अन्जु जसले जन्माइन् संस्कारयुक्त अक्षरा

२०५७ सालको कुरा हो ।

अन्जु भट्टराई विराटनगरको एउटा स्कुलमा पढाउँथिन् । खोटाङबाट एसएलसी दिएर उनी परिवारसँग विराटनगर झरेकी थिइन्, उच्च शिक्षा पनि लिने हेतुले । 

सुरुमा त अन्जुले कानुन पढ्ने योजना बनाएकी थिइन् । तर, त्यही वर्षदेखि इन्टरमिडियट लेभलमा कानुन पढाउन छोडियो । कानुन पढ्न नपाएकी अन्जुले त्यसपछि निर्णय गरिन्, उनको सपनाको प्लान बीमा लाग्ने । त्यो प्लान बी थियो– शिक्षक बन्ने ।

अन्जुले आफू स्कुलमा पढ्दा नै एउटा सपना बनाएकी थिइन्– शिक्षक बनेँ भने म विद्यार्थीलाई नपिटी पढाउँछु । यस्तो सपना अन्जुले किन बनाएकी थिइन् भने जब उनका साथीहरुमाथि शिक्षकका लाठी बर्सिन्थे, उनको मन अमिलो हुन्थ्यो, खिन्न हुन्थ्यो उनलाई । अनि उनलाई लाग्थ्यो– नपिटी पनि त विद्यार्थीलाई पढाउन सकिन्छ ।

कानुन पढ्न नपाएकी अन्जु त्यति बेला आइकम पढ्न कलेज भर्ना भइसकेकी थिइन् । एक दिन कलेजमै हुँदा उनले सोचिन्– अब पढाउने सँस्कार परिवर्तन गर्नुपर्छ, आफैं शिक्षक भएर ।

अनि यो सोचेलगत्तै उनले घरनजिकैको स्कुलमा पढाउन थालिन्, शिशुदेखि एक कक्षासम्म । त्यहाँको त्यो स्कुलमा त झन् विद्यार्थीहरुलाई बढी पिटिँदो रहेछ ! यसलाई पनि परिवर्तन गर्ने सोच बनाइन् अन्जुले । त्यसपछि नै शिक्षण उनको जीवनमा थप गाढा गढेर सपना बन्यो, पेशा बन्यो ।



त्यति बेला अन्जुले स्कुलमा पढाउँदा हरेक शिक्षकको हातमा लौरो अनिवार्य हुन्थ्यो । उनी चाहिँ कक्षामा छिर्दा लौरी नलिइ छिर्ने भइन् । आफ्नो सपनाको पहिलो स्टेपले अन्जुलाई खुसी त बनायो नै, विद्यार्थीहरुले पनि उनलाई खुब मन पराउन थाले, सबै उनकै वरिपरि झुम्मिन थाले ।

डेढ वर्ष पनि भएको थिएन उनले पढाउन थालेको । उनलाई त त्यसपछि झन् लाग्न थाल्यो– संसारमा सबैभन्दा शक्तिशाली भाषा माया र शिष्टता पो रहेछ ।



एकातिर अन्जु आफ्नो कुरामा खुसी हुँदै गएकी थिइन्, अर्कोतिर त्यही स्कुलमा पढाउने शिक्षकहरुले उनलाई मन पराएनन्, उनले हातमा लौरी नलिएको मन पराएनन् । उनीहरुले उल्टै भन्न थाले– अन्जु मिसले लौरी नलिएर स्कुलको सँस्कार र अनुशासन तोड्नुभयो ।

फलतः उनलाई स्कुलले कारवाही गर्यो, स्कुलबाट उनलाई निकालियो । विद्यार्थी नपिटेका कारण अन्जुलाई स्कुलबाट निकालियो ।

‘मैले बच्चाहरुलाई पिटिनँ, कुटिनँ तर माया गरेर पढाएँ भनेर मलाई स्कुलबाट निकालियो,’ २० वर्षअघिको यो घटना केही दिनअघि अन्जुले आफैंले खोलेको स्कुल अक्षराको कम्पाण्डभित्र सम्झिइन् ।

२० वर्षअघिको त्यही घटनाले हो, अन्जुको मनमा इख पलाएको । त्यही घटनाले हो, शिक्षामा केही परिवर्तन गर्नुपर्छ भन्ने सोच अन्जुमा पलाएको । अनि त्यसैको प्रतिफल मान्न सकिन्छ, अहिले काठमाडौंका राम्रा स्कुलमध्येको एक अक्षरा स्कुल ।

‘त्यो घटनापछि मैले निधो गरेकी थिएँ,’ अन्जुले भनिन्, ‘विद्यार्थीहरुलाई पिटेर मात्र सिकाउन सकिन्छ भन्ने सोच बदल्नुपर्छ, सँस्कारमा विद्यार्थीहरुलाई पढाउनु पर्छ ।’

यही सपना बोकेर अन्जु काठमाडौं आइन्, बिहेवारी गरि । त्यति बेला अन्जु १९ वर्षकी मात्र थिइन् ।

अन्जुका पति पनि शिक्षा क्षेत्रमै काम गरिरहेका थिए । त्यसैले उनलाई आफ्नो सपना साकार बनाउन थप सहज भयो, त्यही सपनालाई उनले मलजल गर्न पाइन् ।

त्यही चाहना र सपना, उद्देश्य र महत्वाकांक्षाको प्रतिफल हो, अक्षरा स्कुल । 

अब त अक्षरा स्कुल सुरु भएको पनि १० वर्ष भइसकेको छ । १० वर्षअघि जुन सोच लिएर अन्जुले अक्षरा सुरु गरेकी थिइन्, अहिलेको अवस्था आइपुग्दा त्यसले सफलताका खुड्किलाहरु चढ्न थालिसकेको छ । सन् २०११ मा जम्मा ८६ विद्यार्थीबाट सुरु भएको अक्षरामा आज ६ सय विद्यार्थी छन् । ७ रोपनीबाट सुरु भएको अक्षरा आज २४ रोपनीमा विस्तार भएको छ ।

अनि अक्षरालाई अन्जुले चिनाएकी छिन्– सँस्कारयुक्त स्कुलका रुपमा ।

तर, अक्षरा आज सँस्कारयुक्त विद्यालय बन्नुमा अन्जुले स्कुल खोलेपछि पनि भोगेका सुखदुःख कम छैनन् । यसका लागि उनको मिहनेत कम छैन, आज अक्षराको यो पहिचानका लागि उनले पसिना बगाएकी छिन्, निकै धेरै दुःखका दिनहरु कटाएकी छिन् ।

र, यो मिहनेत र दुःख सुरु हुन्छ, उनी विराटनगरबाट काठमाडौं आएकै समयदेखि ।

काठमाडौं आएको वर्षदिनपछि हुनुपर्छ, उनको पहिलो सन्तानको जन्म भयो । त्यसको एक वर्षपछि अर्को सन्तान ।

दुई सन्तानकी आमा बन्दा अन्जु थिइन्, २१ वर्षकी मात्र । घरमा दुई छोराहरु भएपछि अन्जुले आफ्नो पढाइ, विभिन्न तालिममा पाउनु दुःख पाइन् । दुधे छोराहरुलाई घरमै छोडेर अन्जु पुग्थिन्, कलेज र मोन्टेसरी तालिम लिन । छोराहरुको सम्झनाले मात्र होइन, शारीरिक समस्याले पनि अन्जुलाई समस्या पाथ्र्यो ।

‘कतिपटक त मैले वासरुममा गएर स्तन निचोरेर दूध फालेँ,’ अन्जुले भनिन् ।

दोस्रो छोराको गर्भ बस्दा अन्जु कलेजमा पढ्थिन् । ‘ठूलो पेट देखेर साथीहरु बाटो छोड बाटो छोड आन्टी आउनुभो भनेर जिस्क्याउँथे,’ अन्जुले सम्झिइन्, ‘तर मैले मेरा सपनाहरुलाई तिलान्जली कहिल्यै दिइनँ ।’

दोस्रो छोरा भएपछि आफ्नो सपनाको बाटोमा हिँड्न अन्जुले दुई छोरालाई विराटनगरमा बाबुआमाको जिम्मा लगाइन् । ‘बुबाआमाले मलाई जीवनभर साथ दिनुभयो,’ अन्जुको लवजमा भावुकता मिसियो, ‘मेरा सपना पूरा गर्न उहाँहरुले केही पनि बाँकी राख्नु भएन ।’

छोराहरुलाई विराटनगरमा छोडेर त आइन् अन्जुले तर उनलाई यसले चैनसँग रहन दिएन । ‘महिला उद्यमी हुन्छु वा महिलाले केही गर्छु भन्ने सोच्न निकै कठिन रहेछ,’ अन्जुले भनिन्, ‘घर र अफिसको काम सम्हाल्न एउटी महिलालाई निकै कठिन रहेछ ।’

‘महिलाले आफ्नो जीवनमा आफूलाई मात्र सोचेर नहुने,’ उनले भनिन्, ‘आफू खुसी हुनु त छँदै छ, समाज र परिवारलाई पनि खुसी बनाउनै पर्ने ।’

एकातिर सन्तानलाई विराटनगरमा छोड्नुको पीडा थियो, अन्जुमा । अर्कोतिर उनले जुन तौरतरिका अपनाएर विद्यार्थीहरुलाई पढाएकी थिइन्, त्यसले राम्रो नतिजा पनि दिइरहेको थियो । अनि उनलाई थप आँट आयो, पढाउने सँस्कारलाई परिवर्तन गरौँ । यसका लागि उनले श्रीमानसँग पनि छलफल गरिन् ।

आफ्नै श्रीमानको स्कुलका केही कुराहरु उनलाई चित्त बुझेन । 

अनि उनले आफैं निर्णय गरिन्– एउटा इन्स्टिच्युट खोल्ने ।

‘म एउटा यस्तो इन्स्टिच्युट खोल्न चाहन्थेँ,’ अन्जुले भनिन्, ‘जहाँ बच्चाहरुलाई संस्कारयुक्त शिक्षा र परामर्श दिन सकियोस् ।’

फलस्वरुपः उनले दश कक्षामाथिका विद्यार्थीलाई शैक्षिक परामर्श र दश तललाई भर्नाका लागि तयारी कक्षा दिने कन्सलटेन्सी खोलिन् ।

सुरुमा दुःखहरु थिए, तर विस्तारै यसले राम्रो गर्न थाल्यो । उपत्यकाका विभिन्न स्कुलमा भर्नाका लागि उनले ५ सयभन्दा धेरै विद्यार्थीहरुलाई भर्ना दिन थालिन् । अनि यसले थप उत्साह थप्यो अन्जुलाई । 

त्यसपछि उनी एउटा स्कुल खोल्ने परामर्शमा लाग्न थालिन् । उनका श्रीमानले पनि उनलाई सघाउने भए । लामो सघन छलफलपछि उनले स्कुलको मूलमन्त्र जुराइन्– संस्कारयुक्त शिक्षा ।

अब बाँकी रह्यो स्कुलको नाम जुटाउने काम । 

‘नाम खोज्नकै लागि नेपाली र अंग्रेजी दुवै शब्दकोषका हजारौँ शब्द पढेँ,’ अन्जु हाँसिन्, ‘२–३ वटा डायरी नामै नामले भरिए ।’ 

झन्डै तीन महिना लाग्यो, अन्जुलाई आफ्नो स्कुलको नाम जुराउन । तीन महिनाको छलफल र शब्दहरुको चयनपछि उनले स्कुलको नाम न्वारन गरिन्– अक्षरा ।

अब एउटा आकार हासिल गर्यो, अन्जुको स्कुलले । अनि उनले खोज्न थालिन्, विद्यार्थी । 

‘तर, विद्यार्थी खोज्ने काम त साह्रै गाह्रो रहेछ,’ अन्जुले भनिन्, ‘नयाँ स्कुललाई अभिभावक पत्याउँदै नपत्याउँदै । उहाँहरुलाई बुझाउनै गाह्रो ।’

पहिलो वर्ष चार कक्षासम्म भर्ना लिएको थियो, अक्षराले । त्यो वर्ष उनीहरुले ८६ विद्यार्थी मात्र जम्मा गरे । पहिलो वर्ष निकै कम विद्यार्थी हुँदा अन्जुको मन खल्लो हुनु पर्ने हो तर त्यस्तो भएन । उनले त थप मिहनेत गर्न थालिन्, थप आँटका साथ काम गर्न थालिन् ।

क्वान्टिटी होइन, क्वालिटीमा विश्वास गर्न थालिन् उनले । त्यसलाई नै अगाडि बढाउँदै गइन् उनी । फलतः अहिले अक्षरामा ६ सय धेरै विद्यार्थीले शिक्षा लिइरहेका छन् । 

१० कक्षासम्म अध्यापन गराइरहेको छ अहिले यो स्कुलले । अनि यसको अध्यापनको तौरतरिका निकै फरक छ, पठनपाठनको सँस्कार अरु विद्यालयहरुको भन्दा राम्रो र फरक छ ।

‘२० वर्षको शिक्षण अनुभवमा मैले विद्यार्थीहरुमा देखेको सबैभन्दा मुख्य समस्या सँस्कारको कमी हो । सँस्कार न स्कुलमा पठाइन्छ न त उसको पहिलो विद्यालय घरमा,’ अन्जुको बुझाई छ, ‘हाम्रो शिक्षाले न अरुलाई सम्मान गर्न सिकाउँछ र आफैँलाई । प्रचुर सम्भावना र क्षमता भएका विद्यार्थीमा पनि संस्कार, व्यवहारिकता र जीवनोपयोगी शिक्षाको कमी हुन्छ ।’

उनले अगाडि भनिन्, ‘एउटा बच्चा उच्च शिक्षामा पुग्दसम्म पनि उसलाई सामान्य कुरा थाहा हुन्न । कतिसम्म भने उसलाई खाना पकाउन त परको कुरा खाना कहाँबाट आउँछ भन्ने पनि थाहा हुँदैन ।’

‘अक्षरा अरुभन्दा यही मानेमा फरक छ । हामी बच्चाहरुलाई ज्ञानसँगै संस्कार र सीप पनि दिन्छौँ । जस्तो कि, एक कक्षाको बच्चाले खाजासम्म बनाउन सक्छ । हामी उसले बनाएको खाजा खुवाउन उसको अभिभावकलाई स्कुलै बलाउँछौँ । दास्रो कक्षाको बच्चालाई हामी खाना कसरी प्लेटमा कसरी आयो भनेर सिकाउँछौँे । उसलाई किसानसँग भेटाउनेदेखि लिएर अन्तर्वार्ता नै लिन लगाउँछौँ ।’

दुःख र सुख, सपना र आत्मविश्वास, आँट र विवेकका कारण जन्मिएको अक्षराले अहिले जे अवलम्बन गरिरहेको छ, त्यसले अन्जुलाई आवश्यक खुसी दिएकै छ । आज उनले जुन स्कुल बनाएकी छिन्, त्यो अन्जुको २० वर्षदेखिका सपनाको मूर्तरुप हो ।

हो, अब सँस्कारयुक्त शिक्षा भनेको के हो भन्ने बुझाउन उनलाई सजिलो पनि भएको छ । अनि अब उनमा अर्को सपना जन्मिएको छ– नेपालका गाउँगाउँमा यसलाई प्रवद्र्धन गर्ने । 

उनी परपर देखिने क्षितिजहरुसम्म यसलाई पुर्याउन चाहन्छिन्, नयाँ क्षितिज जब देखिन्छ, त्यहाँ पनि पुग्न चाहन्छिन् ।

  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार १६:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया