logo-img

अमेरिकामा राजदूत खतिवडाको आलोचना, नेपालीले सोधे : दूतावासको फोन उठ्दैन, के को घुम्ती शिविर?

नेपालमा अर्थमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेर अमेरिका उडेका डा. युवराज खतिवडा त्यहाँ पनि आलोचनाको घेराबाट माथि उठ्न सकेका छैनन्।

प्रधानमन्त्री ओलीको प्रियपात्र बनेर गएका उनले ल्याएका तीनवटा बजेटले प्रशंसा भन्दा धेरै आलोचना खेपेका थिए। नेकपाको घोषणापत्र भन्दा बाहिर गएर बजेट ल्याएको भन्दै आलोचना खेपेका उनी राष्ट्रियसभा सदस्यको आयु तोकिने गोला प्रथामा दुई वर्ष मात्रै टिपेपछि प्रधानमन्त्रीलाई रिझाएर अमेरिकाका लागि नेपाली राजदूत बनेर त्यसतर्फ गएका थिए। 

नेपालमा अर्थमन्त्री हुँदा जस्तै अमेरिकामा पनि उनको व्यवस्थापन क्षमता र निर्णयलाई त्यहाँस्थित नेपाली समुदायको आलोचनाको सिकार बनिरहेका छन्। नेपाली समुदायको भरोसाको एक मात्रै ठाउँ नेपाली दूतावासमा कहिल्यै फोन नउठ्ने गुनासो बढिरहेका बेला खतिवडाको एउटा कदम आलोचनाका लागि पर्याप्त भएको हो। 



नेपाली समुदायले दूतावासमा फोन नउठ्ने, इमेलको जवाफ समेत नदिइने जस्ता समस्याबारे पटक पटक प्रश्न उठाउँदा पनि सुनुवाइ हुँदैन। तर अमेरिका पुगेका राजदूत खतिवडाले दूतावास भित्रको समस्या हल गर्न छाडेर घुम्ती शिविर चलाउन थालेपछि नेपाली समुदाय रिसाएका हुन्। 

दूतावास कार्यालय भित्रकै कर्मचारी गैरजिम्मेवार रहेका बेला यही अप्रिल महिनाभर त्यहाँस्थित सेवाग्राहीलाई सेवा दिने नाममा खतिवडाले घुम्ती कन्सुलर सेवा शिविर थाल्ने घोषणा गरेका थिए। उनको यो निर्णयको सूचना दूतावासले जारी गरिसकेको छ।

दूतावासको योजना अनुसार सिकागो शहरमा अप्रिल १७ र १८ तारिखमा घुम्ती शिविर हुनेछ। उक्त शिविरबाट इलिनोई, आयोवा, विस्कन्सन, इण्डियाना, मिसिगन, केन्टकी र मिजौरीलगायत राज्यस्थित नेपालीसहित विदेशी नागरिकलाई पनि कन्सुलर दिने दूतावासको योजना छ।



उक्त शिविरमा राहदानी नवीकरण, भिसा, एनआरएनए परिचयपत्र, अधिकृत वारिसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिसहितका सेवा दिने दूतावासले जनाएको छ।

दूतावासको यो निर्णय कार्यान्वयनको ठेक्का पनि अमेरिकाकै एक पसललाई दिइएको भन्दै नेपाली समुदाय रिसाएका छन्। एकजना नेपाली सानु बाबु सिलवालले राजदूत खतिवडा र दूतावास कर्मचारीको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै चर्को विरोध जनाएका छन्। 



‘हुँदा हुँदा दूतावासको अध्यागमनको काम एउटा भात पसललाई जिम्मा लगाएछन्। भात पसले भाडामा मान्छे लगाएर ठूलै क्रान्ति झैँ आफ्नो भात पसलमा दूतावासको इमिग्रेसनको अड्डा बस्न लागेकोमा अङ्ग्रेजीमा उर्दी लगाउँदैछ । लाज, शरम पनि छैन खतिवडाजी,तपाईंसँग ?', उनले खतिवडालाई सोधेका छन्, 'सर्वसाधारणको फोन नउठाउने, सामान्य काम गर्न नसक्ने तपाईंले एउटा भात पसलमा अध्यागमनको अड्डा राख्न मिल्छ? लाज लाग्दैन तपाईंलाई ? दूतावासको काम भात पसलेले गर्ने हो भने तपाईं यहाँ दूतका रुपमा किन ?' 

उनी यतिमा मात्रै रोकिँदैनन्। अमेरिकास्थित वाणिज्यदूतहरूमाथि पनि प्रश्न उठाइका छन्। 'भात पसले चाकडी गर्दैछ, डलर खर्च गरेर वाणिज्य दूत बन्‍न। तपाईंका तोरी लाहुरे वाणिज्यदूतहरू कता छन् ?', उनले सोधेका छन्, 'भूकम्प, हवाईजहाज र दूत भवनमा रकम कुम्ल्याउने भ्रष्ट पूर्वराजदूत कार्कीका कारण बदनाम नेपाली दूतावास र राजदूतको कर्ममा सुधार ल्याउने ठानेको थिएँ। तर यी पनि भ्रष्ट कार्कीभन्दा झन् गए गुज्रेका हुने भए।’

सिलवालले दूतावासको फोन नउठ्ने र राजदूतलाई खोज्दा पनि नभेटिने बताएका छन्। उनले दूतावासका कर्मचारीले अन्तै पार्ट टाइम जागिर गर्ने गरेको पनि बताएका छन्। 

करोडौं खर्चेर खरिद गरिएको राजदूत निवास पनि बेकामे भएको उनले बताएका छन्। ‘कोही नेपालीलाई दुःख पर्यो भने दूतावास र दूतबाट सहयोग मिल्दैन । बडाहाकिमहरू अन्तै डलर छाप्न, भान्से र ड्राइभर भित्र्याउने नाममा मानव तस्करीमा लिप्त छन्', उनले भनेका छन्, 'नयाँ राजदूत खतिवडा सारा नेपाली संघ संस्थामा बदनाम भएर, ठगी, मानव तस्करी, हण्डीलगायतका धन्दामा लिप्त भई बदनाम भएका, खादा माला, नाम र पहिचानका लागि मरिहत्ते गर्ने दलाल र ठगहरूको चिप्ला भलाकुसारी एवम् चाप्लुसीमै ब्यस्त छन्। तिनका जुम र इलेक्ट्रोनिक बैठकमा झुल्किनेबाहेक नेपाली समुदायको हितमा केही हुनेवाला छैन।'

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १३:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया