सिलिचुङको शिखरमा साइकल यात्री पराजुली

मुन्दुम ट्रेल (मुन्दुम मार्ग)को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु)ले सिलिचुङ टपमा साइकल पुर्‍याएका छन् । गत वैशाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिर/पहरा छिचोल्दै सिलिचुङको शिखरमा साइकल पुर्‍याउन सफल भएका हुन् । 

साइकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साइकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचारप्रसारमा झापा चन्द्रगढीका साइकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् । 

मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रूपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डीपीआरअनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पूर्वसांसद एवं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । 

मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरूदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाइन गरेका हुन् । 



खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पुर्‍याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ । 



आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं-टेम्के-साल्पा-सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ । 

  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १२:२५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया