खेलाडीलाई फिटनेस तथा लयकै चिन्ता

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण गएको फागुन अन्तिम सातबाट नेपाली खेलाडीले मैदानमा उत्रन पाएका छैनन् । लामो समयसम्म खेलबाट टाढा रहनु पर्दा उनीहरूले विभन्न समस्याको सामना गर्नु परिरहेको छ । यति बेला प्रायः सबै खेलाडीलाई आफ्नो फिटनेस र लयकै चिन्ताले सताएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामा लामो समयसम्म खेलाडी मैदान बाहिर रहनुपर्दा उनीहरूले शारीरिक, मानसिक तथा आर्थिक समस्या भोग्नु परेको बताउँछिन् । 

अनुले फरक धारसँगको कुराकानीमा लामो समयसम्म प्रशिक्षण गर्न नपाउँदा आफ्नो फिटनेस कायम राख्न गाह्रो भएको बताइन् । ‘विभागीय टिम बाहिरका खेलाडीले त खेलेरै कमाउनु पर्ने अवस्था छ,’ उनले भनिन्, ‘लामो समयसम्म खेल नहुँदा उनीहरूको आय आर्जनको बाटो पनि रोकिएको छ ।’ अब कहिले मैदानमा फर्किन पाइने हो भन्ने चिन्ता र चासो बढेको पनि उनले बताइन् ।

१३ औं सागका स्वर्ण विजेता कुसुम खड्कालाई यति लामो समयसम्म प्रशिक्षण गर्न नपाउँदा आफ्नो फिटनेस लेभल घटेको महसुस हुन थालेको छ ।

‘एक दुई महिनामात्र मैदान बाहिर भएको भए चाँडै नै फिटनेस फिर्ता ल्याउन सकिन्थ्यो होला, यत्तिका समयसम्म मैदान बाहिर रहँदा त पुरानै अवस्थामा फर्कन त निकै गाह्रो हुन्छ,’ उनले भने ‘घरमै गरेको सामान्य कसरतले मात्र फिटनेस कायम गर्न नसकिने रहेछ ।’ 

उनलाई पुरानै लय समात्न पनि लामो समय लाग्ने महसुस हुन थालेको छ । 



‘खेल खेले न लय कायम रहने हो, पुरानै लय समात्न त निकै लामो समय लाग्छ,’ उनले चिन्ता व्यक्त गरिन् ।

१३ औं सागमा स्वर्ण विजेता एथ्लेटिक खेलाडी सन्तोषी श्रेष्ठलाई खेल्न नपाउनु नै सबैभन्दा ठूलो समस्या हो जस्तो लाग्छ ।



‘एउटा खेलाडीका लागि यति लामो समयसम्म मैदान बाहिर रहनु नै सबैभन्दा ठूलो समस्या हो,’ उनले भनिन्, ‘मैदानमा जानुपर्ने भएपछि प्रशिक्षण हुन्थ्यो, प्रशिक्षणले फिटनेस कायम रहन्थ्यो, यसले लय कायम राख्न सकिन्थ्यो ।’ 

करियरको उच्च लयमा रहेका बेलामा यतिका लामो समयसम्म खेल्न नपाउँदा अब त्यही स्थानमा पुग्न जिरो लेभलबाट नै मिहिनेत गर्नुपर्ने र लामो समयसम्मको ब्रेकले खेलाडीको करियरमा निकै असर गरेको सन्तोषीको बुझाइ छ ।

यो लकडाउन र निषेधाज्ञाले खेलाडीहरूको करियरमा पनि ब्रेक लगाइदिएको छ । करियरको उच्च लयमा रहेका खेलाडीहरूले आपूmलाई पुरानै अवस्थामा ल्याउन निकै मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अगाडि बढ्न चाहने खेलाडीलाई पनि पछाडि धकेली दिएको छ । उनले आफ्नो धारणा व्यक्त गरिन् । 

एउटा समस्यापछि अर्को समस्या स्वतः जन्मिँदो रहेछ । लामो समयसम्म खेल्न नपाउँदा खेलाडीहरूमा मानसिक समस्या पनि सुरु भएको छ । कति समयसम्म मैदान बाहिर रहनुपर्ने हो, कुनै ठेगान छैन । कहिले मैदानमा फर्किन पाइएला भन्ने चिन्ताले उनीहरूलाई सताउन थालेको सन्तोषीले बताइन् ।

१३ औं सागमा दोहोरो स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्यको पनि चिन्ता अरुको भन्दा फरक छैन । 

खेलाडीका लागि मैदान नै त जीवन हो, छ महिनासम्म मैदान बाहिर रहँदा शारीरिक तथा मानसिक समस्या स्वतः जन्मिएको आयशाले बताइन् । 

‘सधैं अभ्यास प्रशिक्षण व्यस्त हुने मान्छे अचानक घरमा नै बस्नु पर्दा निकै समस्या भएको छ,’ उनले भनिन्, ‘मैले घरमा नै सामान्य अभ्यास गरिहेको छु । एक्लै अभ्यास गर्दा निकै गाह्रो हुन्छ । अभ्यास गर्ने साथी नहुँदा आफ्नो कमी कमजोरी थाहा हुँदैन यसले प्रदर्शनमा पनि असर गर्नसक्छ ।’ नियमित प्रशिक्षण गर्न नपाउँदा शरीरको सन्तुलन मिलाउन निकै गाह्रो परिरहेको उनको चिन्ता छ । अब पुरानै लय समात्न निकै समय लाग्छ, आयशाले बताइन् ।

लामो समयसम्म घरमा नै बस्दा खेलाडीलाई पनि दिक्क लाग्न थालिसकेको छ र अब कहिले खेलमा फर्किन पाइएला भन्ने चिन्ताले पनि सताउन थालेको छ । आयशाले ​आफ्नो धारणा व्यक्त गरिन् ।

  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १६:३४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया