महाअभियोगबारे एमालेको प्रतिक्रिया : छापामार शैलीमा दर्ता भयो, हामीले गम्भीर रूपमा लिएका छौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई गम्भीर कार्यका रूपमा लिएको छ । 

आजै मात्र संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावबारे संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले यसबारे पार्टीमा छलफल गरेर आधिकारिक धारणा बताउने बताए । 

उनले फरकधारसँग भने, ‘अचानक छापामार शैलीमा हामीलाई कुनै जानकारी नदिई जुन संसदीय प्रणालीमा छौँ, त्यो संसदीय प्रणालीमा प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानिन्छ । त्यसलाई सुइँको समेत नदिई यति गम्भीर कार्य भएको छ । यो वास्तवमा गम्भीर छ ।’

उनले आफ्नो पार्टी र अहिलेको अवस्थाको व्याख्या गर्दै भने, ‘हामीले सत्तापक्षलाई जानकारी गराएर, संसदलाई जानकारी गराएर, सिंगो देशको जानकारीमा रहेर हाम्रा नेता सांसदहरू भर्खरै अहिले घोषणा भएको निर्वाचन जुन सत्तापक्षले मानिरहेको थिएन । हामी सबैको दबाबबाट भर्खरै घोषणा भएको छ । त्यस सन्दर्भमा हामी आज र भोलि प्रशिक्षण कार्यक्रममा मात्रै प्रदेशमा जम्मा भएको स्थिति छ ।’

सर्वोच्च अदालतमा थुप्रै मुद्दाहरू विचाराधीन रहेको अवस्थामा भएको यो विषयलाई एमालेले गम्भीरतापूर्वक लिएको उनले बताए । 

‘सर्वोच्च अदालतमा थुप्रै मुद्दाहरू विचाराधीन छन् । आजै सुरुमै हामीले हाम्रा नेताहरूसँग सम्बन्धित रहेको विषयलाई लिएर अहिलेसम्म ढिला भएर आज पेसी चढेको अवस्था छ । यो अवस्थामा यो जे भयो हामीले गम्भीरतापूर्वक लिएका छौं । अब यसबारेमा हामी छलफल गर्छौँ र हामी हाम्रो टुंगो जनतालाई बताउँछौँ’, उनले भने ।






  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १२:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया