटा लक्ष्यमा पुगिरहेका छौँ,’ प्रधानमन्त्री जाकिन्डा अर्डेर्नले भनेकी छिन्, ‘अनि तपाईंहरुको कमिटमेन्ट भनेको हाम्रो योजनाले काम गरिरहेको छ भन्ने पनि हो ।’ यो उनले बिहिबार देशवासीको नाममा गरेको फेसबुक लाइभमा भनेकी हुन् ।

अरु देशको तुलना गर्ने हो भने न्युजिल्यान्डले कडा लकडाउन गर्ने बाध्यता नभएको देखिन्छ । तर, अर्डेर्नले अझ पनि आफूहरु कडा मापदण्ड बनाउने र अगाडि बढ्ने बताएकी छिन् । त्यसो त न्युजिल्यान्डमा २० मार्चदेखि विदेशीहरुलाई प्रतिबन्ध लगाइएको छ । 



‘हामी हाम्रो उद्देश्यको आधा बाटोमा आइपुगेका छौँ,’ अर्डेर्नले भनेकी छिन्, ‘तपाईंहरुले हामी एकजुट भयौँ भने जीवन रक्षा गर्न सक्छ भन्नुभयो र तपाईंहरुले जीवन बचाउनु भयो ।’

कोरोनाभाइरसविरुद्धको लडाईंमा न्युजिल्यान्डका लागि दुई फाइदा भए– भूगोल र समय । 



२८ फ्रेबुअरीमा न्युजिल्यान्डमा पहिलो कोरोनाभाइरस संक्रमित भेटिएका थिए । अनि २९ मार्चमा त्यहाँ पहिलो मृत्यु घोषणा भयो, कोभिड १९ का कारण ।

‘हामीसँग अलिक समय भयो, चीनबाट हामीले धेरै सिक्न पायौँ,’ प्रोफेसर माइकल बेकरले भनेका छन् । उनी ओटागो विश्वविद्यालयका प्रोफेसर हुन् र उनले नै सरकारलाई स्वास्थ्य सल्लाहहरु दिने गरेका छन् । अनि त्यहाँ अर्को फाइदा भनेको देशको भूगोल भयो । त्यहाँ बाहिरबाट धेरै उडानहरु नजाने भएकाले र छिटै यसमा प्रतिबन्ध लगाएकाले सरकारले सही समयमा निर्णय लिएको बुझियो ।

तर, योमात्र होइन, न्युजिल्यान्डबाट सिक्नु पर्ने खास कुरा त त्यहाँ नेतृत्व र विज्ञानबीचको राम्रो कम्बिनेसन हो । किनकि अहिलेसम्म त्यहाँ निकै धेरै परीक्षण पनि गरिएको छ । जम्मा ५० लाख मानिस भएको न्युजिल्यान्डमा ५१ हजारभन्दा बढीलाई कोरोनाभाइरस संक्रमणको परीक्षण गरिइसकिएको छ ।

अनि यो त्यहाँको नेतृत्वले समयमा गरेको थियो । १४ मार्चमा अर्डेर्नले विश्वका अरु देशको तुलनामा कडा नियम लगाएकी थिइन्– देशमा आउने जो सुकैले १४ दिने आइसोलेसनमा बस्नु अनिवार्य हो । त्यति बेला न्युजिल्यान्डमा कोरोना संक्रमितको संख्या जम्मा ६ थियो  ।

र, यसको कारण न्युजिल्यान्डमा पर्याप्त स्वास्थ्य सामाग्री नभएको विशेषज्ञहरुले बताएका छन् ।

अर्को फाइदा न्युजिल्यान्डलाई के छ भने अहिलेसम्म त्यहाँ कोरोनाभाइरस संक्रमितहरु धेरै युवाहरु छन् । त्यहाँ २० वर्षदेखि २९ वर्षसम्मका युवाहरुमा कोरोनाभाइरस संक्रमण बढी देखिएको छ । अहिलेसम्म २५ प्रतिशत संक्रमित यो उमेर समूहका छन् ।

  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ६:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया