लक्षित वर्गको घरदैलोमै सेवा पुर्‍याउने वीरेन्द्रनगर कांग्रेसको संकल्प

आसन्न स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले घोषणापत्र जारी गरिसकेको छ ।

नेपाली कांग्रेसका तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा उपेन्द्र खड्काको उम्मेदवारी छ । उनी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुन् ।

कांग्रेसले वीरेन्द्रनगरमा लक्षित वर्गका नागरिकको घरदैलोमै सेवा पुर्‍याउने संकल्पका साथ स्थानीय चुनावमा अघि बढेको छ । अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर–दैलोमा सेवा प्रवाह उपलब्ध गराउने वीरेन्द्रनगर कांग्रेसको संकल्प रहेको खड्काले बताए ।

यसका साथै नागरिकबाट प्राप्त गुनासाको अभिलेखीकरण र कारबाहीको जानकारी लिनका लागि छुट्टै संयन्त्र निर्माण गर्ने, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र गठन गर्ने उनले जनाए ।

प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयनमा ल्याउने, हरेक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरूलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पुर्‍याउनका लागि ‘सिकाई मेला’को आयोजना गर्नेलगायतका संकल्प वीरेन्द्रनगर कांग्रेसको छ ।

विद्यार्थीहरूको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’का रुपमा आमन्त्रण गर्ने, ‘एक टोल, एक कृषि उपज संकलन केन्द्र’ निर्माण गर्ने, कृषि उपजको विक्री–वितरणका लागि हाट बजारको व्यवस्था मिलाउने, वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनाउने, कृषकको सूचीकरण र वर्गीकरण गर्ने, किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराउने, स्थानीय तहमा उपलब्ध हुने रोजगारका सुचना तथा तथ्याङ्कसहितको ‘रोजगार बैंक’को स्थापना गर्ने तथा रोजगार बैंकमा संकलन भएका तथ्याङ्कको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने, वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गर्ने संकल्प रहेको उनी बताउँछन् ।



यसैगरी उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिने, खाली जमिनमा उच्च मूल्यका वृक्षारोपण गर्ने, स्वच्छ नगरपालिका, स्वस्थ नागरिक : स्थानीय रोजगारीका लागि फोहोरलाई मोहर कार्यक्रम’ सुरु गर्ने, वीरेन्द्रनगरका सम्पूर्ण नागरिकहरुको सामुहिक वीमाको व्यवस्था गर्ने तथा उत्पादनशील क्षेत्रमा महिला सहभागिता र महिला उद्यमशीलता अभिबृद्धि गरिने कांग्रेसको संकल्प छ ।



  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १९:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया