प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–९ बाट उम्मेदवारी दिँदै मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आसन्न प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने भएका छन् । दल वा स्वतन्त्र कुनबाट चुनाव उठ्ने भन्नेबारे चाहिँ छलफल भइरहेको पाण्डेले बताए । 

उनी केही दिनभित्र आफूले उम्मेदवारी दिने निर्वाचन क्षेत्रको बारेमा औपचारिक जानकारी गराउने तयारीमा छन् । पाण्डेले आफ्नो उम्मेदवारीबारे पार्टीभित्र छलफल भइरहेको पनि बताए । उनले अघिल्लो निर्वाचनमा पनि क्षेत्र नम्बर ९ बाट भाग लिएका थिए । 

सो निर्वाचनमा पाण्डेले ४ हजार ९४६ मत प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा काठमाडौं–९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ २२ हजार ८ सय ५२ मतका साथ विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्यान गोविन्द रञ्जितले ८ हजार ५० मत ल्याएका थिए । यसपालि पनि विवेकशीलका पाण्डेसहित केही नेताहरूले काठमाडौंबाट चुनाव लड्न घोषणा गरिसकेका छन् ।

विवेकशीलमा रहेर काम गरिसकेका रञ्जु दर्शना काठमाडौं–५ र पुकार बमले काठमाडौं–१ बाट चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनीहरू दुवैले स्वतन्त्रबाट संसदीय चुनावमा उम्मेदवारी दिन लागेका हुन् । 

रञ्जुले यसअघि काठमाडौंको मेयरका लागि पनि प्रतिस्पर्धा गरिसकेकी छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । काठमाडौं–५ बाट जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।



यसपालि रञ्जु र मानुषीले उम्मेदवारी दिन लागेको क्षेत्रबाट अघिल्लोपटक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । उनी कांग्रेसका प्रकाशशरण महतलाई झण्डै १० हजार मतान्तरले हराउँदै विजयी भएका थिए । 

यो क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए  ।   
 



  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ९:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया