logo-img

एमसिसी तरंग : दलगत स्वार्थका कारण संसद बन्धक !

भोलि बुधबारका लागि तय भएको संसद बैठक पनि स्थगित पुनः भएको छ । पटक–पटक रोकिँदै भोलिका लागि तय भएको बैठकलाई विशेष महत्वको साथ हेरिएको थियो । अमेरिकी परियोजना एमसिसी सम्झौता टेबल हुनसक्ने आकलनका कारण पनि भोलिका लागि बोलाइएको बैठकमा धेरैको चासो थियो । 

लामो समयदेखि विवादको घेराभित्र रहेको एमसिसी परियोजनाबारे सभामुख अग्निप्रसाद सापकोटा सकारात्मक नभएको आरोप प्रतिपक्षी दल एमालेले लगाउँदै आएको छ । त्यसो त एमालेले आफ्ना तत्कालीन सांसदहरुलाई कारबाही गर्न गरेको सिफारिस नमानेको भन्दै सभामुख सापकोटाको राजीनामा नै मागेको छ । उनै सापकोटाले सरकारको आग्रहमा पुनः संसद बैठक स्थगित गरेका छन् । 

यसअघि १६ माघका लागि तय भएको बैठक पनि कोरोना संक्रमणको जोखिम देखाउँदै स्थगित गरिएको थियो । भोलि (बुधबार)को बैठकअघि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको थियो । बुधबारको संसद बैठक स्थगित भएसँगै सोही दिन बिहान ११ बजेका लागि डाकिएको कार्यव्यवस्था परामर्श समिति बैठक पनि स्थगित गरिएको छ । सोही दिन ९ः३० बजेदेखिका लागि तयारी गरिएको सांसदहरुको एन्टिजेन परीक्षणको कार्यक्रम पनि स्थगित भएको छ ।  



गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी अध्यक्षलाई पठाएको पत्र सार्वजनिक भयो । प्रधानमन्त्री कार्यालयबाटै सो पत्र बाहिरिएको भन्दै सत्तारुढ प्रमुख घटक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग रिसाए । पत्र बाहिरिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको आग्रहमा बालुवाटार आए । सात महिनाअघि अदालतको परमादेशमा प्रधानमन्त्री पदबाट बाहिरिएपछि ओली पहिलोपटक बालुवाटार प्रवेश गरेका थिए । ओलीको बालुवाटार आगमनले पनि प्रचण्ड​लाई झनै सशंकित बनायो । यद्यपि, प्रचण्ड स्वयं पनि सो बैठकमा सहभागी भए । तीन प्रमुख पार्टीका शीर्ष नेतृत्वबीच दुई घण्टा लामो छलफल चल्यो । बैठकमा धेरैजसो स्थानीय तह निर्वाचन र केही समय एमसिसी परियोजनाका विषयमा छलफल भएको थियो । 

यसबीचमा सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नका लागि मिति घोषणा पनि गरेको छ । सो घोषणाको प्रमुख प्रतिपक्षी एमालेले स्वागत गरिसकेको छ । निरन्तर संसद अवरोध गर्दै आएको एमाले सकारात्मक दिशामा अघि बढ्दै गर्दा संसदको अवरोध अन्त्य हुन सक्ने आकलनकैबीच संसद बैठक नै पुनः स्थगित भएको छ । 

दलगत स्वार्थ



सभामुखकै भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । अर्कोतिर, सभामुख सापकोटा पटक–पटक विभिन्न कारण देखाउँदै संसद बैठक स्थगित गरिरहेका छन् । 

गत भदौको अन्तिम साता सुरु भएको संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले संसदमा अवरोध पुर्याउँदै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका सांसदहरुको सूची टाँस नगरेको र पार्टी फुटाउन सभामुखको समेत भूमिका रहेको आरोप एमालेले लगाउँदै आएको छ । 



पहिलो कुरा त एमालेलाई पाँच दलीय गठबन्धनले ‘संसद चलाउनै नसकेको’ सावित गराउनु नै छ । अर्को, उसलाई एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रै देखिएको फाटोलाई ‘क्याच’ गरेर गठबन्धन भत्काउनु छ ।

यसैबीच देउवा र प्रचण्डले एमसिसी अध्यक्षलाई पठाएको पत्र सार्वजनिक भएसँगै एमाले रमाएको छ । बलियो प्रतिपक्षी र एमसिसीको चपेटामा परेका प्रधानमन्त्री देउवा जसैगरी पनि संसदबाट छिटोभन्दा छिटो एमसिसी पास गराउने पक्षमा छन् । तर, देउवालाई गठबन्धनभित्रबाटै साथ मिल्न सकेको छैन । एमसिसीको पक्षमा नउभिन माओवादी अध्यक्ष प्रचण्डलाई दबाब सिर्जना भइरहँदा पत्र सार्वजनिक भएपछि उनीमाथि झनै दबाब थपिएको छ । 

उता, एमाले फुटाएर नयाँ दल बनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने मध्यमार्गी बाटो खोजेर समाधान गर्नुपर्नेतिर लागेका छन् । देउवाले सत्ता गठबन्धनभित्रकै नेताहरुलाई मनाउनका लागि आफ्ना केही मन्त्रीलाई खटाइरहेका छन् । 

माओवादी केन्द्रभित्र एमसिसीका विषयमा एकमत नहुँदा केन्द्रीय कमिटी बैठकमा नै यसबारे छलफल हुने भएको छ । जसका लागि २७ र २८ माघमा बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाइएको छ । 

प्रमुख पार्टीका नेतासामु कुरा राख्ने अनि मात्र यसबारे संसदमा प्रवेश गर्नेगरी प्रचण्डले तयारी थालेका हुन् । जसका कारण उनकै जोडबलमा भोलिका लागि बस्ने भनिएको संसद बैठक स्थगित भएको बुझिएको छ । 

संसदलाई कतिन्जेल छल्ने ? 

राजनीतिक दलहरुबीच एमसिसीको विषय सहमति जुट्न नसकेपछि बाँकी छलफल संसदमै पुगेर गराउने ‘मुड’मा प्रधानमन्त्री पुगिसकेका छन् । यद्यपि, उनी तत्काल गठबन्धन भत्काएर अघि बढ्दा थप समस्या हुने बुझाइमा छन् । 

तर, एकातिर एमालेले आफ्नो स्वार्थ बोकेर संसद अवरोध गरिरहने, अर्कोतर्फ एमसिसी टेबल हुँदा आउने समस्या दर्साएपछि खुरुक्क संसद बैठक स्थगित गर्नुले जनस्तरका गुनासा पनि ओझेलमा परेका छन् । 

गठबन्धनबीच कुरा मिलेमा एमसिसी टेबुल हुँदा पारित गर्न चाहिने बहुमत पुग्छ । त्यसका लागि उनीहरुले आआफ्नो दलमा ह्विप लगाउनुपर्ने हुन्छ । माओवादीभित्र प्रचण्ड तयार भए पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुनलगायत प्रभावशाली नेता एमसीसीको विपक्षमा छन् । गठबन्धनभित्रकै अर्को दल जनमोर्चा एमसिसीविरोधी मोर्चामा सामेल भइसकेको छ । त्यसकारण पनि गठबन्धनभित्र एमसिसीका विषयमा एकमत हुने सम्भावना अत्यन्त न्यून छ । 

एमसीसी टेबुल गर्न सभामुख तयार नभए उनलाई हटाउने तयारी समेत भइसकेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । यसका लागि देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि सल्लाह गरिसकेका छन् । 

यसरी एमसिसीको निर्णायक क्षणसँग सभामुखको पद र गठबन्धनको भविष्य समेत जोडिएर आएकै छ । राजनीतिक रडाकोका कारण संसद अझ केही दिन बन्धक नै बन्ने प्रस्ट देखिएको छ । 

  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार २२:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया