१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्न दर्शनार्थीको भीड

धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिराहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भीड लागेको छ ।

फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर)मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।

तराईका पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगव्याधी नलाग्ने बताइन्छ ।

फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । 

हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सलहेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सलहेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए । 



१२ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फूलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १२:३२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया