पानामा पेपर लीकको सम्बन्धमा भारतको प्रवर्तन निर्देशनालयले बलिउड नायिका ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ । निर्देशनालयका पदाधिकारीले उनीसँग पाँच घण्टाभन्दा बढी समय सोधपुछ गरेका थिए ।
ऐश्वर्यासँग उनको तथाकथित कम्पनी र बैंक अकाउन्टका विषयमा सोधपुछ गरिएको थियो ।
भारतीय अखबार दैनिक भास्करले स्रोतलाई उद्वृत गर्दै भनेको छ– निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन एक हजार ५०० डलरमा बेच्नु पर्यो ? र अमिताभ बच्चनको बुहारी बनेपछि कम्पनी बन्द किन पर्यो ? भन्ने प्रश्न गरेका थिए ।
निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेका थिए । सोधपुछ सकिएपछि स्थानिय समयअनुसार साँझ साढे ७ बजे उनी भवनबाट बाहिर निस्केकी थिइन् ।
सन् २०१६ मा पानामा ल फर्मको १.१५ करोड ट्याक्स सम्बन्धी दस्तावेज लीक भएका थिए । यसमा संसारका ठूला नेता, व्यापारी र सेलिब्रेटीको नाम जोडिएको थियो । भारतका मात्र ५ सयभन्दा बढीको नाम पानामा पेपरमा जोडिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।