चिसो एष्ट्रेः सहरका गल्लीलाई बुझेको, सहरले नबुझेको एउटा फिल्म

पछिल्ला दिन नेपाली सिने हलहरुमा चर्को भीड देखिन थालेको छ । विश्व महामारी कोरोनाभाइरस (कोभिड १९)बाट तंग्रिँदै गर्दा हलहरुमा देखिएको यो भीडले सकारात्मक सन्देश दिन खोजेको फिल्मी क्षेत्रका हस्तीहरुले बताउन थालेका छन् । हलहरुमा भीड देखिएको त छ तर यो भीड नेपाली फिल्मका लागि होइन, दुई बलिउड फिल्म ‘आरआरआर’ र ‘द कश्मिर फाइल्स’का लागि बढी देखिएको छ । यही समयमा नेपाली फिल्म ‘चिसो एष्ट्रे’ पनि हलहरुमा लागेको थियो तर यो फिल्मले अपेक्षित दर्शक पाएन ।

नेपाली फिल्म किन चल्दैनन् वा नेपाली फिल्मले दर्शकको माया किन पाउँदैनन् ? यी प्रश्न लामो समयदेखि नेपाली फिल्मी क्षेत्रमा सोधिइरहिएका छन्, सम्भवतः अबका केही वर्ष पनि फिल्मी क्षेत्रको विषयमा बहस हुँदा यी प्रश्नहरु प्राथमिकताका साथ आउनेछन् ।

यी र यस्तै प्रश्नको सान्दर्भिकतालाई फिल्म चिसो एष्ट्रेले पनि समेटेको छ । नेपाली दर्शकले हेर्न चाहेको जस्तो फिल्म बनेन भन्नेहरुका लागि एउटा जवाफ हुनसक्ने यो फिल्मले काठमाडौं सहरको कथालाई कलात्मक रुपमा पस्किएको छ । तर, फिल्मले काठमाडौं सहर, यहाँका गल्लीहरु र बदलिँदो समाजमा देखिएको एउटा पक्षलाई न्याय गरेको छ । फिल्ममा बारम्बार नाम लिइएका तीन गल्लीहरुको आयतन र स्वभावबारे फिल्ममा राम्रो प्रस्तुति पाउन सकिन्छ ।

फिल्ममा गल्लीहरु कसरी बने भन्ने कुरा अटेको छैन तर ती गल्लीहरुले काठमाडौंको एउटा तह र तप्काको विषयमा राम्रो जानकारी राखेको छ । काठमाडौं खाल्डोभन्दा बाहिरबाट आएको एउटा युवाले देख्ने सपना र ती सपनाहरुलाई पूरा गर्न उसले लिने बाटो वा पदचापबारे राम्रोसँग देखाएको छ फिल्मले । सहरका कथाहरुलाई भिजुएलाइजेसनमा स्पष्ट रुपमा देखाएको छ फिल्मले अर्थात् यो सहरमाथि फिल्मले न्याय गरेको आभास एउटा दर्शकले पाउँछ तर, सहरले फिल्ममाथि न्याय गरेको अनुभूति हुन सकेन । सहरलाई बुझेको यो फिल्मलाई सहरले बुझेन ।

भूपि शेरचनको कविता चिसो एष्ट्रेका केही लाइनहरुबाट ‘इन्स्पार्यड’ यो फिल्मले सहरका गल्लीहरुले कसरी युवाहरुका भाव र भविष्य, भाष्य र चाहना निर्धारण गरिरहेको छ भन्नेबारे जानकारी दिन्छ । हिजो भूपीले देखेको यो सहर र आज हामीले बाँचिरहेको यो सहरमा के केही फेरिएको छ, युवाहरुको चाहनामा के केही भिन्नता आएको छ ? यी प्रश्नहरुलाई फिल्मले सिनेम्याटिक भाव दिएको छ, त्यसमा हामीलाई सहरमा आएको एउटा युवाको सपना कसरी खरानी भएको छ भन्ने स्पष्ट देखाउँछ । त्यो युवा जसले आँखामा आगो, ओठभरि ज्वाला बोकेर कलंकीमा इन्ट्री हानेको छ (फिल्मको सुरुवाती वाक्य पनि यही हो), उसले समयसँगै कसरी आफ्ना सपनाहरु पूरा गर्न संघर्ष गर्छ र अन्त्यमा कसरी उसका सपनाहरु खरानीमा परिणत हुन्छन् भन्ने भावलाई फिल्मले स्पष्ट पारेको छ । दिनहुँ काठमाडौं खाल्डोलाई सपना बनाएर कलंकीमा इन्ट्री मार्ने सयौँ युवाहरुको प्रतिनिधित्व छ, फिल्ममा मदन (दिव्यदेव)को ।

फिल्ममा दिव्यदेवका सपना के छैनन् ? गाउँबाट आँखामा आगो बोकेर सहरमा हाम्फालेको उसँग हलिउड स्टार रोबर्ट डि निरोजस्तै बन्ने सपना छ, उसलाई यथेष्ट पैसा पनि चाहिएको छ, केटी साथी शालीनता (सृष्टि श्रेष्ठ)लाई उसले मनमा सजाएको छ, उसलाई आफ्नो बनाउनु छ, सहरका साथीहरु रोनी (निकुन श्रेष्ठ) र ज्याकी (नवीन लम्साल)को साथ नटुटोस् भन्ने छ, उनीहरुको सपना आफ्नो सपनाजस्तै सोचेको छ उसले । फिल्ममा मदनलाई बबी दाइ (रविन तामाङ)ले गरेको सहयोगले सहरको अर्को भावुक पाटोलाई पनि देखाएको छ । मदनले सुरुमै भेटेको बबी दाइ, त्यसपछि ऊ रोनी र ज्याकीहरुको संगतमा पुगेको र आफूलाई गाउँलेबाट सहरिया बनाउन गरेको संघर्षलाई फिल्मले न्याय गरेको छ ।



अहिलेको ठमेलका गल्लीहरुमा युवाहरुले पालेका सपना, हिजो तिनै गल्लीहरुमा ‘डन’ बन्ने सपना बुनेर हिँडेका ती युवाहरुको भावना र चाहना, भाष्य र परिवेशलाई फिल्मले जुन तौर र तरिका प्रयोग गरेर देखाइएको छ, त्यसले यो फिल्मलाई नेपाली सिने क्षेत्रमा अब्बल ‘उत्पादन’का रुपमा चित्रण गर्छ ।

कलात्मक फिल्म बनेनन् भन्नेहरुका लागि चिसो एष्ट्रेमा मुख्य पात्र दिव्य देवको प्रत्येक न्यारेसन, प्रत्येक वाक्यहरु कलात्मक लाग्न सक्छन्, उनको हाउभाउ र फिल्ममा उनले देखाएको अभिनयलाई प्रशंसा गर्नुको विकल्प छैन । फिल्ममा दिव्य देवले चालेका पाइलाहरुलाई सहरका गल्लीहरुमा आफूले चालेका पाइला मान्न सक्छन्, एउटा पुस्ताका युवाहरुले । सहर अहिले फेरिएको छ, सहरमा गाउँबाट पसेका युवाहरुको सपना पनि थोरबहुत फेरिएको होला । तर, सहरको वास्तविकता र यो सहर कति चिसो छ, भन्ने यथार्थलाई फिल्मले न्याय गरेको छ ।



फिल्मले निर्माण गर्न सकेको र न्याय गरेको भाष्य हो काठमाडौं सहरका गल्लीहरुमा सपनाका टुक्राटाक्रीहरु एष्ट्रेमा मिल्काइएका चुरोटका ठुटाहरु झैं छन् । 

तिनै ठुटाहरुमा काठमाडौं खाल्डोभित्र युवाहरुका सपनाका कथा दृश्यात्मक, लयात्मक र सिनेम्याटेकि हिसाबले बटुल्न खोजिएको छ फिल्ममा । हलिउडका फिल्महरु हेरेर यस्तो नेपाली फिल्म बनेन भन्ने नेपाली युवाहरुका लागि र नेपाली फिल्म हेरेर काठमाडौंलाई बुझ्न खोज्ने विदेशीहरुका लागि यो फिल्म एउटा गतिलो छनोट हुनसक्छ । 

पछिल्लो समय नेपाली फिल्ममा देखिएको अभाव जे हो, त्यसलाई यो फिल्मले परिपूर्ति गर्ने प्रयास गरेको छ । हो, कलामा केही कमजोरीहरु औंल्याउन नसकिने होइन, चिसो एष्ट्रेमा पनि केही बान्कीहरु नमिलेका हुन् कि भन्ने आभास दर्शकलाई हुन्छ । तर, नेपालमा चलेका ‘चिप जोक्स’हरुका डायलगले भरिएका फिल्म हेर्न अभिशप्त नेपाली दर्शकहरुलाई नयाँ स्वाद दिन्छ, चिसो एष्ट्रेले । काठमाडौंका गल्लीहरुलाई न्याय गरेको यो फिल्मलाई त सहरले न्याय गर्न सकेन, अब यसले ल्याउने नयाँ ट्रेन्डलाई सहरले न्याय गर्न सक्छ भन्ने आश गर्न सकिन्छ ।

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १३:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया