गोविन्द केसीले भने : प्रधानमन्त्री ओली हत्यारा र भ्रष्ट हुन्, कठघरामा उभ्याऊँ
जुनसुकै बेला सत्याग्रह थाल्ने चेतावनी

प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको संज्ञा दिएका छन्। विज्ञप्ति निकालेर केसीले प्रधानमन्त्री ओलीलाई २०२८ सालदेखि २०२९ सालसम्म झापाका नौ जना सर्वसाधारणको हत्या गरेको गम्भीर आरोप लगाएका हुन्। 

झापास्थित बिएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन दिन लागेको विरोधमा उनले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको कडा आलोचना गरेका हुन्।

'झापास्थित बिएण्डसी अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गर्दछौं', उनले भनेका छन्, 'नैतिक रुपमा पतित, भ्रष्ट र आपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिन प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु पर्दछ।'

उनले अदालतले पनि हत्यारा करार गरिसकेका व्यक्तिको हातबाट देशलाई शासित हुनबाट जोगाउनुपर्ने तर्क गरेका छन्।  'अदालतले समेत व्यक्ति हत्यामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो', उनले भनेका छन्, 'यो मनन गरी अब यस्तो क्रमको अन्त्य गर्न पहलकदमी उठाउनै पर्दछ। एकजना सत्याग्रहीको नाताले त्यसको समेत नेतृत्व लिन हामी तयार छौं।' 

उनले प्रधानमन्त्री ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अनैतिक हर्कत गरिनु क्षम्य हुन नसक्ने जिकिर गरेका छन्। 'हाम्रो बारम्बारको चेतावनीका बाबजुद सरकारले निरन्तर त्यस्तो अवैध काम अघि बढाएकाले हामी विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं', उनले भनेका छन्।   

चिकित्सा शिक्षा ऐन अनुसार २०८० फागुनसम्म सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशका कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नै पर्ने उनले बताए। 'तर प्रधानमन्त्री ओलीले आफूनिकट माफियाहरूको इशारामा त्यस्तो काम अघि बढेका प्रतिष्ठानहरुको कामसमेत रोकेर राखेका छन्', उनले भनेका छन्, 'हामीसँग मेडिकल कलेज खोल्ने भनेर सम्झौता भएका कति ठाउँमा कामै शुरु हुन दिएका छैनन्।' 



केसीले आफ्नो भ्रष्ट र आपराधिक सञ्जाललाई राज्यको अंगमा समेत प्रधानमन्त्रीले विस्तार गरिसकेका दाबी गरेका छन्। 'हालै मात्र गरेका संवैधानिक नियुक्ति र त्यसमा आसिन हुन पुगेका उनका मतियारबाट देशलाई जोगाउनु पर्ने नागरिक दायित्व हामी सबैमा रहेको छ', उनले अगाडि भनेका छन्, अब केपी शर्मा ओली र उनको भ्रष्ट-आपराधिक सञ्जालबाट देशलाई मुक्त गर्नै पर्दछ। त्यसको थालनीका रुपमा सर्वप्रथम ओलीलाई नै प्रधानमन्त्रीबाट मुक्त गरी कानुनको कठघरामा ल्याउनुको विकल्प छैन।' 

प्रधानमन्त्रीले  प्रतिनिधिसभा विघटन गरी उदण्डतापूर्वक राज्यविरुद्धको कसुर गरेको आरोप पनि केसीले लगाएका छन्। 'उक्त कार्य संविधानमाथिको षड्यन्त्र भएको कुरा जान्दा जान्दै पनि सचेत नागरिक चुप लागेर बस्न मिल्दैन', उनले भनेका छन्, 'ओली र उनका मतियारलाई आफूले गरेको राज्यविरुद्धको अपराध वापत मुलुकी अपराध संहिता बमोजिम जवाफदेही बनाउनु पर्दछ।'



  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १७:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया