नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनुपर्ने प्रस्ताव

नेपाली कांग्रेसले नेपाल टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएको छ ।

मंगलबार सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ माथि भएको छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले टेलिभिजन र रेडियो नेपाललाई स्वायत्त संस्था बनाउनु पर्ने धारणा राखेका हुन् ।

सांसद अधिकारीले सबै प्रदेश र पालिकासम्म सार्वजनिक प्रशारणको पहुँच सुनिश्चित गर्ने कुरालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । सांसद अधिकारीले सार्वजनिक सेवा प्रशारण संस्था स्वशासित संस्था मात्र नभई स्वायत्त र संगठित संस्था हुनुपर्ने कुरा ऐनमा राख्न प्रस्ताव गरे ।

सांसद अधिकारीले सार्वजनिक सेवा प्रशारण संस्थाले व्यावसायिक प्रशारण च्यानल सञ्चालन गर्ने कि नगर्ने भन्नेबारेमा पनि सरकार स्पष्ट हुनुपर्नेमा जोड दिए । उनले ऐनमा कतै पनि व्यावसायिक च्यानल सञ्चालन गर्ने वा नगर्ने भन्नेबारेमा उल्लेख नभएको भन्दै त्यसलाई सच्याएर स्पष्ट हुन आवश्यक रहेको बताए ।

सरकारले परिवर्तनको वाहकका रूपमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विकास गर्न खोजेको हो भने स्वतन्त्र, निष्पक्ष र स्वायत्त किसिमबाट  सञ्चालन हुनुपर्ने बताए । उनले सार्वजनिक सेवा प्रशारण संस्थाको नेतृत्व संसदीय समितिको सभापति वा राष्ट्राध्यक्षबाट नै हुनेगरी विधान बनाउनु पर्ने बताए ।

बैठकमा सदस्य खिमलाल देवकोटाले सार्वजनिक प्रशारण सेवालाई व्यवस्थित गर्ने ध्येय हो भने प्रदेश र स्थानीय सरकारबाट स्वीकृती लिएर प्रदेश र स्थानीय सरकारले नै सञ्चालन गरेका सार्वजनिक सेवा प्रशारण संस्थालाई के गर्न सकिन्छ र कहाँ जोड्न सकिन्छ भन्ने बारेमा सोच्नुपर्ने बताए । उनले नेपाल सरकारको मातहतमा मन्त्री र मन्त्रालयका निकायलाई राख्ने हो भने स्वतन्त्र, निष्पक्ष र स्वायत्त हुन नसक्ने बताए ।



राष्ट्रियसभा सदस्य देवकोटाले संघीय सरकारकै मातहतमा नेपाल टेलिभिजन र रेडियो नेपाल सीमित रहने हो भने सात प्रदेश सरकारले सिफारिस गरेका, स्थानीय संघ, महासंघले सिफारिस गरेका सार्वजनिक सेवा प्रशारण संस्था राख्न आवश्यक नरहेको बताए ।



  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १८:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया