समाजिक सुरक्षा भत्ता वितरण गर्न अध्यक्ष बोहरा नागरिकको घर–घरमा

साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा अहिले स्थानीयका घर–घरमा पुगिरहेका छन् । निर्वाचित भए लगत्तै अध्यक्ष बोहराले मतदाताहरूलाई धन्यवाद दिनका साथै सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि घरदैलो थालेका हुन् । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागी अध्यक्ष बोहरा लाभग्राहीको घर–घरमा नै पुगीरहेका हुन् । 

विगतमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुले वडा कार्यालयमा नै पुग्नुपर्ने अवस्था रहेकोले ज्येष्ठ नागरिकसहित लाभग्राहीहरूलाई समस्या रहेको भन्दै अध्यक्ष बोहरा आफै सेवाग्राहीको घरमा पुग्न थालेका हुन् ।

जम्मा पाँच वडा रहेको साइपाल गाउँपालिका भौगोलिक रूपमा अति विकट भएका कारण स्थानीयहरूलाई समस्या हुने गरेको छ । गाउँपालिका भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ७० वर्ष माथिका वृद्धवृद्धाहरुलाई वडा कार्यालयसम्म पुग्न समस्या हुने गरेको हो । 

साइपाल गाउँपालिका वडा - १ धलौनकी स्थानीय राइमती बोहाराले भनिन् ‘यै पालका (यस पटकका) अध्यक्षले घरमा नै आएर भत्ता दिया । आजसम्म यसरी घरमा नै भत्ता दिन कोही पनि आएनन् । तर उहाँ घरमै आउनु भयो । यस पटक वडा कार्यालय सम्म जानु परेन ।’

गाउँपालिका अध्यक्ष बोहराले बिहीबार र शुक्रबार वडा नं. १ धलौन र वडा नं. २ जिमामा रहेका लाभग्राहीको घरघरमा पुगेर भत्ता वितरण गरेको साइपाल गाउँपालिकाका इन्जिनियर तिलक विसीले बताए । 

सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अध्यक्ष बोहराको योजना छ । ‘पालिकाका सवै वडामा नै गएर भत्ता वितरण गर्ने योजना रहेको छ । नागरिकले पाउने भत्ता लाभग्राहीको हातमा नै पुर्‍याउने योजना अनुसार म सबै लाभग्राहीको घर–घरमा पुगिरहेको छु’, अध्यक्ष बोहराले भने । 



सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा बैंकमा खाता खोलेर बैंक मार्फत रकम प्राप्त गर्ने र पालिकाले पनि बैंक मार्फत नै रकम भुक्तानी गर्नु पर्ने भए पनि हालसम्म साइपाल गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा सामाजिक सुरक्षा भत्ता नगदमा नै वितरण हुने गरेको छ । 



  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:५४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया