साइकलको घटेको ‘क्रेज’
कर्णाली राइडर्स क्लबको वीरेन्द्रनगरको साइकलयात्रा ।

वीरेन्द्रनगर–६ बुद्धपथमा रहेको किम साइकल स्टोरको व्यापार ७५ प्रतिशतभन्दा बढीले घटेको छ । केही वर्ष पहिला दैनिक १०, १२ भन्दा बढी साइकल बिक्री हुने उक्त पसलमा हाल १, २ वटा पनि मुस्किलले बिक्री हुने गरेका छन् ।

पहिलाको तुलनामा व्यापार एकदमै धेरै घटेको किम साइकल स्टोरका व्यवस्थापक राज नेपालीले बताए । उनले भने, ‘केही सीमित मानिसहरूले फेसनका रूपमा साइकलको प्रयोग गरेका छन् अरूले प्रयोग गर्न छाडे ।’

५ वर्ष अघिको तुलनामा झण्डै ९५ प्रतिशतभन्दा बढीले साइकलको व्यापार घटेको उनको भनाइ छ । ‘केही वर्ष पहिले विद्यार्थीहरू गाउँघरबाट अध्ययन तथा अन्य कामका लागि बजार आएपछि साइकल किन्थे । तर, अहिले किन्दैनन्’, उनले थपे, ‘अहिले त मानिसहरू सुविधा खोज्न थाले ५ मिनेटको बाटोमा पनि अटो रिक्सामा जान्छन् ।’

यस्तै वीरेन्द्रनगरस्थित लाटिकोइली रोडमा सञ्चालनमा रहेको भरत साइकल स्टोरको अवस्था पनि उस्तै छ । बरु सकि–नसकी स्कुटर, मोटरसाइकल चढ्छन् तर साइकल किन्न छाडेको भरत साइकल स्टोरका सञ्चालन भरत राईले बताए ।

‘अब त मानिसहरूले साइकल चढ्दा आफ्नो इज्जत नै गएको मान्न थाले,’ राईले भने, ‘बरु ऋण निकालेरै भए पनि मोटरसाइकल, स्कुटर किन्छन् । झन् बजारमा अटो रिक्सा आएपछि साइकल नै विस्थापित हुने अवस्थामा पुगेको छ ।’ सडकको अवस्था राम्रो नभएका कारणले पनि मानिसहरूले साइकल चढ्न छाडेको उनको भनाइ छ ।

‘हाम्रो सडक पनि ठिक छ्र्रैन,’ उनले भने, ‘यदि सडक क्षेत्रमा साइकल लेन निर्माण भएको भए र सबै क्षेत्रको सडक पिच भएको भए मानिसहरू साइकल तर्फ पनि आकर्षित हुन्थे होला ।’ 



कोरोना महामारीका कारण आफूहरू विस्थापित नै हुनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । साइकलको लोकप्रियता घटेसँगै बजार क्षेत्रमा रहेका ९० प्रतिशतभन्दा बढी साइकल पसल विस्थापित भएको उनीहरूको भनाइ छ ।

यसरी बजार क्षेत्रमा साइकल विस्थापित भएसँगै अत्यधिक मात्रामा डिजेल, पेट्रोलबाट चल्ने सवारी सञ्चालन हुँदा बजारको वातावरण प्रदूषित बन्दै गएको छ । डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा साइकल चलाएको अवस्थामा धेरै मात्रामा प्रदूषण कम हुने विज्ञहरूको भनाइ छ ।



केही दिन अघि मात्रै संघीय राजधानी काठमाडौँ विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले पहिलो नम्बरमा परेको थियो । नेपालमा विशेष गरी जाडो समयमा अत्यधिक मात्रामा वायु प्रदूषण हुने गरेको छ । काठमाडौँ जस्तै कचौरा आकारको वीरेन्द्रनगरमा पनि जथाभावी फोहोर जलाउँदा र अत्यधिक मात्रामा पेट्रोलबाट चल्ने गाडीका कारण वातावरण प्रदूषण हुने गरेको छ । वातावरण प्रदूषण रोक्नका लागि केही सामान्य कार्य भए पनि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबाट कुनै ठोस योजना अघि बढ्न सकेको छैन ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आर्थिक वर्ष ०७५÷७६ मा वीरेद्रनगरलाई साइकल मैत्री सहर बनाउने अभियानका साथ कार्यालयका कर्मचारीका लागि साइकल खरिद गरेको थियो । तर, केही महिनामै साइकल कर्मचारीको घरमा थन्किएका छन् । कार्यालयले कार्यविधि नै बनाएर साइकल सञ्चालन अभियानलाई अघि बढाए पनि त्यो अभियानमा मात्र सीमित भएको छ ।

कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वन तथा वातावरण महाशाखाका प्रमुख राजेन्द्रकुमार वासुकलाले प्रदेश सरकारले वातावरण प्रदूषण रोक्नका लागि जनचेतनामुलक कार्यक्रम, फोहोर मैला व्यवस्थापन गर्ने जस्ता कार्यक्रम चालु आर्थिक वर्षमा गर्ने बताए ।

मुख्यमन्त्री कार्यालयले साइकल किनेसँगै वीरेन्द्रनगर नगरपालिकाले पनि साइकल किनेर अभियानकै रूपमा अघि बढ्ने बताए पनि हालसम्म त्यो अभियान सुरु हुन सकेको छैन । चालु आर्थिक वर्षमा नगरपालिकासँग त्यस्तो कुनै पनि योजना नभएको वीरेन्द्रनगर नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीको बताए ।

पछिल्लो समय वीरेन्द्र नगरमा कर्णाली राइडर्स क्लबले निर्माण गरेर विभिन्न साइकलिङसम्बन्धी गतिविधिहरू हुनथालेका छन् । क्लबले आफूहरू सँगको सहकार्यमा विभिन्न गतिविधि अघि बढाउन सरकारी क्षेत्रलाई अनुरोध समेत गरेको छ । 

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १४:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया