युक्रेन आक्रमणको विरोधमा डा. केसीले रुसी राजदूतावासअगाडि प्रदर्शन गर्ने

डा गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा. केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् । 

चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्यविना ६ हप्ताअघिबाट निर्मम तरिकाले सैन्य आक्रमण सुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिम्मेवार नागरिक र मानवका हैसियतले यस्तो अमानवीय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ले उनको ठहर छ । 

यस्तो छ डा. केसीको विज्ञप्ति

नमस्ते आदरणीय महानुभावहरु,

रुसी राष्ट्रपति पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्यविना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का कारण) छ हप्ताअघि निर्मम तरिकाले सैन्य आक्रमण सुरू गरे । फलस्वरूप बालबालिका, गर्भवती महिलालगायत हजारौंको मृत्यु भएको छ भने ४० लाखभन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन बाध्य भएका छन् । हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् । लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएका छन् ।



यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन ।

त्यसैले भोलि चैत २५ गते शुक्रबार अपरान्ह २ः३० वजे नेपालस्थित रुसी दूतावास ९वालुवाटार, काठमाडौं० अगाडि यो चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सवै महानुभावहरुलाई हार्दिक अनुरोध छ ।  



धन्यवाद ।

डा गोविन्द केसी
२०७८ चैत २४

 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार २०:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया