विप्लव नेतृत्वको नेकपाका आठ जना कार्यकर्ता रिहा हुँदै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । 

गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा उक्त जानकारी दिइएको हो । ‘पक्राउ परेका ३३ मध्ये आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढेको गृहमन्त्रीले जानकारी दिनुभएको छ भने यसअघि एक जना छुटिसक्नु भएको छ,’ विश्वकर्माले भने, ‘गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले समन्वय गरेर तत्कालै रिहाइ गरिने आश्वासन पाएका छौं ।’

केपी ओली नेतृत्वको सरकासँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएका विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता अझै पनि थुना र हिरासतमा रहेपछि सरकारसँग रिहाइका लागि पहल भइरहेको हो । सो क्रममा सैन्य कानूनअन्तर्गत पक्राउ परी सैन्य अदालतबाट जन्मकैदको फैसलाअनुसार जेल बिताइरहेका झलकुमार महतलाई भने गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट माफी दिएर रिहाइ भइसकेका छन् । महत युद्धकालमा नेपाली सेनाको जागिर छोडेर माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी भएका थिए । 

शान्ति प्रक्रियामा आउनुअघि विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताविरुद्ध ४०० भन्दा बढी मुद्दा चलेको भए पनि क्रमश: तीनको संख्या घटेर अहिले १०० को हाराहारीमा रहेको विश्वकर्माले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १०:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया