सिन्धुपाल्चोकमा बन्दै एउटै ढुङ्गामा विश्वकै ठूलो बुद्ध मूर्ति

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ भोटेनाम्लाङको उत्तर-पश्चिम क्षेत्रमा ठूलो ढुङ्गा छ । ढुङ्गामा गुरु पद्यसंभवको चित्र रहेको विश्वास गरिन्छ ।

पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण मानिएको उक्त ठूलो ढुङ्गामा ८४ फिटको बुद्धको मूर्ति बनाइँदै छ । गाउँपालिका अध्यक्ष टासी लामाले दाबी गरेअनुसार निर्माणाधीन बुद्धको यो मूर्ति एउटै ढुङ्गाबाट बनेको सबैभन्दा ठूलो मूर्ति हुनेछ । 

२०७८ मा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको साझेदारीमा एक करोड ४६ लाखको लागतमा ८४ फिटको बुद्धको मूर्ति कुद्ने गरी शिलान्यास गरिएको छ । उक्त ढुङ्गाको वरिपरि पार्क तथा ध्यान केन्द्रसमेत निर्माण गर्ने गरी गुरुयोजना निर्माण गरिएको छ । 

पार्क तथा ध्यान केन्द्रसमेत निर्माण गर्नका लागि करिब ८ करोड खर्च हुने आकलन रहेको अध्यक्ष लामाले बताए । तीन वर्षको अवधिमा उक्त मूर्ति निर्माण सम्पन्न गरिने लामाको भनाइ छ । 

बुद्धको मूर्तिको डिपिआर

‘यस ढुङ्गा यो क्षेत्रको ऐतिहासिक एवं पर्यटकीय स्थल हो । यसका साथसाथै यसै ढुङ्गा नजिक सानो झरना रहेको छ । जसले यसको सुन्दरता बढाएको छ । यस क्षेत्र बोम्जनहरुको उत्पत्ति भएको थलोको रुपमा चिनिन्छ । अन्य देशहरुमा पनि बुद्धका मूर्तिहरू छन् । तर, एउटै ढुङ्गाबाट बनेको यति ठूलो मूर्ति अन्य देशमा छैन । हामीले निर्माण गर्न लागको मूर्ति नै एउटै ढुङ्गाबाट बनेको मूर्ति हुने छ’ गाउँपालिका अध्यक्ष लामाले भने  । 



यस्तो छ ठूलो ढुङ्गाको इतिहास 

युङ्बाजुङ तामाङ भाषाबाट आएको शब्द हो । युङ्बाको अर्थ ढुङ्गा र जुङ भनेको समूह हो । त्यसैले युङ्बाजुङको शाब्दिक अर्थ ठूला ठूला ढुङ्गाहरुको समूह भन्ने हो । नेपाली भाषामा युङ्बाजुङको अर्थ ठूलो ढुङ्गा हो । युङ्बाजुङ एक प्रख्यात सुन्दर, शान्त र धार्मिकस्थल हो । 



ठूलो ढुङ्गाको छेउमै महादेव खोला बग्छ । यस स्थलमा तीन जना भगवानहरु छ्युइलामो, दम्ची र डोल्मो रहेका छन् । जसमा छ्युइलामो सेतीदेवी ठूलो दिदी, दम्ची काली माइली र डोल्मा कान्छी बहिनी हुन् । यसका साथै यस धार्मिकस्थलमा भगवान् महादेव पनि रहेको जनविश्वास रहेको छ ।

बुद्धको मूर्ति बन्दै गरेको ठूलो ढुङ्गाछेउको महादेव खोला

ठूलो ढुङ्गाको बारेमा जानकार स्थानीय विशाल तामाङले भनेअनुसार प्राचीन कालमा पाँच पोखरीको हाँस भएको ठूलो पोखरीबाट तीन दिदी-बहिनी भ्रमण गर्ने क्रममा डुब्खाङ र रैथानेश्वर हुँदै भोटेनाम्लाङको युङ्बाजुङमा आइपुगेको बेला युङ्बाजुङ प्राकृतिक रुपले सम्पन्न, सुन्दर र शान्त स्थान भएकाले त्यस ठाउँमा बसेका थिए । वास्तवमा युङ्बाजुङ भगवानका लागि मात्र नभएर मानवका लागि पनि एक लोकप्रिय ठाँउ हो । 

धेरै ढुङ्गामध्ये सडक बाटोको माथिको ठाडो र सडकको छेउको तेर्सो ढुङ्गा धेरै चर्चामा आएको छ । यी दुई ढुङ्गा पहिला एउटै रहेको जनविश्वास रहेको छ । स्थानीयबासीले धार्मिकस्थल वरिपरिका वातावरण प्रदूषित बनाएका र धार्मिकस्थलप्रति चासो कम धएकोले पूजापाठ कम भएको कारण तीन दिदी बहिनीमध्ये माइली र कान्छी अन्त जाने क्रममा उक्त ढुङ्गा बराबर दुई भागमा उछिट्टिएको स्थानीय धर्मावलम्बीको भनाइ छ । 

दुई ढुङ्गा बीचमा विभाजनपश्चात एउटा पोखरी बनेको छ । उक्त पोखरीको ठाडो ढुङ्गाको बीचमा भगवान गुरु रिम्पोर्छे (महादेव) र उनको दुई श्रीमती लाचिमेन्दो राव र खेण्डो हिसे छोरग्यालको मुर्ती बनाइएको छ र पोखरीको छेउमा पूजापाठ गर्नका लागि मन्दिर बनाइएका छन् । 

मूर्ति भएको ठूलो ढुङ्गाको पछाडि धेरै ढुङ्गाबाट बनेको प्राकृतिक गुफा रहेका छन् । जसमध्ये सडकदेखि माथि ४० मिटरमा रहेको ठूलो गुफा लोकप्रिय गुफा हो । यस गुफाभित्र पूजापाठ गर्नुका साथै गुफाको प्वालबाट प्रवेश गरेर गुफाको माथिल्लो भागमा जान सकिन्छ । 

गुफाभित्रबाट आकाश देखिने प्वाल

ॐ धर्मप्रति आस्था राख्ने भन्ने धार्मिक रहेको विश्वास छ । उक्त गुफाको माथिल्लो भागबाट प्राचीन समयमा भाटेनाम्लाङबासीलाई छेवार, न्वारन, विवाह र घेवामा आवश्यक पर्ने सामग्री दिने चलन थियो । साथै भक्तजनको हरेक मनोकामना पनि पूरा हुने विश्वास गरिन्थ्यो । 

ठूलो ढुङ्गाको दक्षिण दिशामा २० मिटर तल्लो भागमा इमा नदीको वरपर दुई ढुङ्गा र उक्त ढुङ्गाबीचमा ठूलो पोखरी रहेको छ । यो पोखरी देवी छुईलामो (सेतीदेवी) को नुहाउने पोखरी रहेको विश्वास गरिन्छ । पोखरीदेखि माथि र तर्सो ढुङ्गाको मूनि प्रवेशद्वार रहेको छ । विभिन्न ढुङ्गाहरुमा सर्प, बाघ आदि जीवजन्तुको छाप रहेको छ । उक्त जीवजन्तु भगवानको कामदार रहेको विश्वास गरिन्छ ।

ठूलो ढुङ्गा सिन्धुपाल्चोक जिल्लाकै एक प्रख्यात ढुङ्गा भएको प्राकृतिक, धार्मिकस्थल हो । यहाँ प्रत्येक वर्षको माघेसक्रान्तिका दिन झाँक्री नाच, लामा नाच र स्थानीय सांस्कृतिक नाच गान प्रदर्शन गरी पूजापाठ गर्ने चलन रहेको छ । यस मेलामा हजारौंको संख्यामा स्थानीय र बाह्य पर्यटक यस स्थलको अवलोकन गर्न र पूजापाठ गर्न आउने गर्दछन् ।

गुफाभित्र रहेको प्राकृतिक ढुंगाको सिंढी

  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार २०:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया