परामदेशी सरकारले देशलाई अघोगतिमा लैजाँदै छः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशलाई अधोगतिमा लगिरहेको आरोप लगाएका छन् । पोखरेलले शनिबार दिउँसो काठमाडौंमा नेपाल खेलकुद महासंघले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताएका हुन् ।

‘अहिले देशका कुनै पनि बैंकमा पैसा छैन भन्ने सुनिएको छ,’ पोखरेलले भनेका छन्, ‘यसले देशलाई औद्योगिक रुपमा नै कमजोर बनाएको छ ।’

खेलकुद महासंघले आयोजना गरेको राष्ट्रिय खेल संघहरुको राष्ट्रिय भेलाका प्रमुख अतिथि पोखरेलले अहिलेको गठबन्धनको सरकारले देशलाई थप अन्योलमा लगेको बताए । उनले भने, ‘परमादेशी सरकारले अहिले देशलाई थप समस्यामा पुर्याएको छ, यो समस्या समाधान अब त्यति बेला मात्र हुन्छ जब देशमा नयाँ निर्वाचनबाट एमाले पहिलो पार्टी भएर आउँछ ।’

पोखरेलले यही कार्यक्रममा अब देश दुईदलीय प्रणालीमा जानुपर्ने पनि बताएका छन् । ‘देशमा धेरै पार्टी हुँदा थप समस्य भएका छन्,’ उनले भनेका छन्, ‘अब देशमा दुई पार्टी भए पुग्छ, यसले देशको विकासको क्रमलाई अगाडि बढाउँछ ।’

कार्यक्रममा नै नेकपा एमाले नेता तथा नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बाँस्कोटाले नेकपा एमालेले देशलाई समृद्ध बनाइरहँदा नेकपा एमालेले खेलकुद क्षेत्रलाई पनि आफ्नो मुद्दा बनाएर यसको समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । यसका लागि खेलकुद क्षेत्रको समस्या समाधानका लागि खेलकुद क्षेत्रमा नै लागेका व्यक्ति अघि बढ्नुपर्ने बताए । 

‘समाजका विशेष अंग हुन्, खेलकुदमा क्षेत्रमा रहेका साथीहरु,’ उनले भने, ‘समाजको विकासको लागि उहाँहरुको पनि निकै महत्त्वपूर्ण योगदान चाहिन्छ, त्यो योगदान खाँचो छ । त्यसैले हामीले उहाँहरुलाई संगठित गर्न चाहेका हौँ ।’



बाँस्कोटाले नेपालका खेलाडीले ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबाट पदक ल्याउन आवश्यक तयारी गर्नुपर्ने पनि बताए  । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खेलकुद क्षेत्रका व्यक्तिले देशको प्रभावलाई थप अगाडि बढाउन सक्ने सम्भावना नेपालमा रहेको र त्यसका लागि आफ्नो पार्टी नेकपा एमाले लाग्ने पनि उनले बताए । 

कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले देशको समृद्धिलाई नेतृत्व गरिरहेको नेकपा एमालेका लागि खेलकुद क्षेत्र पनि महत्त्वपूर्ण भएको र खेलकुद महासंघले यसलाई व्यवस्थित तरिकाले अगाडि बढाउने बताए । 



‘सिंगो खेलकुद क्षेत्रको एक संगठनका रुपमा नेपाल खेलकुद महासंघले नेतृत्व गर्छ र तीनै तहमा खेलकुद क्षेत्रका लागि बजेट छुट्याउन तीनै तहका सरकारलाई तीव्रता दिनुपर्छ, हामीले यही आवाज उठाउनुपर्छ,’ उनले भने, ‘अहिलेको परमादेशी सरकारले खेलकुद क्षेत्रलाई निकै तिरस्कृत गरेको छ, यसविरुद्ध हामीले सशक्त आवाज उठाउने मात्र होइन, खेलकुद क्षेत्रको विकासका लागि सधैँ पहल गर्नुपर्छ ।’
उनले एक संगठन, एक खेलकुद प्रतियोगिताको सोचका रुपमा अगाडि बढाउन पनि आवश्यक भएको बताए । 


 
नेपाल खेलकुद महासंघको यो कार्यक्रमले महासंघका घटक २७ नेकोस राष्ट्रिय खेल संघमा नयाँ नेतृत्व पनि चयन गरेको छ । कार्यक्रमले नेकोस राष्ट्रिय फुटबल संघमा धिरेन्द्र प्रधान, ब्याडमिन्टनमा उदय अर्याल, बक्सिङमा प्रनिर अधिकारी, क्रिकेटमा विप्लव घोष, कराँतेमा देवकुमार लामा, बुद्धिचालमा श्याम व्यन्जनकार, तेक्वान्दोमा हिराबहादुर थापा, भलिबलमा यमबहादुर गुरुङ, टेबलटेनिसमा धर्ममान बज्राचार्य, शारीरिक सुगठन तथा फिटनेसमा रेणुका श्रेष्ठ, स्किमा शान्तामाया परियार, ह्यान्डबलमा शम्भु पौडेल, रिङ रेस्लिङमा कमल तामाङ, एथलेटिक्समा अनिरुद्र चौधरी, फुलकन्ट्याक्टमा सूर्य बुढाथोकी, आइटिएफ तेक्वान्दोमा मनोज खड्का, कबड्डीमा शिवजी गुप्ता, रग्बीमा आनन्दसागर योगल श्रेष्ठ, सेल्फ डिफेन्समा डिबी रानापाल, मोटर स्पोर्ट्समा प्रकाश कपुरी, विश्वविद्यालयमा नरेन्द्र आरसी, बेसबलमा दिपक न्यौपाने, टग अफ वारमा सूर्यबहादुर भट्टराई, कुङ्फुमा उद्धव थापा, प्याराग्लाडिङमा वसन्तराज दवाडी, केम्पो खुकुरी मार्सलमा रमेश नराल, बास्केटबलमा जुमप्रसाद गुरुङको अध्यक्षतामा संघहरु गठन भएका हुन् ।

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार २२:८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया