भीम विश्वकर्मा मृत्यु प्रकरण : जातीय विभेदको नाममा कसले गर्दैछ राजनीति?
आन्दोलनमा दलित अधिकारकर्मी संघसंस्था

गत २८ असोजमा चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको कुटपिटबाट मृत्यु भयो । ​दुर्गाचोकमा दसैँको नवमीका दिन स्थानीय दिलिप श्रेष्ठ र सीताराम बस्नेतको कुटपिटबाट गम्भीर घाइते भएका विश्वकर्माको चितवन मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भइसकेको थियो ।

घटनापछि चितवन प्रहरीले श्रेष्ठ र बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तर, धेरैले यो विषयलाई जातीय विभेदसँग जोडेर राजनीतिकरण गर्न खोजेका छन् । 

अहिले सत्तारुढ पाँच दलीय गठबन्धन, विपक्षी दल नेकपा एमालेसँगै विभिन्न दलित अधिकारकर्मी संघसंस्थाले जातीय विभेदका कारण विश्वकर्माको हत्या भएको भन्दै आन्दोलन नै गर्दै आएका छन् । 

दलित महिला संगठन, संयुक्त दलित युवा अभियान दलित नागरिक समाजलगायतका दलित अधिकारकर्मी संघसंस्थाले सडकमा नै विरोध प्रदर्शन गर्दै आएका छन् ।त्यस्तै, सत्तारुढ गठबन्धन सम्बद्ध दलित राजनीतिक भातृ संघसंगठनहरूले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।



नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्मा, दलित मुक्ति मोर्चाका संयोजक दलजीत श्रीपाइली, दलित मुक्ति संगठनका अध्यक्ष गणेश विश्वकर्मा, समाजवादी दलित मुक्ति संगठनका उपमहासचिव सन्तोष घतानी र जातीय समता समाजका महासचिव भक्त विश्वकर्माद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा विश्वकर्माको हत्याको मूल कारण जातीय छुवाछुत र भेदभाव नै भएको दाबी गरिएको छ । 

उनीहरूले उक्त घटनामा जातीय छुवाछुत र भेदभाव ऐन, २०६८ बमोजिमसमेत मुद्दा चलाउन माग गरेका छन् । पाँच दलीय गठबन्धनमा आबद्ध राजनीतिक संगठनले स्थानीय कमिटीका प्रतिनिधिहरूले स्थलगत भ्रमण गरेर दिएको सूचनाको आधारमा जातीय विभेदका कारण विश्वकर्माको हत्या भएको दाबी गरेका छन् । 



‘मन्दिर निर्माण गर्दादेखि नै दलितहरूलाई पूजापाठ गर्न बन्देज गरिएको थियो । सो असन्तुष्टिलाई उजागर गर्दै यो वर्षको दसैँको नवमीको दिनमा भीमबहादुर विश्वकर्माले दुर्गा मन्दिरको आँगनमा जम्मा भएका स्थानीयका बीचमा गएर यस मन्दिरमा हामीले पनि बोकाको बली दिन पाउने कि नपाउने? भनेर प्रश्न गर्दा स्थानीय सीताराम बस्नेतले दलित भएर असम्भव कुरा गर्छस् भन्दै फलामको पाइपले मरणासन्न हुने गरी कुटपिट गरे । कुटाईबाट घाइते भएका भीमबहादुर स्थानीय पल्लबी फार्मेसीमा प्रवेश गरेर केही भन्न खोज्दा सो फार्मेसीका सञ्चालक दिलिप श्रेष्ठले समेत इटाले टाउकोमा हिर्काएर बेहोस बनाएका थिए । बेहोस अवस्थामै श्रेष्ठले आफ्नै गाडीमा हालेर चितवन मेडिकल कलेज लैजादा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेका थिए,’ उनीहरूले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

चितवन प्रहरी तथा स्थानीयले भने यो घटनामा जातीय विभेदको कुनै कारण नभएको बताएका छन् । अहिलेसम्मको अनुसन्धानको क्रममा जातीय विभेदका कारण घटना भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी सूर्यबहादुर थापाले बताए । 

मदिरा पिएर होहल्ला गर्दै सडकमा हिडिँरहेका भीमबहादुरसँग भएको सामान्य वादविवादले अर्कै मोड लिन पुग्दा उनको मृत्यु भएको देखिएको डिएसपी थापाले बताए । 

घटना के भएको थियो? 

२८ गते बिहान भीमबहादुर दुर्गा चोकतिर निस्किए । घरबाट नजिकै रहेको घटनास्थलतिर उनी मदिरा पिएर होहल्ला गर्न थाले । चोक नजिकै बस्नेतको किराना पसल छ । रक्सीले मातेका उनले बस्नेतको पसलमा नै गएर होहल्ला गर्नुका साथै अपशब्द बोल्न थाले । 

होहल्ला गर्न थालेपछि बस्नेतले आफ्नो पसलबाट लखेट्न खोजे । तर, उनी जान मानेनन् । त्यसपछि बस्नेतले उनलाई लखेट्न प्लास्टिकको पाइपले हानेर बाहिर पठाए । 

पसलबाट बाहिर आएका उनी घर नगएर नजिकै रहेको दिलिप श्रेष्ठको फार्मेसीतिर पुगे । त्यहाँ पनि उनले होहल्ला गर्नुका साथै जथाभावी बोल्न थाले । त्यसपछि श्रेष्ठले उनलाई मुक्का हाने । 

मुक्का लागेर उनी सडकमै लडे । सडकमा लडेपछि उनको टाउको सडकमै बजारिन पुग्यो । सडकमा ढलेका भीमबहादुुर बेहोस भए । त्यसपछि श्रेष्ठ आफैँले उनलाई चितवन मेडिकल कलेज लगे । जहाँ उनको मृत्यु भइसकेको कुरा चिकित्सकले बताए । 

भीमबहादुरले सामान किन्न भनेर बाहिर गएको कुरा घर परिवारलाई भनेका थिए । सामान किन्न हिँडेको बुबामाथि कुटपिट भएको कुरा छोरा किसनले थाहा पाए ।  

बुबामाथि कुटपिट भएको र अस्पताल लगेको जानकारी पाएपछि छोरा किसन र श्रीमती चितवन मेडिकल कलेज पुगे । जहाँ भीमको मृत्यु भइसकेको थियो । उनको मृत्युपछि श्रेष्ठ आफैँले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

यो सबै कुरा दुवै जनाले प्रहरी समक्षको बयानमा भनेका थिए । 

जातीय विभेद देखाएर आन्दोलन 

भीमबहादुरको घटनालाई लिएर अहिले धेरैले जातीय विभेदका कारण उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् । घटनाका विषयमा मृतक विश्वकर्माका छिमेकी कोपिला परियारले मन्दिरसँग कुनै सम्बन्ध नै नरहेको प्रष्ट पारेकी छन् । 

उनले भनेकी छिन्, ‘यो घटना मन्दिरको विषयसँग सम्बन्धित छैन । मन्दिरको कुरामा जानै हुँदैन । घटना जे कारणले भएको थियो त्यो सबै आरोपितहरूले स्वीकार गरिसक्नु भएको छ । यसलाई मन्दिरमा पस्न खोज्दा हत्या गरिएको भन्ने कुरा अफवाह मात्र हो ।’

मन्दिरमा दलितमाथि वर्षाैँदेखि रोक लगाएको भन्ने कुरा पनि गलत भएको उनको भनाइ छ । ‘अहिलेसम्म हामीहरू त सहज रूपमा मन्दिरमा जाने पूजा गर्ने गरिरहेका छौँ, कसैले पनि रोक लगाएको मेरो जानकारीमा छैन । यस्तो कुराहरूले कसले फैलाउँछ? म त अचम्ममा परेकी छु,’ उनले भनिन् । 

चितवन प्रहरी प्रवक्ता डिएसपी थापाले अहिलेसम्म मन्दिर पस्न नदिएको विषयमा झगडा भएको भन्ने कुरा नखुलेको बताए । जातीयताको विषयमा कुटपिट भएको र मार्ने नियतले घटना भएको नदेखिएको उनले बताए । 

‘बाहिर केके कुरा आयो त्यो हाम्रो चासोको विषय होइन । हामीले कर्तव्य गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ । हाम्रो अनुसन्धानले जातीयताको विषयमा कुटपिट भएको र मार्ने नियतले घटना भएको देखिएको छैन,’ डिएसपी थापाले भने ।  

मृतकको परिवारमाथि अर्को अन्याय 

भीमबहादुरको सिंगो परिवार यतिबेला घरमूली गुमाएको पीडामा छ । घटनामा संलग्न जोकोहीलाई पनि कानुनअनुसार कारवाही हुनुपर्ने उनीहरूको माग छ । 

श्रीमती बिन्दु, छोरा किसन, छोरी मीनालगायतका घर परिवारका सदस्य यतिबेला पीडामा छन् । प्रहरीले अनुसन्धान थालेको विषयमा उनीहरूलाई कुनै आपत्ति छैन ।  प्रहरीले घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ । तर, जसरी घटनाको विषयलाई लिएर अनेकथरी टीकाटिप्पणी भइरहेको छ त्यसले भने उनीहरू चिन्तित छन् । 

उनीहरूलाई कतै आफूहरू गरिब र दलित भएकै कारण न्याय नपाइने पो हो कि भन्ने पीडामा छन् । छोरा किसनले दलित र गरिब भएकै कारण बुबा मारिएको दाबी गरेका छन् ।

भीमबहादुरले लामो समयदेखि रक्सी खान छोडेका थिए । तर, पछिल्ला केहीदिन यता फेरि उनले मदिरा पिउन थालेका थिए । त्यो दिन कुन पसलबाट खानुभयो? कसैले खुवायो वा आफैँले खाए? त्यो विषयमा पनि अनुसन्धान हुनुपर्ने मृतकको परिवारको माग छ । 

रक्सी खाएको भए पनि मृत्यु नै हुनेगरी कुटपिट गर्न नहुने उनीहरूको भनाइ छ । ‘बुबाको ज्यानै जानेगरी पिट्नु हामी दलित र गरिब भएकै कारण हो । यसरी कुकुर, बिरालो मारेको जस्तो होर मान्छे मारेको हो? अब यसरी कसैले पनि मर्न नपरोस् । हामीलाई न्याय चाहिन्छ,’ किसनले भने ।   

आफ्नो श्रीमानले रक्सीको नसामा जथाभावी बोले पनि त्यसको सजाय मृत्यु नै दिइएको बिन्दुको भनाइ छ । ‘गलत गरेको खण्डमा प्रहरीको जिम्मा लगाउन सकिन्थ्यो । सजाय दिने कानुन थियो । यहाँ त रक्सी खाएर जथाभावी बोलेको भन्दै सजाय मृत्यु नै दिइयो । यसरी पिटेर मार्ने अधिकार कसलाई छ?,’ उनले प्रश्न गरेकी छन् ।
  
आफ्नो परिवारले गल्ती गर्ने सबैलाई सजाय दिनुपर्ने र आफूहरूले न्याय पाउनुपर्ने उनीहरूको माग छ । 

अतिरञ्जित गर्नेमा भट्टराईदेखि संग्रौलासम्म    

भीमबहादुर घटनामा प्रहरीले कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ । यदि उनीहरू दोषी ठहरिएमा कानुनअनुसार कारवाही हुनेछ । त्यसमा शंका गर्नुपर्ने कारण नै छैन । तर, यो घटनालाई अतिरञ्जित गर्नेहरूको भने लर्को नै लागेको छ । 

कतिपयले त माइतीघरमण्डलादेखि चितवन, दाङसम्मका सडक नै तताइरहेका छन् । केहीले भने सामाजिक सञ्जालमार्फत पनि अफवाह फैलाइरहेका छन् । यसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि खगेन्द्र संग्रौलासम्म छन् । 

कतव्र्य ज्यान मुद्दा जस्तो जघन्य अपराधका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जातीय विदेभलाई झन् चर्काउने काम गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘जातपातजन्य/वर्गीय विभेदका आधारमा फेरि एकजना दलित श्रमिक भीम विश्वकर्मालाई कुटपिट गरी हत्या गरिनु अत्यन्त निन्दनीय छ । यस घटनालाई पनि दलितविरुद्धको अन्य अपराधझैँ टालटुल गरेर नपन्छाइयोस् र गम्भीर छानबिन गरेर अपराधीलाई हदैसम्मको कारवाही र परिवारलाई राहत होस् ।’

यसरी आगोमा घ्यू थप्ने काम गर्नेमा बाबुराम मात्र छैैनन्, आफूलाई अधिकारकर्मी मान्ने खगेन्द्र संग्रौला पनि यसका हिमायती बनेका छन् । उनले पनि सामाजिक सञ्जालमालेखेका छन्, ‘धर्म निरपेक्ष संविधानमा जातीय छुवाछूत दण्डनीय छ । सरकार प्रजातान्त्रिक समाजवादी हुँ भन्ने कांग्रेस, जनवादी समाजवादी हुँ भन्ने माओवादी आदिको छ । चितवनको दुर्गा मन्दिरमा पूजा गर्न किन नपाइने भनी प्रश्न गर्ने भीमबहादुर विश्वकर्मा कुटिकुटी मारिए । यो शाही पञ्चायतको हिन्दु राज पो हो कि?’

उनले त यसलाई पञ्चायतको हिन्दु राजको संज्ञा नै दिएका छन् । संग्रौला जस्तै धेरैले हत्या जस्तो गम्भीर विषयलाई आफ्नो लोकप्रियताको माध्यम नै बनाइरहेका छन् । आफूलाई अधिकारकर्मी भन्नेहरूले त यसलाई आफ्नो एजेण्डा नै बनाइसकेका छन् । 

तर, घटनाको अनुसन्धान गरिरहेको चितवन प्रहरीले भने कसैले आन्दोलन गर्नु, कसैले सामाजिक सञ्जालमार्फत जातीय मुद्दा बनाउनुको कुनै तर्क नरहेको दाबी गरेको छ । 

प्रहरी प्रवक्ता थापा भन्छन्, ‘बाहिर कसले के भन्यो, सामाजिक सञ्जालमा के कुरा आयो, त्यो हाम्रो सरोकारको विषय होइन । हामीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरिरहेका छौँ । दोषीमाथि कानुनअनुसार सजायका लागि अदालतमा पेस गर्छौँ । कानुनले दोषीलाई सजाय दिन्छ ।’

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १८:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया