१४ वर्षीय किशोरले ल्याए खण्डकाव्य

धनगढी उपहानगरपालिका–३ का १४ वर्षीय किशोर विभूति अधिकारीले ‘अद्भुत इन्द्रेनी’ खण्डकाव्य लेखेका छन् । खण्डकाव्यको एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालले लोकार्पण गरेका हुन् ।

१४ वर्षीय कविले अत्यन्त बौद्धिक एवं सूचनामूलक खण्डकाव्यको जन्म दिएको डा. नेपालले बताए । उनले भने, ‘नेपाली भूगोल, प्रकृति, संस्कृति, समाज र जीवनपद्धतिमा पाइने अद्भुत प्रकारको सप्तरङ्गी यस खण्डकाव्यले गहिराइमा पुगेर उतारेको छ ।’

उनले सम्भवतः यति सानै उमेरमा छन्दोबद्ध खण्डकाव्य लेख्ने नेपालमै उनी पहिलो कवि हुन सक्ने बताउँदै उनको अद्भुत क्षमताको प्रशंसा गरे ।

कार्यक्रममा कैलाली जन पुस्तकालयका अध्यक्ष संस्कृतिविद् डा. टिएन जोशीले विभूति अधिकारीमा विलक्षण प्रतिभा भएको बताउँदै उनको कृति उत्कृष्ट काव्य भएको बताए । उनले भने, ‘सुदूरपश्चिमबाट काव्यको दियो बलेको छ । विभूतिको प्रतिभालाई राज्यले कदर गर्नु पर्छ ।’

कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार पदमराज जोशी ‘प्रभात’ प्राज्ञ कवि वासुदेव पाण्डेय र कवि दीपक खनाल र सिद्धार्थ एकेडेमीका प्राचार्य सिबी चन्दले पनि बालकवि विभूतिको खुलेर प्रशंसा गरे ।

१४ वर्षीय बालकवि विभूतिको यो खण्डकाव्यका बारेमा धेरै विद्वानहरूले प्रतिकृया दिँदै विभूतिको विलक्षण प्रतिभाप्रति खुसी व्यक्त गरे । धनगढीकै सिद्धार्थ शिशु सदनमा कक्षा ९ मा अध्ययनरत विभूतिले शास्त्रीय छन्द विधामा खण्डकाव्य तयार पारेको बताए । उनले भने, ‘अद्भुत इन्द्रेनी खण्डकाव्यमा ३४७ श्लोकमा विशाल नेपालको भूगोल, नेपाली समाज र संस्कृतिलाई उतार्ने प्रयास गरेको छु ।’



‘अद्भुत इन्द्रनी’ मा अधिकारीले शार्दूलविक्रीडित, अनुष्टुप, मधुमाधवी, शिखरिणी र स्रग्धारा गरी पाँच शास्त्रीय छन्दको प्रयोग गरेका छन् । रामप्रसाद अधिकारी उपाध्याय र गायत्री भट्टराईका छोरा विभूतिको २०६३ साउन ५ गते सुदूर पूर्व इलाममा जन्म भएको थियो । विभूतिले विभिन्न पत्रपत्रिकामा समेत कथा, कविता बेला बेला लेख्ने गरेका छन् ।



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया