युरोपा लिगको उपाधिका लागि रेन्जर्स र फ्रान्कफुर्ट भिड्ने

युइएफए युरोपा लिगको उपाधिका लागि स्कटिस क्लब रेन्जर्स र जर्मन क्लब फ्रान्कफुर्ट भिड्ने भएका छन् । रेन्जर्सले गएराति सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगलाई ३–१ तथा समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनायो । 

घरेलु मैदान इब्रोक्स स्टेडियममा रेन्जर्सलाई जित दिलाउन जेम्स ताभर्नियर, ग्लेन कमारा र जोन लुन्डस्ट्रमले एक/एक गोल गरे । ​लाइप्जिगका लागि क्रिस्टोफर एनकुन्कुले एक गोल फर्कए । खेलको १८ औं मिनेटमा ताभर्नियरको गोलमार्फत रेन्जर्सले अग्रता लिएको थियो । २४ औं मिनेटमा कमाराले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७० औं मिनेटमा एनकुन्कुले लाइप्जिगलाई २–१ को अवस्थामा ल्याए । ८० औं  मिनेटमा लुन्डस्ट्रमले गोल गर्दै रेन्जर्सलाई ३–१ को सहज जित दिलाए । लाइप्जिगको घरेलु मैदानमा भएको पहिलो लेग रेन्जर्सले १–० ले गुमाएको थियो । 

त्यस्तै, सेमिफाइनलअन्तर्गतकै दोस्रो लेगमा फ्रान्कफुर्टले इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई १–० तथा समग्रमा ३–१ ले पराजित गर्‍यो । घरेलु मैदान ड्युश बैंक पार्कमा खेलको २६ औं मिनेटमा राफेल मुरेले गरेको एक मात्र गोल फ्रान्कफुर्टलाई जित दिलाउन पर्याप्त बन्यो ।

त्यसअघि खेलको आरोन क्रेसवेलले रातो कार्ड बेहार्दै मैदान छाडेपछि वेस्टह्याम १० खेलाडीमा समेटिएको थियो । ​वेस्टह्यामको घरेलु मैदानमा भएको पहिलो लेगमा फ्रान्कफुर्ट २–१ ले विजयी भएको थियो ।

फाइनल खेल १८ मेमा स्पेनको सेभियास्थित रोमन साञ्चेज पिज्जुअन स्टेडियममा हुनेछ । 





  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार ७:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया