'ओलीका राष्ट्र र जनघाती निर्णयले दृढ पाइला चाल्नै पर्ने स्थितिमा पुगेका हौँ'

नेकपा एमालेका कारबाहीमा परेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती तथा जनघाती निर्णयका कारण आफूहरु दृढ पाइला चाल्नै पर्ने अवस्थामा पुगेको बताएका छन् । 

रावलले सामाजिक सञ्जालमार्फत अ‍ोलीले शुक्रबार गरेको मन्त्रिपरिषद पुनर्गठनको विरोध गर्दै उक्त कदम राष्ट्रघाती, जनघाती र लोकतन्त्र तथा संविधानको मर्म र भावनाविपरीत भएको बताए । 

नेता रावलले ओलीले आफूसँग ५ मन्त्रालय राखेर ’वाह्य शक्ति’लाई मक्ख पार्न अरू मन्त्रालय जसपा (महन्थ) लाई धुप वत्ति गर्नसक्ने कुरा ट्विट गरेको र त्यो हिजोको मन्त्रिपरिषद् हेरफेरबाट पुष्टि भएको बताए ।  

कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद पुनर्गठन संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशका विरुद्धमा भएको रावलको भनाइ छ ।

रावलले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुपनि राष्ट्रघात भएको बताए । उनले लेखेका छन्, 'दुईपटक संविधानसभाको निर्वाचन गरी देश र जनताले ठूलो मूल्य चुकाएर जारी गरेको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात हो । यसमा रहेका लोकतन्त्रघातीहरूको नाम सार्वजनिक होस् ।' 

प्रधानमन्त्री ओलीका यस्तै देशघाती कदमका कारण आफूहरुले नयाँ कदम चाल्न बाध्य भएको रावलले बताए । उनले सबै देशभक्त लोकतन्त्रवादी एकजुट भएर देश, लोकतन्त्र र जनताको अधिकार तथा हितको रक्षाका लागि अग्रसर हुन पनि आह्वान गरेका छन् । 



 



  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १०:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया