सरकारसँगको सहमतिपछि के गर्दैछ विप्लवको पार्टी ?
जेलमा पुगेर आफ्ना नेतादेखि अभिनेत्रीसम्मलाई भेटे

माओवादीबाट अलग एक समूह नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले ०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो। 

विप्लव समूह भनेर चिनिएको उक्त पार्टीका गतिविधिमाथि लगाएको प्रतिबन्ध सरकारले दुई वर्षपछि हटाएको छ। वार्ता गरेपछि विप्लवको नेपाल कम्युनिस्ट पार्टीले गत फागुन २१ गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गर्‍यो।  

वार्ता र सहमतिपछि सो पार्टीका महासचिव विप्लव सार्वजनिक भए। नवलपरासीबाट सार्वजनिक भएका विप्लव त्यही दिन काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग एउटै मञ्चमा उभिएर भाषण गरे। 

त्यसक्रममा विप्लवले वार्ता र सहमतिका लागि भएको तीन बुँदेमा आफूहरु प्रतिबद्ध भएको बताएका थिए। उनले भनेका थिए,‘यो सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान् आकांक्षा छन्। देशलाई सुन्दर बनाउने सपना छ ।’

सरकारसँग गरेको ३ बुँदे सहमतिमा विप्लव समूहले राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, विप्लवले राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने, बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने लगायतका विषयहरु समेटिएका छन्। 

एकीकृत जनक्रान्तिको नाराका साथ सशस्त्र संघर्ष गर्ने लाइनमा अघि बढिरहेको विप्लवको पार्टी सशस्त्र क्रान्तिको घोषणा गर्न सकेन। शान्ति पूर्णरुपमा गतिविधि गर्न प्रतिवद्ध रहेको घोषणा विप्लवले प्रधानमन्त्री, गृहमन्त्री सँगै मञ्चमा बसेर गरे। 



सरकारसँगको सहमतिपछि अब विप्लवले लिने राजनीतिक लाइन कस्तो हुन्छ भन्ने चासो धेरैमा देखिन्थ्यो। प्रधानमन्त्रीसँगको संयुक्त सभामा विप्लवले गोलमटोल भाषण गरे। ऐतिहासिक, अग्रगामी, जनपक्षीय यस्ता शब्द प्रयोग गरेका उनले आफ्ना भावी कदमबारे कुनै शब्द उच्चारण गरेनन्। 

सरकारसँगको सम्झौतालाई विप्लव समूहले आफ्ना गतिविधि फुकुवा गराउने रणनीतिको रूपमा लिएको भन्दै आगामी दिनमा उनीहरुका गतिविधि शान्तिपूर्ण हुनेमा आशंका व्यक्त गरिरहेका छन् धेरैले। 



विप्लवले सरकारसँग सम्झौता गरेको करिब ३ साता पुग्न लागेको छ। अहिले के गरिरहेको छ त विप्लवको नेपाल कम्युनिस्ट पार्टी ?

विप्लवको बाटो 

सरकारसँग सहमति गरेपछि एकीकृत जनक्रान्तिबाट नयाँ जनवाद ल्याउने विप्लवको राजनीतिक लाइन अन्योलमा छ। अहिले आफूहरु राजनीतिक भेटघाट र योजना बनाउन लागेको विप्लव समूहका नेताहरुले बताइरहेका छन्। 

सरकारसँगको वार्ता टोलीका सदस्य रहेका दीपक चलाउने फागुन २१ गतेको सहमतिलाई राज्यसँग भएको एक सहमतिका रुपमा दिनुपर्ने बताउछन्। 

अबका दिनमा आफूले उठाएका एजेण्डाका बारेमा विचार मिल्ने राजनीतिक दलहरूसँग सम्वाद र अन्तक्रिया गर्ने चलाउने सुनाउँछन्। ‘अर्को, हाम्रो एजेन्डालाई जनताबीच विविध कार्यक्रमका रुपमा लैजान्छौँ’, उनी भन्छन्। 

सरकारप्रति शंका 

सहमतिका क्रममा सरकारले गरेका प्रतिवद्धता पूरा हुनेमा विप्लव समूह आश्वस्त छैन। ३ बुँदे सम्झौतामा विप्लवका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने र उनीहरुलाई रिहा गर्ने उल्लेख छ। सहमतिपछि गृह मन्त्रालयले पनि विप्लव नेकपाका नेतालाई रिहा गर्न लागि सर्कुलर जारी गरिसकेको जनाएको छ। 

तर सरकारसँगको सहमतिपछि धर्मेन्द्र बास्तोला बाहेक अन्य बन्दी छुटेका छैनन्। केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि संखुवासभा जिल्ला कारागार खाँदबारीमा छन्। 

लामासहित विप्लवका १० कार्यकर्ता खाँदबारी कारागारमै छन्। खाँदबारी कारागारमा संखुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता छन्।

अदालतको आदेश नआएका कारण उनीहरु रिहाइ हुन नसकेको प्रशासनको भनाइ छ।  बम विस्फोट गराएको अभियोगमा पक्राउ परेका विप्लवका दाजु चन्द्रबहादुर चन्द चितवनको भरतपुरस्थित कारागारमा छन्। 

ललितपुरको नख्खु कारागारमा रहेका नेता हेमन्त प्रकाश वली पनि छुट्न सकेका छैनन्। सरकारसँग सहमति भएपनि नेता, कार्यकर्ता रिहाइ गर्न भइरहेको ढिलाइले राम्रो संकेत नगरेको चलाउने बताउँछन्। 

फरकधारसँगको कुराकानीका क्रममा उनले भने, ‘हामीले सरकारलाई ठूलै आशंका त गरेका छैनौं। तर, यसले राम्रो संकेत भने गरेन।’

गृह मन्त्रालयबाट सर्कुलर नै भइसक्दा पनि रिहाइमा सरकारले देखाएको बेवास्ताले केही आशंका जन्माउने उनको भनाइ छ। 

विप्लवसँग गरेको प्रतिवद्धताप्रति सरकार प्रष्ट छैन भन्ने अवस्था अहिले नै नदेखिएको वाम विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ बताउँछन्। ‘सम्झौता गर्दा दुई तीन वटा चरणमा जेलबाट छुट्ने भनेको रहेछ,’ उनले भने, 'मुद्दा लागेका तर फैसला नभइसकेकाले, अर्को पक्राउ परेका तर मुद्दा लागि नसकेका, तेस्रो चाहिँ मुद्दाको फैसला भइसकेका, यी तीन प्रकारका बन्दीलाई।'

यो हेर्दा अदालतबाट फैसला भइसकेका बन्दीलाई छुटाउन समय लागेको हुनसक्ने आहुतिको बुझाइ छ। अहिले नै सरकारप्रति शंका गरिहाल्न नहुने उनी बताउँछन्। 

अलमल उस्तै

विप्लवको पार्टीको अबको लाइन यही हो भन्ने अवस्था अहिले नदेखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। विप्लव समूह अहिले अन्धकारमै रहेजस्तो देखिएको राजनीतिक विश्लेषक हरि रोकाको भनाइ छ। 

‘उहाँहरुले जुन समय रोज्नुभयो, हुन त उहाँहरुका लागि यो समय, त्यो समय भन्ने कुरा भएन्। जसले प्रतिबन्ध लगाएको थियो उसले फुकुवा गर्छु भनेपछि राम्रै पनि हो’ रोका भन्छन्, ‘अहिलेसम्म उहाँहरुले आमसभा तथा अन्तरवार्तामार्फत बोलेको कुरा हेर्दा क्लियर भएको देखिँदैन।’

केही नेता आफ्ना व्यक्तिगत कुरा राखेको भएपनि आधिकारिक के हो भन्नेमा प्रष्टता नदेखिएको रोका बताउँछन्। 

विप्लव समूहमाथि लागेको प्रतिबन्ध मात्र हटेको र अरु केही राजनीतिक विषय नफेरिएको आहुतिको भनाइ छ। सरकारसँग सम्झौता गर्दा राजनीतिक एजेन्डाहरूमा कुनै छलफल नै नभएको उनले बताए। ‘उहाँहरुले पहिलादेखि जे भन्नुभएको छ। त्यो भनिराख्नु भएको नै छ’ आहुति भन्छन्, ‘थप कुरा भनेको जनमत संग्रह चाहिन्छ भन्नुभएको छ, त्यति नै त हो नी।’

सार्वजनिक भएपछि विप्लव

२१ फागुन बिहानै विप्लव सार्वजनिक भए। सरकारी टोलीसँग आफूपक्षीय नेताहरुले गरेको वार्तापछि उनी नवलपरासीबाट सार्वजनिक भएका थिए। उनी काठमाडौं भित्रिए। जिल्लाको पहाडी क्षेत्रबाट बिहान ३:०० बजे देवचुली नगरपालिका आइपुगेका उनी केहीबेर त्यहाँ सहिद परिवारसँग रहे। 

उनी प्रहरी सुरक्षासहित काठमाडौं छिरे। काठमाडौँमा आएपछि बालुवाटारमा पुगेका उनी त्यहाँबाट सिधै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पुगे। ३ बुँदे सहमतिमा हस्ताक्षरसहित सरकारलाई धन्यवाद दिएका विप्लव त्यसको दुई दिन काठमाडौंमै रहे। 

फागुन २२ को बिहानै उनी नख्खु कारागार पुगे। त्यहाँ उनले संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध मुद्दामा कारागार चलान भएका आफ्ना नेता हेमन्त प्रकाश वलीलाई भेटे। उनी खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरुसहित नख्खु पुगेका थिए।

कारागारबाट फर्किएर विप्लव आफ्ना पूर्व सहकर्मीहरुलाई भेट्न गए। २२ गते दिउँसो उनले १० वर्षे जनयुद्धमा सँगै रहेका सहकर्मीहरुसँग भेट गरे। मोहन वैद्य, सिपी गजुरेल लगायतका नेताहरुसँग भेट गरेका थिए। 

यसअघि १४ पुसमा बनेको विप्लव समूहसहितको रणनैतिक मोर्चामा सहभागी रहेका वैद्य, गजुरेलसँगको उनको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरियो। 

त्यसपछि उनले अर्को भेट सोही दिन खुमलटारमा गरे। पूर्व सभामुख समेत रहेका जनयुद्धका सारथी कृष्णबहादुर महरासँग भेट गरे। प्रचण्ड निकट नेता मानिने महरासँगको भेटलाई धेरैले शंका र आशाको दृष्टिकोणबाट अथ्र्याएका थिए। 

कतिपयले विप्लव पुनः प्रचण्डसँग नजिकिन लागेको आँकलन गरेका थिए। 

शान्ति प्रक्रियामा आउनेबित्तिकै राजनीतिक भेटघाटलाई तीब्र बनाएका विप्लवले एउटा अलि फरक भेट गरे। २४ फागुनमा अभिनेत्री रेखा थापासँग विप्लवको भेट भएको खबर थापाले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्। यो भेटलाई धेरैले आ-आफ्नै तरिकाले व्याख्या गरे।

त्यसपछि उनी हानिए, चितवनतर्फ। भरतपुरमा पुगेर कारागारमा रहेका आफ्ना ६० वर्षीय दाजु चन्द्र बहादुर चन्दलाई भेटे उनले।  

चितवनबाटै उनी आफ्नो जन्म गाउँ कपिलवस्तुको शिवनगर पुगे। त्यहाँ पुगेर उनले एक सभालाई सम्बोधन गर्दै ओली सरकारले लगाएको प्रतिबन्धमाथि खरो प्रश्न गरेका थिए। आफ्ना थुप्रै कार्यकर्तालाई झुटो मुद्दामा जेल हालिएका भन्दै उनले आक्रोश पोखेका थिए।

२५ फागुनमा शिवगढीमा आयोजित पार्टीनिकट अखिल नेपाल राष्ट्रिय महिला संघ क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गरे। जहाँ प्रचण्डले १९ अर्ब रूपैँयाको हिसाब देखाउनु पर्ने माग गरेका थिए। त्यसपछि उनी सार्वजनिक कार्यक्रममा देखा परेका छैनन्। 

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १९:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया