विश्वकप लिग–२ मा स्कटल्याण्डसँग नेपाल ८ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपाल गएराति घरेलु टोलीसँग आठ विकेटले पराजित भएको हो ।

योसँगै नेपालले सिरिजमा चारमध्ये एक खेलमा मात्र जित हात पार्न सक्यो । नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । स्कटल्याण्डले भने चारमध्ये तीनमा खेलमा जित हात पार्‍यो ।

चौथो खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कलुम म्याकलिओडले ६४ रनको अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेका उनले १० चौका र तीन छक्का प्रहार गरे ।

कायल कोएट्जरले अविजित ४४, क्रिस्टोफर म्याकब्राइडले १० र कप्तान रिची बेरिङ्गटनले अविजित चार रन बनाए । नेपालका लागि सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।

त्यसअघि ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३५.५ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रनको योगदान दिए । सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३ तथा  देव खनाल र रोहितकुमार पौडेलले १०/१० रन जोडे ।



स्कटल्याण्डका हेम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेनले दुई तथा क्रिस्टोफर म्याकब्राइडले एक विकेट हात पारे ।

यो सिरिजको अन्त्यसँगै २० खेलमा १७ अंक जोडेको नेपाल लिग–२ को छैटौं स्थानमा रहँदा २४ खेलमा ३४ अंकका साथ स्कटल्याण्ड दोस्रोमा छ ।



  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ६:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया