रसुवा माउन्टेन बाइक च्यालेन्ज मंसिर १८ बाट सुरु हुने

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाईअल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ । रसुवामा हुने सो च्यालेन्ज मंसिर १८ गतेबाट हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । 

सबै विधामा गरी करिब १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको छ । इलिटतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । 

शीर्ष १० स्थानमा आउनेलाई पनि नगद पुरस्कार राखिएको छ । मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार नगद पुरस्कार पाउनेछन् ।

रसुवा जिल्ला खेलकुद विकास समिति र नेपाल साइक्लिङ संघको समन्वयमा हुने प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ ।

पत्रकार सम्मेलनमै दुई आयोजकबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । 



सदस्य–सचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख खर्च हुने बताइएको छ ।

खेलकुदमार्फत पर्यटनलाई पनि बढावा दिने उद्देश्यका साथ परिषद्ले हाईअल्टिच्युट प्रतियोगितालाई महत्व दिएको बताउँदै सदस्य–सचिव भण्डारीले यसअघि दोलखामा रेस्लिङ सम्पन्न भइसकेको र कात्तिक २७ मा सिन्धुपाल्चोकको पाँच पोखरीमा हाईअल्टिच्युट हाफ म्याराथन हुन लागेको जानकारी गराए ।



नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सरोकारवाला निकायसँग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १८:१५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया