भण्डारीको हत्यामा संलग्न थप २ जना १६ वर्षपछि पक्राउ

१६ वर्षअघिको बीभत्स हत्यामा संलग्न २ जना फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बझाङले १६ वर्षपछि पक्राउ गरेको हो । 

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ ज्याडाका मीनबहादुर भण्डारीको हत्या गरी फरार भएका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीया रामदेवी रानालाई प्रहरीले पक्राउ गरेको हो । हत्या गरी फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

नेपाल भारतको सीमानाका गड्डाचौकी एरियाको बाटो हुँदै नेपाल आउँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङको समन्वय तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो महाराजगन्ज र स्थानीय प्रहरीको सहयोगमा उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

पुनरावेदन अदालत डोटीले २०६६ असार ०८ गते रामदेवी रानालाई ३ वर्ष र सर्वोच्च अदालतको २०६९ वैसाख २२ गतेको फैसलाले वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय सुनाएको थियो । फैसलापछि उनीहरु दुवैजना फरार रहेका थिए । 

जयपृथ्वी नगरपालीका–०७ (साबिक सुबेडा गाविस–८ ज्वाडाका मीनबहादुर भण्डारीको वीरेन्द्र राना, प्रकाश राना, मंगल राना, रामदेवी राना र हिरादेवी रानाले घरेलु हतियार बन्चरो र हँसियाको प्रयोग गरी बीभत्स हत्या गरेका थिए । 



हत्यामा संलग्न प्रकाश राना यसअघि नै धनगढीबाट पक्राउ परिसकेका छन् । शनिबार पक्राउ परेका दुवैजनालाई अदालतको अनुमति लिई कारागार गरिएको छ । वीरेन्द्र रानालाई बझाङ कारागारमा राखिएको छ भने त्यहाँ महिला बन्दी राख्ने व्यवस्था नभएका कारण रामदेवी रानालाई डडेलधुरा कारागारमा पठाइएको डिएसपी विष्टले बताए ।



  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:४२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया