प्रधानमन्त्रीले राजीनामा दिनुहुन्‍न, मनमोहनले झैँ संसद 'फेस' गर्नुहुन्छ : विष्णु रिमाल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले झैँ संसद 'फेस' गर्ने उनका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्। उनले प्रधानमन्त्रीले संसद् सामना गर्ने तर राजीनामा नदिने बताएका हुन्। 

२५ वर्षअघि तत्कालीन प्रधानमन्त्री अधिकारीले संसदको सामना गरे जस्तै वर्तमान प्रधानमन्त्रीले पनि त्यही अभ्यास गर्ने रिमालले बताएका हुन्। फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काइएपछि नैतिकताका आधारमा प्रधानमन्त्रीले पद त्याग्नुपर्ने आवाज उठिरहेका बेला शनिबार सामाजिक सञ्जालमार्फत रिमालले यस्तो स्पष्टीकरण दिएका हुन्। 

'प्रतिनिधिसभा पुन:स्थापना भइसकेपछिको सन्दर्भमा राजीनामा गर्ने कि संसदको सामना गर्ने भन्‍ने सवालमा २०५२ सालमा हामीले जे गरेका थियौं, जे भनेका थियौँ, अहिले पनि त्यही हुन्छ', रिमालले शनिबार भनेका छन्। 

उनले प्रतिनिधिसभा विघटन सिफारिस, सर्वोच्च अदालतबाट पुन:स्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्नसहितका विषयमा २०५२ सालमा मनमोहन अधिकारी जुन अवस्थामा थिए अहिले ओली पनि ठ्याक्कै त्यही अवस्थामा रहेको व्याख्या गरे। 

'यी विषयमा प्रश्न गर्ने र जवाफ दिने हामी २०५२ सालमा पनि थियौं र अहिले पनि छौं', उनले भने भनेका छन्, '२५ वर्षअघि मनमोहन अधिकारीले जे गर्नुभएको थियो, अहिले पनि त्यही हुनेछ।'

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गरिदिएका थिए। तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि अधिकारीविरुद्ध तत्कालीन प्रमुख प्रतिपक्ष कांग्रेसले अधिकारीविरुद्ध अविश्वास प्रस्ताव हालेको थियो।



तर त्यसबेला मनमोहन अधिकारी गम्भीर बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उनलाई अस्पतालमै उपचाररत रहेका बेला अविश्वास प्रस्ताव हालिएको थियो। उनले त्यहीँबाट अविश्वास प्रस्तावको जवाफ दिएका थिए। अधिकारीको स्थानमा तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा अविश्वास प्रस्तावको जवाफ दिएका थिए।

२०५२ सालमा जस्तै प्रधानमन्त्री ओलीले यस पटक त्यही अभ्यास गर्ने प्रमुख सल्लाहकार रिमालले बताएका छन्। रोचक संयोग भनेको त्यसबेला ओली गृहमन्त्री थिए भने अहिले प्रधानमन्त्री छन्। 



'२०५२ सालमा हामी जहाँ थियौँ र अहिले पनि त्यहीँ नै छौं। दुई प्रधानमन्त्रीहरु मनमोहन र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने?', उनले भनेका छन्, 'त्यो बेला जे गरेका थियौँ, भनेका थियौँ, त्यसै गर्दा अहिले चाहिँ नहुने किन रहेछ ?'

प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुन:स्थापना, प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न! यी बिषयमा — प्रश्न...

Posted by Bishnu Rimal on Saturday, February 27, 2021
  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १८:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया