सामाजिक सुरक्षा कोषविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका छन् । शनिबार जनकपुर बैंकर्स क्लबले जनकपुरधाममा विरोध र्याली निकालेका छन् । 

स्थानीय मिल्स एरियाचोकबाट सुरु गरिएको विरोध र्याली भानुचोक, शिवचोक, जनकचोक हुँदै जानकी मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । 

र्यालीमा जनकपुरधामस्थित सिद्धार्थ बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, बैंक अफ काठमाण्डु, सेन्चुरी बैंक, सिटिजन्स बैंक, एनसिसी बैंकलगायत बैंकका प्रतिनिधिको सहभागिता थियो ।
 
खाईपाई आएको सेवा–सुविधासमेत खोसिने गरी कोषमा आवद्ध गराउन लागिएको भन्दै वित्तीय क्षेत्रका कर्मचारी असन्तुष्ट बनेका छन् । कोषले असार मसान्तभित्र आबद्ध हुन सार्वजनिक सूचना निकालेपछि कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।

जनकपुर बैंकर्स क्लबका सचिव सतीशकुमार कर्णले विद्यमान व्यवस्था संशोधन नभएसम्म कोषमा आबद्ध हुन नसकिने भन्दै विरोध प्रदर्शन गरेको बताए । 

आइएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्मविपरीत बैंक, बिमा तथा वित्तीय संस्थाका कर्मचारीको ‘राइट टु अर्गनाइजेसन एण्ड राइट टु कलेक्टिभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुने कर्मचारीको ठहर छ । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने भएकोले आन्दोलनमा उत्रिनुपरेको सिद्धार्थ बैंक लिमिटेड जनकपुरका शाखा प्रबन्धक सतीशकुमार कर्णले बताए ।



योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्था संशोधन नगरी बलजफ्ती गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला–पारिश्रमिकबाट वञ्चित श्रमिकलाई सो योजनाले नसमेटेकोले आन्दोलनमा उत्रिनुपरेको कर्मचारीले बताएका छन् ।

उनीहरुले आफूहरुको मागलाई यथाशीघ्र सम्बोधन नगरिए अझ सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।



  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार १७:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया