गण्डकीमा एसइईका परीक्षार्थी ४६ हजार १९१

गण्डकी प्रदेशमा यस वर्षको एसइई परीक्षामा ४६ हजार १९१ विद्यार्थी सहभागी हुने भएका छन् । भोलिदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका ११ वटै जिल्लाका कूल एक हजार ३४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १५५, प्राविधिक धारतर्फ ८१५ र ग्रेड वृद्धितर्फ २२१ विद्यार्थी सहभागी बन्न लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

परीक्षाका लागि मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा होम सेन्टर नपर्ने गरी २२३ परीक्षा केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कास्की जिल्लाका २९१ विद्यालयका १० हजार ६२१ विद्यार्थी सहभागी बन्नेछन् । 

जिल्लाका ११७ सामुदायिक, १५९ निजी र १५ वटा गुरुकुल तथा गुठी विद्यालयबाट एसइई परीक्षामा परीक्षार्थी सहभागी हुन लागेको जिल्ला शिक्षा समन्वय एकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

त्यस्तै, सबैभन्दा कम हिमालपारिको जिल्ला मनाङका चार विद्यालयबाट ४३ परीक्षार्थी सहभागी बन्न लागेको निर्देशनालयले जनाएको छ । 

परीक्षा सञ्चालनका लागि २२३ केन्द्राध्यक्ष, ३१२ सहायक केन्द्राध्यक्ष, दुई हजार ३११ निरीक्षक, ४५८ परीक्षा सहायक, ९२५ कार्यालय सहयोगी र करिब तीन हजार ३४५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    
निर्देशनालयले परीक्षा सञ्चालनका लागि सबै जिल्लामा रकम र उत्तरपुस्तिका पठाइसकेको र जिल्लाले सम्बन्धित परीक्षा केन्द्रमा उत्तर पुस्तिका पठाइसकेको उनले जानकारी दिए । 

निर्देशनालयका अनुसार राष्ट्रिय परीक्षा बोर्ड (पनिका)बाट प्रश्नपत्र यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकिएकामा जिल्लाले परीक्षा केन्द्र नजिकैका प्रहरी चौकीमा पुर्याइसकेको छ । परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन सबै जिल्लाका परीक्षा समन्वय समितिबाट सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकी निजहरुलाई अभिमुखीकरण गराइसकिएको जनाइएको छ ।



राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा २०७८ माघ २४ मा पहिलो संशोधन भई हालसम्म परीक्षा नियन्त्रण कार्यालयबाट हुँदै आएको परीक्षार्थीको मार्क इन्ट्री र नतिजा तयारीको काम अबदेखि प्रदेश शिक्षा विकास निर्देशनालयबाट हुने व्यवस्था गरिएको छ । 

यसका लागि प्रदेश शिक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । 



  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार १७:३६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया