कांग्रेस पार्टीलाई पुनर्जीवित गराउन आवश्यक छ : पूर्वमन्त्री भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले पार्टीलाई पुनर्जीवित गराउन आवश्यक रहेको बताएका छन्।

स्कूल अफ डेमोक्रेसी तनहुँको सोमबार दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नेता भण्डारीले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनर्जीवित र पुनःसंगठनको आवश्यकता रहेको बताए।

पूर्वमन्त्री भण्डारीले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले त्यसतर्फ सबै नेता तथा कार्यकर्ता लाग्नुको विकल्प नभएको बताउँदै उनले भने, ‘कांग्रेसले हिजो कुन विचार बोकेर अगाडि बढ्यो, के थियो कांग्रेसको मूल सिद्धान्त र विचार त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ।’

कांग्रेसले स्पष्ट नीति बनाउन नसक्ने र आफ्नै मौलिकता र पहिचान जोगाउन नसक्ने हो भने कांग्रेस समाप्त हुने उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिलाई जोड्न नसके कांग्रेस पनि समाप्त हुने र कांग्रेस समाप्त हुँदा लोकतन्त्र पनि समाप्त हुने बताए। उनले भने, ‘देशको स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको अधिकारका विरुद्धमा कुनै पनि प्रकारका शक्तिको चलखेललाई स्वीकार गर्न सकिँदैन।’

नेपाली कांग्रेसका जिल्ला सचिव विश्व बाँस्तोलाले सुशासनमा सरकार कमजोर रहे पनि प्रमुख प्रतिपक्षी दलले सरकारविरुद्ध आवाज उठाउन नसकेको बताए। व्यास नगरसमितिका सभापति शान्तिरमण वाग्लेले लोकतन्त्रको संस्थागत विकास, विकृति र विसंगतिविरुद्ध संस्थाले आवाज उठाउनुपर्ने बताए। कार्यक्रममा नेता भण्डारीले स्कूल अफ डेमोक्रेसीको कार्यसमितिमा मनोनीत भएकालाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए।

संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले कार्यसमितिको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा वसन्त कँडेल, सहसचिवमा सरोज भण्डारी, कोषाध्यक्षमा मिला दरै, सदस्यमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वरराज पन्थ, प्रकाशचन्द्र हड्खले, अञ्जनकुमार श्रेष्ठ, सुमन थापा मगर, उदयचन्द्र कँडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, सकिना खातु, स्वस्तिका भट्टराई गैह्रे, रिया गुरुङ, महेन्द्र आचार्य, शैलेश खाती, विजय गुरुङ, विपीन कुँवर र अमृत ढकाललाई नियुक्त गरेका थिए।



संस्थाका सचिव वसन्त कँडेलका अनुसार संस्थाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसात् गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान पुर्याउँदै आएको छ। विभिन्न नौ वटा उद्देश्य राखेर संस्थाले कार्यक्रम सञ्चालन गर्ने कँडेलले जानकारी दिए। 



  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १६:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया