स्थानीय निर्वाचन एमालेका लागि महाभारत: घनश्याम भुसाल

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

'महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,' उनले भने, 'महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।' 

महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यसपालिको निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । 'यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरू अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ ,' भुसालले भने ।

तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

 एमालेका उम्मेदवारको तुलनामा अरू कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दाबी गरे । 





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार १८:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया